किबी खेती : एक पटकको लगानी वषौ आम्दानी


खेमराज गौतम, बागलुङ

एक पटकको लगानीले वषौं सम्म आम्दानी दिने बहुगुणी फल किबी प्रति बागलुङका किसानको आकर्षण छ ।

पेसाले हाइड्रो ईन्जिनियर रहनुभएका बागलुङको काठेखोला गाउँपालिका–५ थामडाँडाका खिमानन्द कँडेको १२ रोपनी जग्गामा किबी खेती छ ।

गत वर्ष ५०० केजी किबी बजार पठाउनुभएका कंडेलको किबी बगैचामा यस पटक दोब्बर बढी उत्पादन भएको छ । गत वर्षदेखि उत्पादन दिन थालेको किबी वार्षिक रुपमा ५०० केजी भन्दा बढीका दरले उत्पादनमा वृद्धि हुँदै आएको छ ।

किबीको मुल्य क्रमश घड्दै गएपनि उत्पादन बढ्दै गएको कँडेलको भनाई छ ।

कँडेल जस्ता सयो किसानले किबीलाई प्राथमिकतामा राखेर खेती गर्न थालेका छन् । प्रतिकेजी ३०० मा विक्रि हुँदै आएको किबीले क्रमश बजार पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् ।

“शुरुमा मात्रै बढी मेहनत लाग्छ किबीमा २०७७ सालमा लगाएको किबीले गत वर्षदेखि उत्पादन दिन थाल्यो, अघिपछि स्याहार गरिरहन पर्दैन, जागिर तथा अन्य काम गरेर समेत किबी गर्न सकिन्छ” कँडेलले भन्नुभयो “कोरोना कालमा बाँझो बारीलाई सदुपयोग गर्न लगाएको किबीले वर्षभरीको घर खर्च पुगे भैहाल्यो, कोदो जम्मा ८÷१० मुरी मात्रै फल्थ्यो पहिला त्यही बारीमा ।”

बागलुङमा थोरै लगानीमा राम्रो आम्दानी गर्ने उत्कृष्ट फलफूल खेतीको रुपमा किबीलाई लिन थालेपछि यहाँका किसानहरु उत्साहित भएका छन् । कँडेलले यो वर्ष तीन लाख बढीको किबी बिक्रि गर्ने लक्ष्य लिनुभएको छ ।

पछिल्लो समय बसाई सराईका कारण बाँझो जग्गा बढ्दै गएको खेतीयोग्य अन्य जग्गामा समेत काम गर्ने जनशक्ति अभाव भइरहेको सन्दर्भमा जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबी बनेको छ । काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछाने यस वर्ष २० क्विन्टल किबी फलेको बताउनुभयो । उहाँले किबीको बजारीकरणका लागि स्थानीय तहलाई नीति बनाउन आफूले सुझाएको जानकारी दिनुभयो ।

“२० क्विन्टल किबी फलेको छ, एकै पटक बजारमा पुग्दा बिक्रि नहुँन सक्छ, कम्तिमा एक महिना राखेर विक्रि गर्न सके राम्रै आम्दानी हुन्छ” लामिछानेले भन्नुभयो “एक पटक लगाउने, समय–समयमा हेरचाहा गर्ने र थाक्रो व्यवस्थापन गरेपछि सहजै किबी फल्छ, तरकारी खेतीलाई जस्तो स्याहार गर्न पर्दैन, फुर्सदको समय उपभोग पनी हुने आम्दानी पनि हुने ।” किबीलाई सुन्तलाको जस्तै बजारीकरणको भने आवश्यकता रहेको अनुभव सुनाउनुहुन्छ ।

किबीको उत्पादन बढेपछि ६०० पर्ने किबीको मुल्य भने घटेर ३०० प्रतिकेजीमा मुल्य झरेको छ ।

गाउँ–गाउँमा उत्पादन भएको किबी अहिले बागलुङ बजारमा देखिन थालेको छ । केही वर्ष पहिला सम्म आयात गरेको किबी विक्रि गर्दै आएका बागलुङका फलफूल व्यवसायी अहिले बागलुङकै गाउँ–गाउँमा उत्पादन भएको किबी विक्रि गर्न भ्याइनभ्याई भएको बताउछन् ।

बागलुङ नगरपालिका–८ सिगानाका पूर्व वडा अध्यक्ष जित बहादुर जिसीले धानखेत मासेर सुन्तला र किबी खेती गर्दै आउनुभएको छ । बहुगुणी फल भएको भन्दै जिसीले घरमा खाने र पाहुनालाई समेत पठाउने गरेको बताउनुभयो । आफू वडा अध्यक्ष हुँदा किसानहरुलाई सुन्तला र फलफूल खेतीमा आकर्षण गर्न आफैबाट शुरु गरेको बताउनुभयो ।

पछिल्लो समय बागलुङका गाउँ–गाउँमा किबी खेती गर्न थालिएको छ ।

बागलुङ नगरपालिका–१० भकुण्डेका हर्क बहादुर थापा, निसीखोला गाउँपालिका–४ स्थित तुलसीराम रेग्मी, गलकोट नगरपालिका–१ दुदिलाभाटीका गुमान सिंह खत्री, निसीखोला गाउँपालिका–४ स्थित लिला घर्ती र ताराखोला गाउँपालिका–५ का नर बहादुर राना लगायत लगायत बागलुङका करिब एक सय भन्दा बढी किसान किबीको व्यवसायिक खेतीमा लाग्नुभएको छ ।

केही नयाँ किसान हुनुहुन्छ भने केही किबीका पुराना किसान हुनुहुन्छ । पहाडी जग्गाको सदुपयोग संगै बहुगुणी फल किबीको राम्रो संभावना देखेपछि किसानहरु उत्साहित भएका हुन् ।

मलजल र थाक्रो राम्रो भएमा एउटै बोटमा धेरै किबी फलाउन सकिने किबी किसान मेहर सिंह पाइजाले बताउनुभयो ।

किबीको नियमित सेवनबाट गर्भवती, रक्तचाप, मुटु र रुघाखोकी लगायतका बिरामीलाई विशेष फाइदा पुग्ने भएकाले पनि बजारमा यसको माग बढी भएको स्वास्थ्यकर्मीको भनाई छ ।

किवी खेती एक हजार २०० देखि दुई हजार फिटसम्मको उचाइमा लगाउन सकिने कृषि ज्ञान केन्द्र बागलुङका बाली विकास अधिकृत कुमार पुनले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *