कक्षा तीन, विद्यार्थी दुई !

डम्मर बुढा मगर, बागलुङ
बसाइँसराइले गाउँ सुनसान छ । टोल छिमेकमा बालबालिका कम छन् । गाउँका हुने खानेले आफ्ना छोराछोरी निजी विद्यालयमा पठाउँछन् । गाउँमा भएको विद्यालय कक्षा तीनसम्म संचालनमा छ । तर विद्यार्थी भने दुई जना मात्रै छन् । सुन्दा पनि अचम्म लाग्छ, तीन कक्षा विद्यार्थीयमा दुई भन्दा । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुस स्थित तारा ज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको संख्या ह्वात्तै घटेको छ । गाउँले सुविधाको खाजीमा तराई झरेपछि विद्यालयमा विद्यार्थीको खडेरी पर्दै गएको हो ।

गाउँका बालबालिकाको सहजताका लागि वि.सं. २०४६ सालमा स्थापना भएको तारा ज्योति प्राथमिक विद्यालय अहिले सुनसान बनेको छ । भौतिक संरचनाका हिसाबले मजबुत रहेको विद्यालय विद्यार्थी संख्या घटेपछि कमजोर बनेको छ । ०४६ मा स्थापना भएर वि.सं. २०४७ सालमा अनुमति पाएको विद्यालयमा वि.सं. २०७८ सालसम्म ११ जना विद्यार्थी थिए ।

वि.सं. २०७९ सालमा त्यो संख्या १० जनामा झ¥यो । वि.सं. २०८० मा तीन जना हुँदै यस शैक्षिक सत्रमा दुई जनामा सीमित भएको छ । हाल दुई जना छात्र मात्र अध्ययनरत छन् । उनीहरु मध्ये एक जनाले कक्षा एक र एक जनाले कक्षा तीनमा अध्ययन गर्छन् । कक्षा दुईमा भने विद्यार्थीनै छैनन् ।

विद्यालयमा एक जना स्थायी दरबन्दीको शिक्षक, एक जना अस्थायी र एक जना कार्यालय सहयोगी कार्यरत छन् । वर्षेनी विद्यार्थीको संख्या न्यून हुँदै गएपछि विद्यालयको अस्तित्वनै धरापमा पर्दै गएको छ । ३५ वर्ष अगाडि स्थापित विद्यालयमा दशक अगाडि विद्यार्थीको चाप हुँदा भुइँमै बसेर पढ्नु पर्ने बाध्यता थियो ।

तर अहिले भौतिक रुपमा सम्पन्न हुँदा विद्यार्थीको संख्या निकै कम भएका छन् । धुस गाउँ भौगोलिक हिसाबले अलि विकटमा हुँदा धेरैले आफ्ना बालबालिका सुविधायुक्त विद्यालयमा पठाउँदा विद्यार्थी कम भएको विद्यालयका प्रधानाध्यापक गोविन्द अधिकारी बताउनुहुन्छ ।

गाउँभन्दा नजिकै गुल्मीको पुर्तिघाटमा निजी विद्यालय रहेको हुँदा गाडीले घर नजिकै ल्याउन आउँदा धेरै विद्यार्थी त्यता जान नालेको अधिकारीको भनाइ छ । विद्यार्थी कम हुँदा शिक्षण सिकाई क्रियाकलाप प्रभावकारी बन्न नसकेको उहाँले बताउनुभयो । विद्यार्थी कम हुँदा आफूहरुमा नैराश्य छाएको प्रधानाध्यापक अधिकारीले सुनाउनुभयो । पछिल्लो समय गाउँमा बालबालिका पनि कम हुने र भएका पनि सहर बजार जाने प्रचलन बढेको उहाँ बताउनुहुन्छ ।

प्रधानाध्यापक अधिकारीले भन्नुभयो – “पहिले यो विद्यालयमा विद्यार्थीको चाप हुन्थ्यो, अहिले यसरी घट्दै गएपछि हामीहरुलाई निकै चिन्तित बनाएको छ, गाउँलेले निकै मेहनत गरेर स्थापना गरेको विद्यालय अहिले रित्तिना थालेपछि धेरैमा नैराश्यता छाएको छ, गाउँका सबैले आफ्ना नानीबाबुलाई यही स्कूलमा पढाउँथे भने समस्या विद्यार्थीको समस्या हुने थिएन, हामी त जागिर खानका लागि यहाँ आइयो विद्यार्थी धेरै नहुँदा सिक्न र सिकाउन पाइएको छैन, दिन बिताउन साह्रै गाह्रो हुन्छ, पहिलेको जस्तो भुइँमा बसेर पढ्नु पर्ने अवस्था छैन, धेरै सुविधा थपिएको छ ।”

खास गरि यस गाउँका स्थानीयहरु बसाइँसराइ गरि चितवन, रुपन्देही गएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले विद्यालयको भौतिक संरचनादेखि अन्य व्यवस्थापन गरेको त।र धेरै विद्यालयमा विद्यार्थी संख्या कम हुँदै गएको बताउनुभयो । नगरपालिकाले कम विद्यार्थी भएको विद्यालयलाई समायोजन गर्ने उहाँको भनाइ छ । नगरपालिकाले नगर शिक्षा ऐन बनाएको र त्यस अन्तरगत रहेर दरबन्दी मिलान र विद्यालय समायोजन सम्बन्धि कार्यविधी बनाएर काम अगाडि बढेको उहाँ बताउनुहुन्छ । विद्यालय समायोजनपछि नगरपालिकाले संचालन गरेको लिड विद्यालयमा टाढाका विद्यार्थीलाई आवासीय सुविधा दिने शर्माको भनाइ छ ।

“जैमिनीको धेरै गाउँबाट बसाइँसराइ गरि तराई जानेको संख्या ठूलो छ, त्यसले गर्दा धेरै विद्यालयमा विद्यार्थी संख्या घटेको छ, जनसंख्या पनि कम छ, अहिले त पहिलेको जस्तो धेरै बच्चा जन्माउने प्रचलन पनि छैन” उपप्रमुख शर्माले भन्नुभयो – “विद्यालय समायोजन गरि सकेपछि टाढा पर्ने विद्यार्थीलाई हामीहरुले लिड विद्यालय संचालन गरेका छौँ, त्यहाँ आवासीय सुविधा लिएर विद्यार्थीलाई राख्छौँ र उनीहरुका अभिभावलाई पनि रोजगार दिने व्यवस्था पनि मिलाउँदै छौँ ।”

जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले यस विद्यालयलाई छिट्टै समायोजन गर्ने बताउनुभयो । अहिले नगरपालिकाले कुन विद्यालय समायोजन गर्ने, कुन तह मिलान गर्ने भन्ने विषयमा अध्ययन गरि सकेको उहाँको भनाइ छ । कुनै पनि बालबालिकालाई विद्यालयको पहुँचबाट टाढा नहुने गरि काम भइरहेको आचार्य बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *