डम्मर बुढा मगर, बागलुङ
बागलुङको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक हिसाबले विकट छ । विकटताका कारण पर्याप्त सेवा सुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पालयन भएका छन् भने गाउँमा बस्नेहरु सुविधाको खोजीमा बजार झरिरहेका छन् । धेरैको रोजाईमा बजार पर्दा गाउँ सुनसान बन्न थालेको छ । सुनसान गाउँमा एक युवाले अवसर खोजी राख्नु भएको छ । जो हुनुहुन्छ, मानसिङ पुन ।
पुन पेसाले स्वास्थ्यकर्मी हुनुहुन्छ । दिउँसोको समय नागरिकको उपचारमा खटिने उहाँ फुर्सदको समय बारीमा काम गर्नुहुन्छ । संगैका साथी कोही जापान, कोरिया त कोही खाडी मुलुक छन् । युवापुस्ता नहुँदा सुनसान बन्दै गएको गाउँमा पुनले व्यवसायिक कृषि गर्दै आउनु भएको छ । वि.सं. २०७३ सालदेखि ‘स्वरोजगार बहुउद्देश्यीय कृषि पशुफर्म’ संचालन गरि संभावनाहरु खोज्दै आउनु भएको छ ।
उमेरले भर्खरै २८ वर्षमा लाग्नु भएका पुनले व्यवसायमा विस्तारै फड्को मार्दै हुनुहुन्छ । आठ वर्ष अगाडि सुरु गरेको व्यवसायले अहिले लय समाउँदै गएको छ । पुनले गाउँको बाँझो जमिन लाखौँ खर्चेर खरिद गरि व्यवसायिक रुपमा किबी केरा, सुन्तला, कागती र टिमुर खेती गर्दै आउनु भएको छ भने ५० बढी बाख्रा पनि पाल्नु भएको छ । पुनको बारीमा पुग्दा लटरम्म फलेका फलफूलले धेरैलाई आकर्षित गर्छ ।
१८० रोपनी क्षेत्रफलमा लगाएको फलफूल मध्ये केहीले उत्पादन दिन थालेका छन् त केही हुर्किदै छन् । फल दिन तयार हुँदै छन् । केही वर्ष अगाडि वनमाराले ढाकेको बारीमा अहिले फलफूल उत्पादन हुँदा गाउँलेनै दंग छन् । गाउँमै स्वरोजगार बनेर जनताको सेवा गर्ने सोँच बनाउनु भएका पुनले पाँच वर्षदेखि ढोरपाटन नगरपालिका–८ स्थित सेराबाङ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रमुखका रुपमा काम गर्दै आउनु भएको छ । उहाँकी श्रमिती पनि स्वास्थ्यकर्मीनै हुनुहुन्छ ।
फुर्सदको समयमा बारीमा काम गर्ने उहाँले कृष फर्ममा हालसम्म रु डेढ करोड बढी लगानी गर्नु भएको छ । पुनलाई विदेशबाट फर्किनु भएका दाई हिमाल कुमार पुन र भिनाजु विक्रीम घर्ती मगरको दरिलो साथ रहेको छ । सुरुमा रु १५ लाखबाट सुरु गरेको व्यवसाय अहिले राम्रो हुँदै गएपछि वर्षेनी आम्दानी पनि बढ्दै गएको छ । यस वर्ष फलफूल तथा बाख्रा विक्री गरेर रु सात लाख आम्दानी गर्नु भएका पुनले वार्षिक ५० लाख आम्दानी गर्ने लक्ष्य राखेको सुनाउनुभयो ।
“अहिले सुरुवाति चरणमै छौँ, आम्दानी जति लगानी भइरहेको छ, बाख्रापालनबाट सुरु गरेको व्यवसाय अहिले फलफूल खेतीलाई बढी जोड दिएको छु, म जनताको उपचारमा व्यस्त भइराख्ने हुँदा दाई र भिनाजु विदेशबाट फर्किएर यहाँ काम गर्न थाल्नु भएको छ, उहाँहरुले थप हौसला दिँदा लगानी बढाई रहेको छु” पुनले भन्नुभयो – “लगानी अनुसारको प्रति आउला भन्ने अपेक्षा, गाउँमै केही गरौँ भन्ने हिसाबले लागेको हो, अहिलेसम्म निराश हुनु परेको छैन ।”
पुनले केही वर्ष अगाडि मात्रै ६० लाखको जग्गा किनेर फलफूल खेती विस्तार गर्नु भएको छ । हालसम्म आफूलाई कृषि ज्ञान केन्द्र बागलुङबाट रु एक लाख १३ हजार, ढोरपाटन नगरपालिकाबाट रु एक लाख ८८ हजार मात्रै अनुदान भएको भन्दै स्वदेशमै केही गर्न चाहाने युवालाई राज्यले पनि सोही अनुसारको सहयोग गर्नु पर्ने पुन बताउनुहुन्छ ।
गाउँमा खानेपानी र सिंचाइ अभाव हुँदा गाउँले बसाइँसराइ गर्न बाध्य भएको उहाँको भनाइ छ । आफूले ठूलो लगानी गरे फलफूल खेती गरेको तर सिंचाइ अभावमा विरुवा सुक्दा लाखौँको नोक्सानीसमेत व्यहोर्नु परेको पुनले गुनासो पोख्नुभयो । गाउँ नजिक पानीको मुहान नभएको तर टाढाबाट ल्याउनका लागि लाखौँ रुकम आवश्यक पर्ने उहाँको भनाइ छ ।
पुन भन्नुहुन्छ – “मैले कहिल्यै पनि गाउँ छोडेर विदेशिने सोँच बनाएन, मेरो उमेरका कोही पनि गाउँमा छैनन्, हाम्रो गाउँ अहिले पनि विकट छ, यहाँ मुख्य समस्या पानीको छ, राज्यले सिंचाइको लागि सहयोग गथ्र्यो भने मैले धेरैलाई रोजगार दिन सक्थेँ, टाढाको मुलबाट एक्लै लगानी गरेर पानी ल्याउन सकिने रैनछ ।”
पुनले विदेश पलायन हुने युवालाई स्वदेशमा पनि मेहनत गरे राम्रो आम्दानी गर्न सकिने सुझाउनुहुन्छ । विदेशमा अरुको गुलामी गर्नुभन्दा गाउँमा घर परिवारसँग काम गरेर आनन्दको जीवन बिताउन सकिने उहाँको भनाइ छ ।