गाउँको माया र सम्भावनाले जन्मेको ‘टोड्के हिल रिसोर्ट’

डम्मर बुढा मगर, बागलुङ
म्याग्दीको रघुगंगा, मंगला र बेनी बजारको शिरमा छ टोड्के पहाड । वरपर जंगल, बिचमा फाट्टफुट्ट घर । त्यही घर छेउमा टक्क मिलाएर बनाइएका साना राता घरहरु । जो हरदिन पर्यटकको पर्खाइमा हुन्छ र लामो बाटो छिचोल्दै गाउँ पुग्ने आगन्तुक पर्यटकलाई न्यानो स्वागत गरिरहन्छ । त्यो हो टोड्के हिल रिसोर्ट ।

पर्यटन प्रवद्र्धन सहित व्यावसायिक सोचले चार वर्ष अघिदेखि सञ्चालित छ । गाउँका स्थानीयले चरिचरनका लागि प्रयोग गर्ने उक्त ठाउँमा पर्यटकको स्वागत, आतिथ्यता, अर्गानिक खाना र आवासको अभाव बेहोरिरहे पछि युवा उद्यमी व्यवसायीको पहल र अगुवाईमा रिसोर्ट सञ्चालनमा ल्याइएको हो । भेडाका बथान बस्ने ठाउँमा सुविधायुक्त रिसोर्ट बनेपछि स्थानीय समेत दंग छन् । टोड्के त्यो क्षेत्र हो, जसलाई वि.सं.२०७२ सालमा नेपाल सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेको थियो ।

पहिले छिटफुट पर्यटक, त्यही पनि भेडीगोठ बस्नुपर्ने बाध्यता
पर्यटकीय क्षेत्र घोषणा गरे पनि त्यसबेला सम्म छिटफुट बाहेक पर्यटक पुग्न सकेका थिएनन् । टोड्केमा मीनबहादुर पाइजाको नेतृत्वमा ३६ जनाले लगानी गरेर रिसोर्ट सञ्चालनमा ल्याए पछि भने पर्यटकको आवागमन बढ्न थाल्यो । पहिले सदरमुकाम शहर बजारबाट फाट्टफुट्ट मान्छेहरु घुम्न पुगे पनि भेडीगोठमा बस्नु पर्ने बाध्यता थियो । अहिले रिसोर्ट संचालनमा आएपछि टोड्के पुग्ने पर्यटकलाई के खाने, कहाँ बस्ने बन्ने तन्तै छैन । टोड्केलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको सञ्चालक पाइजा बताउँनुहुन्छ ।

टोड्के आसपासका स्थानीयको साढे तीन करोड रुपैयाँ लगानीमा सञ्चालित रिसोर्टमा अहिले रघुगंगा गाउँपालिका–५ का ६८ वर्षीय भीमबहादुर शेरचनको बढी लगानी र जिम्मेवारी छ । करिब ३३ वर्ष काठमाडौँमा गलैचा व्यवसाय गर्नु भएका शेरचनले आफ्नो गाउँठाउँलाई पर्यटनसँग जोड्न तीन वर्षदेखि पूर्ण रुपमै गाउँमै रहेको बताउनु हुन्छ । शहर बजारको सुखसयलको जीवन छोडेर शेरचन पर्यटन प्रवद्र्धनमा सक्रिय हुनुहुन्छ ।

गाउँको सुन्दरता र सम्भावनासँगै पर्यटक भित्राउने माध्यम रिसोर्ट पनि भएकाले जोखिम मोलेरै टोड्केमा करोडौँ लगानी गरेको शेरचनको भनाई छ । ‘२०४५ सालदेखि काठमाडौँमा गलैँचा व्यवसाय गर्दै आएको थिए, सरकारले ०७२ सालमा टोड्केलाई पर्यटकीय क्षेत्र घोषणा गरेपछि सहरमा बसिरहन मन लागेन, गाउँमै केही गरौँ भन्ने उद्देश्यले अन्य साथीहरुसँग मिलेर रिसोर्ट सञ्चालनमा ल्याएका हौँ’, सञ्चालक शेरचनले भन्नुभयो–‘रिसोर्ट सञ्चालनमा आएपछि पर्यटक पनि आउन थालेका छन्, यहाँ रिसोर्ट खोलेको चार वर्ष भयो, हामीले जति पर्यटक भित्राउने सोचेका थियौँ, त्यो अनुसार भएको छैन, विस्तारै होला भन्ने आशा छ ।”

सामूहिक लगानी, अर्गानिक स्वाद
रिसोर्ट संचालनका लागि ३६ जनाले एक लाखदेखि ३० लाखसम्म लगानी गरेका छन् । टोड्के प्राकृतिक रुपमा निकै सुन्दर र पर्यटकीय सम्भावना उच्च रहेकाले तीन तहको सरकारबाट बढी लगानी र प्रचारप्रसार हुन जरुरी रहेको शेरचन बताउनुहुन्छ । यस क्षेत्रको प्रवद्र्धन गर्न निजी क्षेत्रबाट आफूहरुले सक्दो पहल गरिरहेको उहाँको कथन छ । पहिले भेडीगोठ रहेको ठाउँमा अहिले विस्तारै पर्यटकको चहलपहल बढ्न थालेको उहाँ बताउनुहुन्छ ।

