खेमराज गौतम, बागलुङ
अहिलेको बागलुङ बजार २८४ वर्ष भन्दा पुरानो हो । पुरानो बजारमा अहिलेपनि एक सय वर्ष भन्दा पहिले बनाइएका कलात्मक घर जिवितै छन् । यहाँको नारायण चोक संस्कृतिक विविधताले धनी छ । अहिले त्यही नारायणचोक क्षेत्रलाई मौलिक शहरको रुपमा विकास गरी पर्यटक चिनाउने अभियान थालिएको छ ।
बागलुङ नगरपालिका–३ स्थित नारायणचोक आसपासका घर परम्परागत शैलीमा निर्माण भएका छन् । पर्यटकीय शहरका हिसाबले अझै महत्वपूर्ण मानिएको पुरानो शहरलाई स्थानीय र वडा कार्यालय मिलेर पर्यटन भित्राउनेगरी मौलिक शहरको रुपमा विकास गर्न थालिएको छ ।
नारायणचोकसंगै देउराली चोक, किराना टोल, नौबीसे टोल र कम्पुटोल बागलुङ बजारको पुरानो शहरमा पर्दछ ।
सय वर्ष पुरानो बागलुङ बजारको नारायणचोकमा रहेको भक्तिलाल चौपारी अहिले धपक्क बोलेको छ । चौपारीलाई बाँस र खरले छाइएको छ भने बक्तीले झिलीमिली पारिएको छ ।
बागलुङ नगरपालिका–३ वडा कार्यालय र स्थानीयको पहलमा गुमनाम बन्दै आएको बागलुङको पुरानो शहर संरक्षण गर्दै मौलिकता झल्कनेगरी सजाउन थालिएको छ ।
बढ्दो शहरीकरणको चापमा पुरानो शहर ओझेलमा पर्न थालेपछि स्थानीयले शहरको प्रचार प्रसारका लागि प्रवेशद्वार निर्माण, भक्तिलाल चौपारी पुननिर्माण, सजावट, सांस्कृतिक कार्यक्रम गर्ने र पर्यटकलाई स्थानीय खानाका परिकार चखाउन थालिएको हो । मौलिक शहरको रुपमा विकास गर्न भक्तिलाल चौपारीलाई सजाइएको छ भने पाँच वटा टोलको प्रवेशद्वारमा बाँसमाथी खरले छाएका प्रवेशद्वार बनाइएको छ ।
बढ्दो शहरीकरणका कारण मासिदै गएको मौलिक शहरलाई जिवितै राख्नका लागि प्रचार–प्रसारमा जुटेको बागलुङ नगरपालिका–३ का वडा अध्यक्ष सनी केसीले बताउनुभयो ।
नेवारी बस्तीलाई मौलिक शहरको रुपमा स्थानीयको सक्रियतामा विकास गर्न थालिएको केसीको भनाई छ । “अहिले पुरानो बजारलाई बेहुली झै सिगारिएको छ, उक्त शहरलाई सधै उस्तै बनाउने हाम्रो योजना हो, शहरको विभिन्न ठाउँलाई मौलिक रुपमा देखाउन सजाइएको छ, भक्तिलाल चौपारीमा नियमित सांस्कृतिक कार्यक्रम गरिन्छ” केसीले भन्नुभयो “स्थानीयले सहयोग संकलन गरेका छन् भने वडा कार्यालयले दुई लाख ५० हजार बजेट विनियोजन गरेको छ, पर्यटकीय शहरको रुपमा विकास गरेर सुनसान पुरानो शहरलाई गुल्जार बनाउने हाम्रो योजना हो, अहिले शुक्रबार र शनिबार नियमित सास्कृतिक कार्यक्रम हुन्छ भने पुरानो बजारमा ठूला सवारीसाधान आउनका लागि रोक लगाइएको छ ।”
मुख्यतया नारायणचोक र देउराली चोकमा पर्यटक भित्राउनका लागि सडकमा ढुङ्गा छाप्ने र बन्दीपुरको झल्को दिनेगरी फूल लगाउने काम थालिएको हो । वडाको अभियानलाई स्थानीय नेवार समुदाय र अन्य समुदायले साथ दिन थालेका छन् । अहिले शुक्रबार र शनिबार साँझमा सांस्कृतिक कार्यक्रम गर्न थालिएको छ । जस्मा नेवारी र मगर सांस्कृति देखाउन समेत थालिसकेको छ ।
२०११ सालमा विपीले समेत भक्तिलाल चौपारीमा उभिएर भाषण गरेको, नेवारी संस्कृति हनुमान नाँच र भदौरे नाँच यही चौपारीबाट निकालिदै आएको र दशैमा मालाश्री गाउने चौपारीलाई अहिले सिगारिएको किसानरा टोलका स्थानीय मुकेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।
भक्तिलाल चौपारी संस्कृति र राजनीतिको उद्गम थलको रुपमा रहेको राजभण्डारीको भनाई छ । “मौलिक घरहरु नै हाम्रा सम्पती हुन् बन्दीपुरमा जस्तो पर्यटक भित्राउन नारायणचोकले सक्दछ, यहाँको नयाँ र पुरानो समुदायले पहिचान अनुसारको खानाका परिकार र आतिथ्यता दिन थालेका छन्” राजभण्डारीले भन्नुभयो “खासगरी नेवारी र मगर संस्कृति प्रदर्शन र परिकारले स्थानीय पर्यटक तान्नेछ भने यहाँको नारायणचोक र देउराली चोकको प्रचार प्रसार हुँनेछ ।”
सजाइएको पुरानो शहरले व्यापार बढाउने अपेक्षा गरेको स्थानीय रन्जित प्रसाद मलेपतीले बताउनुभयो । एक सय वर्ष भन्दा पुरानो घरमा अझै डोको, नाम्लो, माछा मार्ने जाल जस्ता सामाग्री बिक्री गर्दै आउनुभएका मलेपतीले पुरानो बजारलाई पर्यटनसामु चिनाउन आवश्यक रहेको बताउनुभयो । आधुनिकतासंगै मौलिकताको समेत महत्व बढेर आएको उहाँको भनाई छ ।उहाँले यही पुरानोबजारबाट नयाँ बजार विस्तार भएको बताउदै पुरानो बजारलाई मौलिक शहरको रुपमा विकास गर्न स्थानीय लागेको बताउनुभयो ।
नारायणचोकमा दरबारको झल्कोदिनेगरी १९९५ सालमा ओम प्रसाद गौचनले निर्माण गरिएको ५२ झ्याले घर समेत संरक्षण गरि राखिएको छ । यहाँको पुरानो बस्ती अध्ययन अवलोकनका लागि समेत महत्वपूर्ण मानिदै आइएको छ । यहाँको तीन सय वर्ष पुरानो हनुमान नाँच, लाखे नाँच, रोपाई नाँच लगायतका नाँचहरुले समेत समय–समयमा प्रदर्शन गरिदै आइएको छ ।