डम्मर बुढा मगर, बागलुङ
काठका फल्याकले छाइएका छाना । ढुङ्गा र माटोले बनाइएको पर्खाल । देख्दा निकै आकर्षक देखिने घरहरु । वरपर कपडाका झण्डा फरफराइरहेका छन् । यहाँ पुग्ने जोकोहीलाई एक पटक यी बस्तीमा पुग्नै मन लाग्छ । ति हुन्, ढोरपाटन नगरपालिका–६ को छेन्तुङ र वडा नम्बर ९ को स्यालपाखेमा रहेका तीब्बतीयन शरणार्थी बस्ने बस्ती ।
दशकौँ अगाडि तिब्बतबाट आएका शरणार्थी अहिले पनि ढोरपाटनमा बसोबास गर्दै आएका छन् । तर पहिलेको जस्तो चाम भने छैन । एक दशक अगाडिसम्म स्यालपाखे र छेन्तुङमा शरणार्थीहरुको निकै चहलपहल थियो । तर पछिल्लो समय बस्ती सुनसान बन्न थालेको छ । शरणार्थीले ढोरपाटन छोड्दै गएपछि ठूला–ठूला घर भवन पनि जीर्ण बन्दै गएका छन् ।
कयौँ समस्यासँग जुध्दै आएका शरणार्थी अवसरको खोजीमा सहर बजार पस्न थालेपछि केही वर्ष यता ढोरपाटनमा उनीहरुको संख्या कम हुँदै गएको छ । खेतीपाती र पशुपालनबाटै जीविकोपार्जन गर्दै आएका शरणार्थी अहिले व्यापार व्यवसायसँगै रोजगारको सिलसिलामा काठमाडौँ, पोखरा र विदेशसमेत छिर्न थालेका छन् । ढोरपाटन पर्यटकीय हिसाबले ठूलो संभावना बोके पनि अहिलेसम्म आधारभूत विकाससमेत पुग्न सकेको छैन । त्यसले गर्दा शरणार्थी ढोरपाटनबाट बाहिरिन थालेका हुन् । ढोरपाटनको दुई स्थानमा ठूलो बस्तीनै रहे पनि अहिले ति बस्तीमा निकै कम मात्रै शरणार्थीको बस्ने गरेका छन् । युवा शक्ति सहर पसेपछि गाउँमा बुढापाका मात्रै छन् ।
जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार पछिल्लो तीन वर्षमा शरणार्थी परिचय पत्र नविकरण गर्नेको संख्या पनि कम छ । आर्थिक वर्ष २०७८÷०७९ मा ५६ जना, २०७९÷०८० मा ५३ जना र गत आर्थिकमा ५० जनाले परिचय पत्र नविकरण गरेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनु भयो । हरेक वर्ष चैत मसान्तमा शरणार्थीको परिचय पत्र नविकरण हुने गर्छ । कोहीले वर्षैपिच्छे परिचय पत्र नविकरण गरे पनि कोहीले दुई वर्षमा एक पटकसमेत गर्ने गरेको बराललको भनाइ छ ।
स्वएं व्यक्ति नआएसम परिचय पत्रको नविकरण नहुने हुँदा दुई वर्षमा एक पटक गर्ने बढी रहेको सहायक प्रजिअ बराल बताउनुहुन्छ । वि.सं. २०५२ सालपछि नयाँ पुस्ताले परिचय पत्र नपाएको उहाँले बताउनुभयो । पछिल्लो समय शरणार्थीहरु विदेश जान थालेपछि उनीहरुको संख्या घटेको बरालले बताउनुभयो । हिजोआज शरणार्थी महिलाले नेपालीसँग विवाह गर्दा नेपाली नागरिकता पाउने हुँदा परिचय पत्र नविकरण गर्नेको संख्या कम हुँदै गएको उहाँ बताउनुहुन्छ ।
सहायक प्रजिअ बरालले भन्नुभयो – “वर्षेनी शरणार्थी परिचय पत्र बनाउनेको संख्या घट्दै गएको छ, पहिले अलि बढीनै थियो, अहिले धेरै जसो बाहिर जान थाले छन्, त्यसले गर्दा नविकरण गर्ने कम छन्, २९ वर्षेदेखि नयाँ परिचय पत्र वितरण भएको छैन, कोहीले परिचय पत्र नपाउँदा केही काम गर्न पाइएन, विदेश जान पाइएन भन्ने लगायत गुनासो गर्छन्, एक दशक अगाडि नविकरण गर्नेको संख्या बढी थियो, अहिले धेरै घटेको छ ।”
नोर्जेलिङ तिब्बतीयन क्याप ढोरपाटनकी सचिव छिरिङ भुटीले धेरै जसो शरणार्थी पोखरा र काठमाडौँ सरेको बताउनुभयो । ४० वर्षीया भुदीले १०÷१२ वर्ष अगाडिसम्म बस्तीमा धेरै बस्ने गरेको सुनाउँदै अहिले बुढापाका मात्रै रहेको सुनाउनुभयो । ढोरपाटनमा पहिला करिब डेढ सय घर परिवार रहेकोमा अहिले २० घरका करिब ४० जना मात्रै बसोबास गर्ने उहाँको भनाइ छ । ढोरपाटनमा खेतीपाती गरेर जीवनयापन गर्ने गरेको भुटीले बताउनुभयो ।
आफू ढोरपाटनमै जन्मिएको बताउने भुदीले आफ्ना बुबा र हजुरबुबा वि.सं. २०१८ सालमा ढोरपाटनमा आएको बताउनुभयो । परिचय पत्रले एउटा सिम कार्ड निकाल्न पनि नपाइने गुनासो गर्दै नेपाली नागरिकको नामबाट निकालेर चलाउने गरेको दुखेसो पोख्नुभयो । बैंकमा कारोबारदेखि अन्य सरकारी काम गर्नसमेत परिचय पत्रले नहुने उहाँको भनाइ छ । सरकारले बैंक खाता संचालनका लागि सहयोग गरि दिए शरणार्थीहरुका लागि सहज हुने भुदी बताउनुहुन्छ ।
“बच्चाहरु स्कूल पढ्छन, ठूलो भएर विदेश जान खोजे भने पनि पाइँदैन, केही व्यवसाय गरौँ भने, बैंकमा खाता खोलौँ भने पनि मिल्दैन, परिचय पत्रले काम नहुँदो रैछ, कसैले टाढाबाट पैसा पठाउन खोज्यो खाता नम्बर सोध्छ, छिमेकी नेपालीको खाता नम्बर दिनु पर्छ, हामीहरु अरुमा आश्रित हुनु परेको छ,” उहाँले भन्नुभयो – “आफ्नो नागरिकता हुँदैन, परिचय पत्रले त एउटा सामान्य सिम कार्ड निकाल्न पनि पाँइदै, हामीहरु जसोतसो दुःख पाएर बस्ने गरेका छौँ, धेरै जसो सहर पसेपछि बस्ती पनि खाली हुँदै गए, अहिले एक घरमा दुई जनाभन्दा बढी मान्छ बस्दैनन् ।”