‘पहिला यहाँ खास्सै बस्ती थिएन, मान्छेहरु पनि आउँदैनथे, टोड्के क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनु पर्छ भन्ने हिसाबले हामीहरु लाग्यौ, अहिले पर्यटक आउन थालेका छन्, अझै धेरै भित्राउने हाम्रो लक्ष्य हो’ उहाँले भन्नुभयो –‘तीन वर्ष अगाडि व्यवसाय छोडेर टोड्केलाई पर्यटन प्रवद्र्धन गर्नका लागि गाउँ फर्किए, अब गाउँमा बसेर रिसोर्टलाई गतिशील बनाउने, गाउँका युवालाई स्वरोजगार बनाउने सपना छ, यति सुन्दर ठाउँ अझै ओझेलमा पर्दा दुःख लाग्छ ।’

रिसोर्टमा हाल ६ जनाले रोजगार समेत पाएका छन् । टोड्के घुम्न आउने पर्यटकले टोड्केमै उत्पादन गरेको जैविक खानेकुराको स्वाद लिन सक्छन् । रिसोर्टमा पुग्ने पर्यटकले मकैको आटो, कोदोको ढिँडो, लोकल कुखुरा, खसी बोकाको मासु, मुला र सागको स्वादसँगै धौलागिरी, माछापुछ्रे र अन्नपूर्ण हिमश्रृङ्खला अवलोकन गर्न सक्छन् ।

महिनामा ५ हजार पर्यटक आगमन
रिसोर्टले स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिएको छ । रिसोर्ट नजिकै बारीमा सिताके च्याउ, आलु, मुला, साग लगायतका उत्पादन गर्ने गरिएको छ । हाल ५०० मुडामा च्याउ उत्पादन गरिरहेको अर्का सञ्चालक वकिल शेरचन बताउनु हुन्छ । टोड्के मुला उत्पादनका लागि प्रसिद्ध रहेकाले यहाँ उत्पादन हुने मुला बेनी, बागलुङ सहितका बजारमा पनि पुग्ने गरेको उहाँको भनाई छ ।

आफूहरुले लोकल कुखुरा समेत पालन गरेको शेरचनले बताउनुभयो । रिसोर्टको खाना र यहाँबाट देखिने मनमोहक दृश्यले पछिल्लो समय पर्यटकको आकर्षण बढेको शेरचनको दाबी छ । उहाँका अनुसार अहिले महिनामा करिब पाँच हजार आन्तरिक तथा बाह्य पर्यटक आउने टोड्के पुग्ने गरेका छन् । आफूहरुले टोड्केमा व्यापार गर्ने उद्देश्य भन्दा पनि पर्यटन प्रवद्र्धनका लागि रिसोर्ट सञ्चालन गरेको उहाँको भनाई छ ।

‘टोड्केलाई पर्यटकीय गन्तव्य बनाउनु हाम्रो प्रमुख उद्देश्य हो, आयातित वस्तु भन्दा स्थानीय उत्पादनलाई बढि प्राथमिकता दिने गरेका छौँ’, उहाँले भन्नुभयो–‘बाहिरबाट आउने आगन्तुकको पनि रोजाई अर्गानिक खाना पर्ने हुँदा हामीहरुले यहाँका बारीमा तरकारीदेखि अन्य वस्तु पनि उत्पादन गर्न थालेका छौँ, जसले स्थानीय युवालाई रोजगार समेत दिने वातावरण बन्दै गएको छ ।’
‘पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण’

रघुगंगा गाउँपालिका–५ का अध्यक्ष मनबहादुर सेरमन्जाले रिसोर्ट सञ्चालनपछि पर्यटकीय गतिविधि बढेको बताउनुभयो । टोड्केमा पर्याप्त पर्यटकीय पूर्वाधार निर्माण हुन नसके पनि रिसोर्टका कारण आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको उहाँको भनाई छ । रिसोर्ट सञ्चालकहरुले टोड्केलाई चिनाउनका लागि ठूलो प्रयास गरेको भन्दै प्रदेश र केन्द्र सरकारले पनि चासो दिनुपर्ने अध्यक्ष सेरमन्जा बताउनुहुन्छ ।

‘टोड्के पर्यटकीय हिसाबले निकै ठूलो सम्भावना बोकेको ठाउँ हो, वर्षौँदेखि अलिअलि मान्छे आए पनि प्रचारप्रसार हुन सकेको थिएन, अहिले रिसोर्टका कारण टाढा–टाढाबाट पर्यटक आउने गरेका छन्’ अध्यक्ष सेरमन्जाले भन्नुभयो – ‘राज्यनै प्रवद्र्धनमा लाग्नु पर्ने हो तर, त्यत्ति लागेको पाइदैन, हामीहरुले आफ्नो ठाउँबाट गरिरहेका छौँ ।’

पालिकाबाट २०÷३० लाख बजेट विनियोजन हुने भए पनि त्यसले पूरा काम गर्न नसकिने उहाँको भनाई छ । टोड्केसम्म पुग्ने सडक र पदमार्गलाई व्यवस्थित गर्न सके धेरै पर्यटक भित्राउन सकिने र गाउँमा आर्थिक गतिविधि बढ्ने अध्यक्ष सेरमन्जाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *