पहिरो पीडितलाई दसैँ न तिहार

डम्मर बुढा मगर, बागलुङ
दसैँ नजिकिएसँगै गाउँमा चहलपहल बढ्दै गएको छ । छिमेकीले घर लिपपोत गरेर श्रृङ्गारेका छन् । परदेशीएका र सहर पसेका पनि चाडबाड मान्न गाउँ फर्किरहेका छन् । दसैँको माहोलले गाउँ घरमा रौनक छाएको छ । तर बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटाका पहिरो पीडितलाई उक्त रौनकले छुन सकेको छैनन् ।

पहिरोले घरबार र आफन्तविहीन भनेका धेरैको आँखा अझै ओभाउन सकेका छैनन् । त्रिपालको छाप्रो र आफन्त कहाँ आश्रय लिएका दर्जनौँ परिवारलाई दसैँको भन्दा पहिरोमा गुमाएका आफन्तको चिन्ताले पिरोली रहेको छ । गत साउन २२ गते आरुपाटामा आएको पहिरोले स्थानीय बालीश्वर बुढा मगरको दुई वटा घर पुरेको थियो ।

पहिरोले घर पुरिदा नौ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ११ जना गम्भीर भएका थिए । आरुपाटाको ठाउँठाउँमा पहिरोले ७३ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारका सयौँ नागरिक अहिले कष्टपूर्ण दिन कटाउन बाध्य छन् । युवाहरुभन्दा बालबालिका र वृद्धवृद्धालाई निकै समस्या परेको छ ।

बालीश्वको घर पुरिदा उहाँको ७५ वर्षीय बुबा जोगबहादुर बुढा, जुम्ल्याहा छोरीहरु सात वर्षीया मधु र मालती बुढा मगरको मृत्यु भएको थियो । उहाँ अहिले लेलमेला भन्ने ठाउँमा त्रिपाल टाँगेर ७५ वर्षीया आमासहित छ जनाको परिवार बस्दै आउनु भएको छ । वृद्धा आमा र साना छोरासहित त्रिपाल मुनीको बास अत्यास लाग्दो छ ।

बेला–बेला पानी पर्दा पनि उहाँहरुलाई झस्काई रहन्छ । दुई महिनादेखि त्रिपाल मुनी बस्दा बुढा आमा र साना छोराहरु बिरामी हुने गरेको बालीश्वरले बताउनुभयो । दसैँ नजिकिदा गाउँ रमाइलो भए पनि आफूहरुका पीडा थपिएको उहाँ बताउनुहुन्छ ।

कलकलाउँदो उमेरका दुई छोरी र बुढेसकाल लागेका बुबा गुमाउँदा निकै पीडा भएको बालीश्वरको भनाइ छ । स्थानीय सरकार र विभिन्न संघ संस्थाले सहयोग गर्दा खानाको समस्या नभएको भन्दै घर पुनःनिर्माण गर्न सक्ने स्थिती नभएको उहाँले बताउनुभयो ।

“दसैँ आयो, सबै तिर खुसीयाली छ, हाम्रो लागि त यो दसैँ दशा भयो, बस्ने घरनै छैन, पहिरोले आफन्त पनि खोसेर लग्यो, बासको ठेगान नभएकालाई के को दसैँ ?, के को तिहार ?, यस्तो बेला चाडबाड आउँदा पिर पर्दो रैछ,” बुढा मगरले भन्नुभयो – “मलाई त त्यही छोरीहरुको र बुबाको याद आई रहन्छ, उहाँहरु पहिरोमा नपरेको भए हाम्रो पनि चाडबाड रमाइलोनै हुने थियो, अहिले त साना छोराहरु छन् उनीहरुलाई खुसी बनाउन पनि सकिएको छैन ।”

पहिरोका कारण स्थानीय मंगलसिंह बुढा मगर पनि विस्तापित हुनु भएको छ । बालीश्वरको घर पुरिँदा मंगलसिंहका ९ र १२ वर्षीय दुई छोराको मृत्यु भएको थियो भने उहाँ पनि गम्भीर घाइते हुनु भएको थियो । लामो समय अस्पतालमा उपचार गराएर केही दिन अगाडि मात्रै गाउँ आउनु भएका मंगलसिंहको दुई वटै खुट्टा चल्दैनन् ।

उहाँको साथमा ८ र ११ वर्षीया छोरीहरु मात्रै रहेका छन् । लामो समय अरुको घरमा बस्दा समस्या हुने भन्दै आफ्नो घर बनाउन सक्ने क्षमता नभएको मंगलसिंहले सुनाउनुभयो । चाडबाडका बेला छोरीहरुले राम्रो लाउन र मिठो मसिनो खान खेज्दा खुवाउन सक्ने स्थिती नरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – “यो साल त मलाई ठूलो दशा लागेको रैछ, छोराहरुलाई पहिरोले लग्यो, घरमा बस्न सक्ने अवस्था छैन, भाइले बस्न दिएको छ, उसकोमा कति दिन बसेर पुग्छ ?, गाउँलेले कोदो, मकै खाएर पेट भोको छैन, तर दसैँको बेला यि साना छोरीलाई के थाहा हुन्छ र हामीसँग आर्थिक छैन भन्ने, जसोतसो एउटा बस्ने घर बनाउन सके हुन्थ्यो, अहिले त धेरैले लत्ता कपडा र अरु मासान सहयोग गर्नु भएको छ, सरकारले घर बनाई दिए हुन्थ्यो ।”

बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनले पहिरो पीडितका लागि पालिकाले अति आवश्यक सामग्री सहयोग गरेको बताउनुभयो । अहिले धेरै पीडित आफन्तकोमा आश्रय लिएको हुँदा खानेकुरा र लत्ता कपडाको समस्या नभएको उहाँको भनाइ छ ।

गाउँपालिकाले विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थासँग सहकार्य गरेर तत्कालका लागि सुरक्षित स्थानमा राख्ने र आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने कार्यलाई जोड दिएको उपाध्यक्ष वन बताउनुहुन्छ ।

“कुनै पनि पहिरो पीडित भोकै बस्न नपरो, नाङ्गो हुन नपोस भन्ने हिसाबले हामीहरुले खाद्यान्न र लत्ता कपाडा उपलब्ध गराएका छौँ, धेरै संघ संस्थाले पनि सहयोग गर्नु भएको छ,” उहाँले भन्नुभयो – “अहिले उहाँहरुलाई खानाको समस्या छैन, पुनस्र्थापनाका लागि गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग सहयोग मागिरहेका छौँ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *