चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन 

डम्मर बुढा मगर, बागलुङ
चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मंसिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पौष पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको ढोरपाटनमा वर्षेनी पर्यटक बढ्दै गएका छन् ।

सञ्चार माध्यम र सामाजिक सञ्जालमा यहाँको मनमोहक दृश्यको प्रचार हुँदै गएपछि पर्यटकको आकर्षण बढेको हो । जाडोका कारण स्थानीय बासिन्दासमेत बोबाङ, अधिकारीचौर र निसीखोला झर्ने हुँदा ढोरपाटन सुनसान हुने गर्छ । पर्यटकको आगामन कम भएपछि यहाँ संचालित होटल व्यवसायी पनि फुर्सदिला बनेका छन् ।

ढोरपाटनमा हिउँ परे घुम्न आउने पर्यटक बढ्ने भए पनि अहिले सुनसान भएको ढोरपाटन होटल व्यवसायी संघका अध्यक्ष जीवन अदैले बताउनुभयो । ढोरपाटनमा घुम्ती बसाइँ हुने हुँदा यति बेला धेरै स्थानीय बेसी झरेको उहाँको भनाइ छ । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष पर्यटकको संख्या बढेको भन्दै हरेक वर्ष पौषदेखि फागुनसम्म पर्यटक आगमन निकै कम हुने अध्यक्ष अदैले बताउनुभयो ।

अध्यक्ष भण्डारीले भन्नुभयो – “यो यामनै ढोरपाटनमा कम चहलपहल हुने गर्छ, चिसो बढेको छ, चिसोका कारण कम मात्रमा पर्यटक आउने गरेका छन्, मंसिरसम्म दैनिक १५० जना पर्यटक घुमफिरका लागि आउने गर्थे भने अहिले घटेर ३०/४० जना मात्रै आउने गरेका छन्, प्रचारप्रसार निकै भएर होला पहिलेका वर्षहरुमा भन्दा अहिले पर्यटकको संख्या बढ्दै गएका छन् ।”

पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए । तर अहिले ढोरपाटन उपत्यकामा मात्रै करिब ४० हाराहारी होटल संचालनमा छन् । चिसोका कारण पाहुन आउन कम भऐपछि केही दिनका लागि आफू पनि बेसी झरेको होटल व्यवसायी श्यामलाल घिमिरेले बताउनुभयो । पछिल्लो समय ढोरपाटनमा बास बस्ने र खाना खाने सुविधा बढ्दै गएपछि पर्यटकको आकर्षण बढ्दै गए पनि यो सिजनमा कम भएको उहाँको भनाइ छ ।

अहिले शुक्रबार र शनिबार फाट्टफुट्ट पाहुन ढोरपाटन पुग्ने घिमिरे बताउनुहुन्छ । आएपश्चिम बागलुङको ठूलो व्यापारी केन्द्र बुर्तिबाङ बजारदेखि करिब ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनसम्म कच्ची सडक पुगेको छ । राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकले ढोरपाटन जोडिएपछि थप चर्चा पाएको छ । तर उक्त सडक स्तरोन्नति नहुँदा पर्यटकले सास्ती खेप्नु परेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *