डम्मर बुढा मगर, बागलुङ
बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौर स्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको संख्या बढ्दै गएको हो । वि.सं. १९७९ मा निर्माण भएको दरबारको जीर्णोद्वार गरेपछि चिटिक्क परेको छ । टेउवाको मूर्तिकला र गाईघाट झरना बीचमा रहेको दरबार पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । दरबार परिसरमा तस्बीर खिच्ने, टिकटक बनाउने र मनोरञ्जन लिनेको भिड देखिन्छ ।
१०२ वर्ष पहिले निर्माण भएको दरबारलाई करिब ५० लाख खर्च गरेर जीर्णोद्वार गरेको गलकोट नगरपालिका–५ का अध्यक्ष पवन हमालले बताउनुभयो । दरबारको बारदली, झ्याल, ढोका, चौकोस, छानो लगायतका भाग जीर्ण बनेपछि अघिल्लो वर्ष भदौदेखि जीर्णोद्वार सुरु गरेको उहाँको भनाइ छ । यही महिना जीर्णोद्वारको काम सम्पन्न भएको भन्दै परानै शैलीमा मर्मत गरिएको अध्यक्ष हमाल बताउनुहुन्छ । दरबार वरपर बगैचा, पिङ लगायत मनोरञ्जन गर्ने पार्कहरु निर्माण गरि रहेको उहाँको भनाइ छ ।
हमालका अनुसार दैनिक डेढ सय बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । बिदाको दिन झण्डै पाँच सयको हाराहारीमा पर्यटक आउने गरेको उहाँको भनाइ छ । पहिलेदेखि नै आन्तरिक पर्यटक आउने गरे पनि अहिले ढोरपाटन, मुक्तिनाथ, रुकुम लगायतका स्थानमा जाने बाह्य पर्यटकसमेत आउने गरेको अध्यक्ष हमालले जानकारी दिनुभयो । दरबारलाई संग्राहलयको रुपमा विकास गर्न थालिएको हमालले बताउनुभयो । दरबार भित्र राजाहरुले प्रयोग गरेका हतियार, पोसाक, टेलिभिजन, सोफा लगायतका सामग्री संग्रहित गर्न थालिएको छ ।
अध्यक्ष हमालले भन्नुभयो – “दरबार जीर्ण बनेको थियो, यो दरबारसँग इतिहास जोडिएको हुँदा यसलाई संरक्षण गर्नु पर्छ भन्ने हिसाबले अहिले जीर्णद्वार गरेका छौँ, इतिहाससँगै दरबार पर्यटकका लागि आकर्षक गन्तव्य पनि बनेको छ, यहाँ बाह्रै महिना पर्यटक आउने गर्छन्, जीर्णोद्वार गर्दा पुरानो शैली र कलालाई बिगारेका छैनौँ, अहिले निकै सुन्दर बनेको छ, दिनदिनै दरबारमा आएर रमाउने, घुम्ने पर्यटक बढेका छन्, अहिले विदेशीको पनि चहलपहल हुन थालेको छ ।”
सामाजिक सञ्जालमार्फत दरबारको प्रचार भएपछि देशका विभिन्न जिल्लाबाट पर्यटक घुम्न आउने गरेका छन् । मध्यपहाडी लोकमार्गमा पर्ने हटिया बजारदेखि १० गाडीमा १० मिनेटमा दरबार पुग्न सकिने हुँदा रोल्पा, रुकुम र ढोरपाटन जाने पर्यटक यहाँ आउने गरेको पाइन्छ ।
रुपन्देहीको देवदहबाट घुम्न आउनु भएका प्रेरणा शर्माले सय वर्ष पुरानो दरबार निकै आकर्षक रहेको बताउनुभयो । दरबार वरपरको वातावरण पनि शान्त र सुन्दर रहेको उहाँको भनाइ छ । सामाजिक सञ्जालमा दरबारको तस्बिर तथा भिडियो देखेको हुँदा बागलुङ कालिका दर्शन गर्न आएका बेला दरबारमा आएको शर्माले बताउनुभयो ।
“दरबार पुरानो होला, भत्किएको होला भन्ने लागेको थियो, तर यहाँ आउँदा चिटिक्क परेको देखेँ, स्थानीयले संरक्षण गरेर राख्नु भएको रहेछ,” शर्माले भन्नुभयो – “यहाँको हावापानी पनि राम्रो, ठाउँ पनि सुन्दर लाग्यो, हामीहरु पारिवारीक घुमघाममा आएका थियौँ, दरबारमा आएपछि हजुरबुबा, हजुरआमा, बाबा, ममी सबै खुसी हुनुभयो ।”
पर्यटकका लागि दरबारमै रेष्टुरेण्ट
दरबारमा आउने पर्यटकको सहजताका लागि गलकोट दरबार प्रालिले तीन महिनादेखि रेष्टुरेण्ट संचालन गरेको छ । टाढा–टाढाबाट घुम्न आउने र दरबारमा बस्न चाहाने पर्यटकका खाना र बस्नको सुविधा रहेको गलकोट दरबार प्रालिका सदस्य विजय मल्लले बताउनुभयो । प्रालिले दरबारसँग जोडिएको घरमा करिब ५० लाख लगानीमा रेष्टुरेण्ट संचालन गरेको हो ।
रेष्टुरेण्ट संचालनपछि साँझ बास बस्न आउने पर्यटकको संख्या बढ्दै गएको मल्लको भनाइ छ । रेष्टुरेण्टमा एक रातमा करिब २० जना पाहुना राख्न सकिने उहाँले बताउनुभयो । घुम्न आउने धेरै पर्यटकले दरबारमा बास बस्ने चाहना देखाएपछि आफूहरुले रेष्टुरेण्ट संचालन गरेको उहाँको भनाइ छ । दसैँको बेला विद्यालय, संघ संस्थाहरु बिदा रहेको हुँदा दैनिक पाहुना आउने गरेको मल्ल बताउनुहुन्छ ।
दरबार करिब पाँच रोपनी जग्गामा फैलिएको छ । वि.सं. २०१७ सम्म दरबार अस्तित्वमा थियो । भरतबम मल्ल तत्कालीन राजा हुनुहुन्थ्यो । यहीँबाट गलकोटको राजकाज चल्थ्यो । त्यस बेलासम्म गलकोट राज्यको प्रशासनिक, न्यायिक र आर्थिक अधिकार दरबारमा केन्द्रित थियो । पहिलो जननिर्वाचित सरकारले राजा, रजौटा उन्मूलन गर्ने निर्णय गरेको थियो । त्यसका लागि मन्त्रिपरिषद् प्रस्ताव लाने गलकोटे राजा भरतबम मल्ल हुनुहुन्थ्यो । उहाँ २०१५ को निर्वाचनमा भाग लिएर निर्वाचितसमेत हुनुभएको थियो ।
दरबार मल्लकी नातिनी बुहारी सरोजा मल्लको नाममा छ । वि.सं. २०३९ मा राजा भरतबमको निधनपछि दरबार संरक्षणको जिम्मा नाति माधवबममा आएको थियो । परिवारसहित दरबारमा बस्दै आउनुभएका मल्लको द्वन्द्वका समयमा मृत्यु भएको थियो । वि.सं. २०५९ वैशाखमा भएको उक्त घटनासँगै मल्ल परिवार त्यहाँबाट विस्थापित बनेर काठमाडौँ सरेको थियो ।