डम्मर बुढा मगर, बागलुङ
शुक्रबार दिउसो कास्कीको लुम्लेमा ठूलो च्याङ्ग्राको बथानसँगै यात्रा गर्दै हुनुहुन्थ्यो छिरिङ छोर्वे लामा । हँसिलो मुहार । पसिनाले निथ्रुक्क भिजेको कपडा । थकानले गलेको शरीर । रुखका फेँदमा थकान मादै यात्रा गरि रहनु भएका लामाको साथमा साढे दुई सयको हाराहारीमा च्याङ्ग्रा थिए । साथमा दुई जना साथी पनि । आठ दिन अगाडि माथिल्लो मुस्ताङबाट च्याङ्ग्रा लिएर आउनु भएका लामा आइतबार विहान मात्रै पोखरा पुग्ने योजनामा हुनुहुन्छ । दुई महिना अगाडि च्याङ्ग्रा खरिद गरि विक्रीका लागि घरबाट निस्किनु भएका लामा मुगुको राराबाट आउनु भएको हो ।
राराबाट मुस्ताङ आउन लामालाई त्यति सहज थिएन । मुगु–नेपालगञ्ज जहाज र नेपालगञ्जदेखि पोखरा हुँदै गाडीको यात्रामा मुस्ताङ पुग्नु भएको थियो । दशकदेखि दसैँमा च्याङ्ग्रा विक्री गर्दै आउनु भएका छिरिङ मुस्ताङदेखि पोखरासम्मको घुम्ती–घुम्ती र चोक–चोकका बारेमा जानकार हुनुहुन्छ । मुस्ताङ र म्याग्दीका अग्ला भिर पहार र हिमाल छिचोल्दै लुम्मेसम्म पुग्दा उहाँले १८ वटा मात्रै च्याङ्ग्रा विक्री गर्नु भएको थियो । लामाभन्दा अगाडि सयौँ गोठालाले हजारौँको संख्यामा च्याङ्ग्रा पोखरा पु¥याई सकेका थिए । अघिल्लो वर्षको तुलनामा मूल्य कम हुँदा च्याङ्ग्राको माग बढेको छ । २२ गतेसम्म सबै विक्री गरेर गाउँ फर्कने योजना बनाउनु भएका छिरिङको अनुहारमा खुसी छाएको थियो ।
आफूभन्दा अगाडि धेरैले च्याङ्ग्रा पोखरा पु¥याएको हुँदा समयमै विक्री हुँदैन कि भन्ने चिन्ता कता कता थियो । दसैका बेला लाखौँको च्याङ्ग्रा विक्री हुने हुँदा वर्ष दिन हातमुख जोड्न र छोराछोरी पढाउन सहज भएको लामाले बताउनुभयो । मुगुको रारा तालदेखि कास्कीको फेवा तालसम्म च्याङ्ग्रा व्यवसायमा वर्षौँ बिताउनु भएका लामाले अनेकौँ चुनौतीका चाङ पार गर्दै आएको बताउनुहुन्छ । मुस्ताङको नाङ्गा पहाडदेखि डोल्पासम्म पुगेर च्याङ्ग्रा ल्याउने गरेको उहाँको भनाइ छ । देशमा अरु रोजगार नहुँदा च्याङ्ग्रा व्यवसाय गर्नु परेको सुनाउँदै हात खुट्टा चल्दासम्म मुगु, मुस्ताङ र पोखराको यात्रा नटुट्ने लामा बताउनुहुन्छ ।
“दसैँको बेला पोखरामा बस्ने दाजुभाईहरुले च्याङ्ग्राको मासु धेरै रुचाउनुहुन्छ, यो बेला च्याङ्ग्रा लिएर उहाँहरुलाई मासु खुवान पाउँदा हामीहरुलाई पनि खुसी लाग्छ, च्याङ्ग्राको विक्री भएपछि बालबच्चाहरुलाई एक जोर जुत्ता, कपडा आउँछ, छोराछोरी पठाउनु प¥यो, अरु के गर्ने ?” लामाले भन्नुभयो – “राराबाट पोखरा आउन सजिलो छैन, म पोखरा, मुस्ताङ र रारा ओहोरदोहोर गर्न लागेको धेरै वर्ष भयो, दुःख छ भनेर काम नगरे के खाने ?, केही न केही काम त गर्नु प¥यो, घाम, पानी हावाहुरी केही नभनी हिँडेका छौँ, केही दिनमा विक्री भएर सकियो भने बल्ल गाउँ फर्कने ।”
दूरीका हिसाबले रारा, मुस्ताङ र पोखरा निकै टाढा भए पनि लामालाई त्यसले कुनै बाधा पु¥याएको छैन । वर्षमा एक पटक रारादेखि मुस्ताङ र पोखरा आउने उहाँले कयौँ पटक भोकै सुत्नु परेको छ भने कयौँ रात अनिन्द्रो बस्नु परेको छ । च्याङ्ग्रा गोठमै पुगेर लाखौँ रकममा खरिद गरि बजारमा विक्री गर्दा थारै मात्रामा नाफा लिने गरेको उहाँको भनाइ छ । अघिल्लो वर्ष मूल्य अचाक्ली बढ्दा बजारमा माग कम आएको हुँदा यस वर्ष करिब १० देखि १२ हजार रुपैयाँले घटाएको लामा बताउनुहुन्छ ।
लामाको व्यवसायिक साझेदार हुनुहुन्छ मुस्ताङका कर्मा लामा । यस वर्ष हिमालबाट ढिला झर्दा सोचे अनुसारको विक्री नभएको कर्माले बताउनुभयो । लाखौँ लगानी गरेर ल्याएको च्याङ्ग्रा बाटोमा चितुवाले खाई दिने र गर्मीले मर्ने हुँदा घाटासमेत व्यहोर्नु परेको उहाँको भनाइ छ । यस वर्ष च्याङ्ग्राको अधिकतम मूल्य ४० देखि ४५ हजार हरेको कर्माले जानकारी दिनुभयो । आफूहरुले बथानमा रहेका रोज्जा (रोजेको) च्याङ्ग्रालाई रु ४२ हजारमा दिने गरेको उहाँ बताउनुहुन्छ ।
कर्मा भन्नुहुन्छ – “देख्दा सुन्दा यसको मूल्य बढी भयो भन्ने लाग्न सक्छ तर तुलनात्मक रुपमा पोखरासम्म ल्याउँदा त्यस्तो महङ्गो होइन, पोहोर सालको दसैँमा ४८÷५० हजार भन्थे अहिले ३८÷४० हजारमा पाउनुहुन्छ, गाउँमा भन्दा सहर बजारमा च्याङ्ग्राको माग बढी हुने हुँदा हामीहरुले हिमालमै पुगेर ल्याउने गरेका छौँ, ग्राहक जति खुसी हुनुहुन्छ, हामीहरुलाई त्यतिनै सन्तुष्टि मिल्छ ।”