डम्मर बुढा मगर, बागलुङ
वि.सं. २०७३ साल अगाडिसम्म बागलुङका दूरा दराजका नागरिकलाई सामान्य उपचार गर्नका लागि दिनै भरी लगाएर स्वास्थ्य चौकी पुग्नु पर्ने बाध्यता थियो । तर अहिले त्यो बाध्यताको अन्त्य भएको छ । स्थानीय तह स्थापनापछि गाउँ तथा नगरपालिकाले विकट बस्तीसम्म स्वास्थ्य संस्था खोलेर सेवा दिन थालेका छन् ।
जिल्लाका १० वटै स्थानीय तहले विकट बस्तीसम्म सामुदायिक स्वास्थ्य इकाई, आधारभूत स्वास्थ्य केन्द्र तथा सहरी स्वास्थ्य केन्द्र स्थापना गरि सेवा प्रवाह गर्न थालेपछि स्थानीयलाई ठूलो राहत मिलेको छ ।
गाउँमा स्थापना भएका स्वास्थ्य संस्थाले सामान्य उपचार र औषधी पाउन दिनै भरि लगाउनु पर्ने बाध्यताको अन्त्य गर्नुका साथै नागरिकलाई सचेत समेत बनाउन थालेका छन् । जिल्लामा सबैभन्दा दुर्गम मानिने निसीखोला, ढोरपाटन, तमानखोला लगायतका ठाउँमा अहिले स्वास्थ्यमा राम्रो प्रगति भएको पाइन्छ ।
नागरिकलाई स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धिका लागि सयौँ स्वास्थ्य स्वयंसेविकाहरु समेत खटाइएको छ । जसले नागरिलाई बिरामी परे अस्पताल जानु पर्छ भन्ने चेतना विकास भएको छ । तीनै तहका सरकारको लगानीमा अहिले गाउँ–गाउँमा सुविधा सम्पन्न स्वास्थ्य संस्थाहरु संचालनमा आइरहेका छन् ।
आठ वर्ष अगाडि बागलुङ जिल्ला भर एउटा सरकारी अस्पताल, तीन वटा प्रथामिक स्वास्थ्य केन्द्र, ५८ वटा स्वास्थ्य चौकी, नौ वटा सामुदायिक स्वास्थ्य इकाई र चार वटा सहरी स्वास्थ्य केन्द्र गरि ७५ वटा मात्रै स्वास्थ्य संस्था थिए । तर अहिले त्यसको संख्या बढेको छ ।
स्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी घनश्याम सापकोटाका अनुसार एउटा प्रादेशिक अस्पताल, तीन वटा नगर तथा आधारभूत अस्पताल, दुई वटा प्राथमिक स्वास्थ्य केन्द्र, ५६ वटा स्वास्थ्य चौकी, २३ वटा आधारभूत स्वास्थ्य केन्द्र, २० वटा सामुदायिक स्वास्थ्य इकाई, १७ वटा सहरी स्वास्थ्य केन्द्र संचालनमा छन् ।
पहिले प्राथमिक स्वास्थ्य केन्द्र रहेको हरिचौर प्राथमिक स्वास्थ्य केन्द्र अहिले गलकोट नगर अस्पतालमा स्तरोन्नती भएको उहाँले जानकारी दिनुभयो । पैयुँपाटा स्वास्थ्य चौकी बागलुङ नगर अस्पताल र बोङ्गादोभान स्वास्थ्य चौकी तमानखोला आधारभूत अस्पतालमा स्तरोन्नती भएको उहाँको भनाइ छ । सापकोटाका अनुसार धौलागिरी आयुर्वेद औषधालयसहित तीन वटा नागरिक आरोग्य केन्द्र, पाँच वटा स्थानीय तहमा साधारण आयुर्वेद औषधालय संचालनमा रहेका छन् ।
जिल्लामा २०२ खोप क्लिनिक, २१२ खोप सेसन, १५८ गाउँघर क्लिनिक, ७१ वटा वर्थिङ सेन्टर, ३६ वटा प्रयोगशाला रहेको उहाँको भनाइ छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका जिल्लाभर ९५० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका रहेको उहाँले बताउनुभयो ।
धौलागिरी अस्पताल बागलुङ र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रियामार्फत गर्भवती गराउने सुविधासमेत रहेको छ । धौलागिरी क्षेत्रमै सबैभन्दा ठूलो मानिने धौलागिरी अस्पताल सुविधा सम्पन्न बन्दै गएपछि बागलुङसहित म्याग्दी, पर्वत र मुस्ताङका बिरामीले सुविधा लिदै आएका छन् ।
बडिगाड गाउँपालिकामा पनि आधारभूत अस्पताल निर्माण सम्पन्न भइसकेको र केही समयमै संचालनमा ल्याउने गाउँपालिकाले जनाएको छ । निसीखोला गाउँपालिकामा भने बजेट अवभाका कारण आधारभूत अस्पताल सम्पन्न हुन सकेको छैन ।
ढोरपाटन नगरपालिकाको ढोरपाटन उपत्यकामा बन्दै गरेको नगर अस्पताल पनि बजेटकै कारण रोकिएको नगरपालिकाले जनाएको छ । ताराखोला गाउँपालिकामा भने कामनै सुरु भएको छैन । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले दुई वर्षदेखि आधारभूत अस्पताल संचालन गरेको बताउनुभयो ।
गत वर्षदेखि एक जना डाक्टर राखेर सेवा प्रवाह गरि रहेको उहाँको भनाइ छ । गाउँपालिकामा हाल एउटा आधारभूत अस्पतालसहित दुई वटा स्वास्थ्य चौकी, तीन वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, एउटा सामुदायिक स्वास्थ्य इकाई र तीन वटा स्वास्थ्य परामर्श केन्द्र संचालनमा ल्याएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “स्थानीय तह गठन हुनु पूर्व तमानखोलामा तीन वटा स्वास्थ्य चौकी थिए, यहाँका नागरिक लागि ति स्वास्थ्य संस्था पर्याप्त थिएनन्, हामीहरु निर्वाचित भएर आएदेखि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम ग¥यौँ, अहिले अस्पताल संचालन गर्नेदेखि दूरका बस्ती बस्तीमा स्वास्थ्य संस्था स्थापना गरेर नागरिकलाई सेवा दिइ रहेका छौँ, सुविधा सम्पन्न अस्पतालमा बिरामीलाई पु¥याउनका लागि एम्बुलेन्स सेवा पनि दिएँका छौँ, अझै स्वास्थ्य क्षेत्रको सुधारमा लागि रहेका छौँ ।”
गत वर्षसम्म निसीखोला गाउँपालिका–५ निसेलढोरमा कोही बिरामी प¥यो भने एक दिन लगाएर बुर्तिबाङ ल्याउनु पर्ने बाध्यता थियो । गत वर्ष गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा दिन थालेपछि सामान्य उपचारका लागि बुर्तिबाङ झर्नु पर्ने बाध्यता हटेको स्थानीय सम्झाना विकले बताउनुभयो ।
पहिले बिरामी हुँदा घरेलु ओख तीमुलो गर्दै भन्दै अहिले स्वास्थ्य संस्थामा गएर सामान्य उपचार गरि औषधीसमेत पाउने गरेको उहाँको भनाइ छ । गाउँमा स्वास्थ्य संस्था नहुँदा बिरामीले अकालमा ज्यान गुमाउनु परेको विकले सुनाउनुभयो ।
“हामीहरु यहाँ बस्न थालेको धेरै वर्ष भयो, गाउँमा मान्छे बिरामी परे भने धामी झाँक्री गर्ने चलन छ, अहिले गाउँमा औषधी पाइन थालेपछि धामी झाँक्री गर्ने र औषधी पनि लिएर खाने गर्छौँ” विकले भन्नुभयो – “यहाँ पनि अलि ठूलो रोग लाग्यो भने उपचार हुँदो रैनछ, सहर बजारको अस्पतालमा जानु पर्ने रैछ, पहिले अस्पताल लैजाँदै गर्दा कतिले त बाटोमै ज्यान गुमाए, अहिले गाउँमा स्वास्थ्य संस्थामा गयो भने यहाँ उपचार हुन नसके बुर्तिबाङ, पोखरा, काठमाडौँ जानु भनेर सुझाव दिनुहुन्छ ।”