सिर्जना पन्त, बागलुङ
कुमार बस्नेत, अफ सिजनमा समेत १ सय लिटरभन्दा बढी दुध उत्पादन गर्ने अगुवा कृषक हुन् ।
बागलुङ नगरपालिका वडा नम्बर १४ नेपानेका ४५ वर्षीय कुमारले व्यवसायीक रुपमा गाइभैसी पाल्न थालेको १२ वर्ष पुग्यो ।
२०६९ सालमा घरमा भएको एउटा भैसीमाथी अन्य २ वटा भैसी थप गरि दुध बेच्न थालेका बस्नेतको बस्नेत पशुपालन फर्ममा अहिले विभिन्न प्रजातीका ११ वटा भैसी र ९ वटा गाई छन् । ११ महिना सिंगापुर, ६ वर्ष साउदी अरब, त्यसपछि फर्किएर ३ वर्ष बागलुङ बजारमै व्यवसाय गरेका बस्नेतले पसल बेचेर पुनः विदेशनै जाने सोच बनाउनु भएको थियो ।
ठुलो लगानी गरेर जापन जाने आँट गरेका बस्नेतले सोचे जस्तो भएन । बेचिसकेको पसल र विग्रिएको जापान जाने सपना भुलेर व्यवसायीक रुपमा गाइभैसी पाल्ने सोचका साथ गाउँ छिरेका बस्नेतले त्यसयता कहिलै पछुताउनु परेको छैन । कुमारलाई उहाँकी श्रीमती ३८ वर्षीया अप्सराको दरिलो साथ छ । २० वटा गाइभैसी, उनिहरुको हेरचाह र सम्पूर्ण व्यवस्थापनको काम बस्नेत दम्पतीले मिलेर गर्ने गर्नु भएको छ ।
दैनिक १ सय देखि १ सय २० लिटरसम्म दुध उत्पादन गर्दै आएका बस्नेतले मासिक २ लाख भन्दा बढी आम्दानी गर्ने गरेको बताउनु भयो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको सहयोगमा पोखरा गएर एक हप्ताको तालिम समेत लिएका बस्नेतले विक्री भएर बाँकी रहेको दुधबाट खुवा र पनिर बनाएर बच्ने गर्नु भएको छ ।
कुमारले उत्पादन गरेको दुध नजिकैको नारायणस्थान बजारमा बेच्ने गर्नु भएको छ । चैत बैशाखमा १ सय २० लिटरभन्दा बढी र असार साउनमा ७० लिटरसम्म दुध गाउँमै विक्रि हुने गरेको छ । गाउँमा विक्रि भएर रहेको दुध कुमारले कहिले स्थानीय डेरीलाई बेच्नुहुन्छ, कहिले पर्वतको कुश्मा बजार र बागलुङ बजारमा पठाउने गर्नु भएको छ । दुध विक्रि नहुँदा, वर्खाको समयमा सडकका कारण ढुवानीमा समस्या हुँदा, पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा सयौ लिटर दुध विक्रिएर जाने गरेको भएपनि पछिल्लो समय प्राक्टिकल एक्सन नेपालको सहयोगमा डिसीआर डिसी बागलुङले अनुदानमा प्रदान गरेको डिप फ्रिजले निकै राहत पुगेको उहाँको भनाई छ ।
बा आमाको पालामा एउटा भैसी पाल्ने र घरमै दुध खाने गरेको देखेका कुमारले वैदेशिक रोजगारीमा पाएको दुख विर्षाउन सुरु गरेको व्यवसायीक पशु पालनले खुसी दिएको भएपनि बेलाबेला आइपर्ने प्रक्रियागत समस्याले भने सताउने गरेको छ । वंैकबाट कृषी कर्जा भनेर लिएपनि जानकारी विनै घटबढ हुने व्यजदरले भने सास्ती दिएको उहाँको भनाई छ ।
तरपनि भेटेरिनरी अस्पताल, पशुलापक कृषकसँग काम गर्दै आएका सामुदायिक स्रोत विकास केन्द्र (डिसीआरडिसी) र साना किसान सहकारी जस्ता संघसंस्थाबाट प्राप्त भएको प्रोत्साहनले कुमार खुसी हुनुहुन्छ ।
गाइभैसीलाई खुवाउने घाँस उत्पादनका लागि कुमारले फर्मकै ओरिपरी ४० रोपनी जमिन भाडामा लिएर १ सय ५० केजीसम्म सुडान छर्ने गर्नु भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङबाट प्राविधिक सहयोग, औषधी उपचार र खोपसँगै अनुदान पाएको भएपनि लम्पी स्किन महामारीले ३ वटा गाइ र एउटा भैसी मरेको उहाँले बताउनु भयो । व्यवसाय विस्तारको क्रममा कुमारले फर्ममा ३० लाख रुपैयाँ भन्दा बढी लगानी पुगिसकेको बताउनु भयो । भारतको विहारदेखि १ लाख ३० हजार रुपैयाँसम्म तिरेर ल्याएका छाकमा १० लिटरभन्दा बढी दुध दिने गाइभैसी कुमारको फर्ममा छन् ।
वार्षिक ३० लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका कुमारले बजार व्यवस्थापन राम्रो भए विदेशभन्दा राम्रो आफ्नै देशमा गर्न सकिने बताउनु भयो ।