डम्मर बुढा मगर, बागलुङ
निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एक मात्र नाका थियो । वि.सं. २०१३ साल अगाडिसम्म बागलुङबासी डुङ्गामा कालीगण्डकी तरेर पर्वतको खनियाघाट हुँदै पोखरा, काठमाडौँ लगायतका ठाउँमा आवतजावत गर्थे । त्यस बेला सडकले बागलुङ जोडिएको थिएन । पोखरा–बागलुङ राजमार्ग निर्माण भएपछि वि.सं. २०५१ सालमा मालढुङ्गामा मोटरेवल पुल बन्यो । त्यसपछि बागलुङवासी खनियाघाटमा पुगेर काली तर्ने बाध्यता हट्यो ।
मालढुङ्गामा बनेको पुलबाट यात्रा गर्न थालेपछि निरयघाट ओझेलमा प¥यो । तत्कालीन जिल्ला विकास समितिले १२ लाख रुपैयाँ विनियोजन गरेर गणेश घुम्तीदेखि सडक निर्माण ग¥यो र ओझेलमा परेको नियरघाटलाई जोड्यो । आर्थिक वर्ष २०६०/०६१ मा खुलेको सोही सडक २० वर्षपछि स्तरोन्नति हुँदैछ । विश्व बैंकको लगानीमा “सहरी शासकीय पूर्वधार विकास कार्यक्रम” अन्तरगत गत असारदेखि उक्त सडकको स्तरोन्नति गर्न थालियो ।
कालीगण्डकी नदीको तटमा रहेको निरयघाट बागलुङवासीको दाहसंस्कार गर्ने मुख्य घाट अर्थात् दाह स्थल पनि हो । दैनिकजसो सयौँ नागरिक कालीगण्डकीमा स्नान र दाहसंस्कार गर्न पुग्छन् । सडक खुलेको दुई दशकसम्म स्तरोन्नति नहुँदा सबै भन्दा बढी सास्ती मलामीले भोग्नु परेको स्थानीयको गुनासो छ । अप्ठ्यारो सडकमा शव बोकेर हिँडेका कति मलामी घाइते भए, त्यसको लेखाजोखा छैन ।
अहिले भने त्यसरी सास्ती र सकस खेपेका मलामी मात्र होइन, साँघुरो सडक त्यसमाथि खाल्डाखुल्डी, हिलो र धुलोले वर्षौँदेखि आजित बनेका निरयघाट र माझीबस्तीका स्थानीय पनि खुसी छन् । पोहोर सालसम्म सडकमा गुड्ने गाडीले उडाएको धुलोले घरको छानो र पिँढी ढपक्क ढाकिने गरेको बागलुङ नगरपालिका–१ माझीबस्तीका ७५ वर्षीय बलबहादुर माझी बताउनुहुन्छ ।
“यो सडक भएर दैनिक तीन/चार वटा शव लिएर मलामी आउने गर्छन्, हिलाम्मे सडकका कारण चिप्लिएर धेरै मलामी लड्ने, असाध्यै दुःख पाउँथे, कतिको हात खुट्टामा चोट लाग्थ्यो, कति त अस्पतालमै भर्ना हुने गरि घाइते हुन्थे” उहाँले भन्नुभयो, “अहिले पैदल हिँड्ने सडक पनि सहज हुँदै गएको छ, बाटो राम्रो बनाउँदैछन्, सजिलो होला भन्ने आश छ, सडक विस्तार हुँदै गएपछि अन्त्येष्टिका लागि धेरै त सिधै गाडीमा लिएर घाटमा पुग्न थालेका छन् ।”
निरयघाट पहिलेको तुलनामा सडक सुविधाले फराकिलो र बिस्तारित त छ । तर, यस क्षेत्रको विकासका नाममा गरिएको जथाभावी डोजर प्रयोग र पूर्वाधारले कुरुप र जोखिम बढाएको छ । स्थानीय महेन्द्र आचार्य सडक विस्तार लगायतको पूर्वाधार विकासमा स्थानीयसँग कुनै पनि समन्वय नगरि निर्माण कम्पनीले सडक फारिकलो र नाली बनाउँदा खुल्ला चौरहरु मासिएको बताउनुहुन्छ । अव्यवस्थित रुपमा नाली निर्माण गर्दा निरयघाट कुरुप बनेको उहाँको भनाइ छ । सडक स्तरोन्नति पश्चात खनियाघाटवासीको जीवनशैलीमा परिवर्तन आउने आचार्य बताउनुहुन्छ ।
“विकास हुनु राम्रो हो, तर सबै स्थानीयसँग सहकार्य र समन्वय हुन जरुरी हुन्छ, यो सडकमा धमाधम काम भइरहेको छ, यहाँका नागरिकसँग कुनै छलफल भएन, खुल्ला ठाउँमा नाली बनाइएको छ, जसले यहाँका किसानलाई खेतबारीमा आउजाउ गर्न समस्या हुने देखिन्छ, सडक व्यवस्थित भयो भने त स्थानीयलाई फाइदै फाइदा छ,” उहाँले भन्नुभयो ।
माझीबस्तीकी ७५ वर्षिया फूलमाया माझीले सडक व्यवस्थित बन्न थालेपछि धुलो र हिलो कम भएको बताउनुभयो । पुस माघमा घाम ताप्नका लागि आँगनमा बस्दा सडकको धुलो उडेर एकैछिनमा फोहोर बनाइ दिने गरेको उहाँको भनाई छ । सरकारले सडक स्तरोन्नति गर्न धेरै ढिला गरेको माझीले सुनाउनुभयो । अब सडक छेउमै गएर बस्न सकिने उहाँले बताउनुभयो ।
१.६२ किलोमिटर रहेको उक्त सडक स्तरोन्नति गर्नका लागि गत वर्ष जेठ २५ गते फेवा/आशिष जेभीले जिम्मा पाएको थियो । ७ करोड ५० लाखमा उक्त सडक कालोपत्रे गर्ने योजना छ । आगामी असार ३० गतेसम्म काम सक्ने योजना रहेको निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । हालसम्म ६० प्रतिशत काम सकिएको दाबी कम्पनीको छ ।
“काम तीव्र गतिमा भएको छ, हामीहरुले योसँगै ढोडेनी र मुलपानी सडकको एकमुष्ट जिम्मा पाएका हौँ, जसका लागि ४९ करोड २१ लाखमा सम्झौता भएको छ, अहिले नाली निर्माण गर्ने, सडक फराकिलो बनाउने काम गरिरहेका छौँ,” इन्जिनियर शर्माले भन्नुभयो–“मौसमले साथ दिए यो महिना भित्रमा निरयघाट सडक कालोपत्र गरि सक्ने छौँ ।”
सडकको सहजतापछि निरयघाटमा फेरि एक पटक चहलपहल बढ्ने देखिन्छ । शान्त वातावरण र स्वच्छ हावापानी रहेको निरयघाटमा मानव सेवा आश्रमको भवन निर्माणाधिन अवस्थामा छ भने वृद्धाश्रम बनिसकेको छ । यस ठाउँलाई ध्यान केन्द्रका रुपमा विकास समेत गर्न सकिन्छ । बागलुङ नगरपालिकाका प्रमुख बुसन्तकुमार श्रेष्ठले माझीबस्ती र निरयघाट क्षेत्र सम्भावना हुँदा–हुँदै पनि ओझेलमा परेकाले प्रवद्र्धन गर्न उक्त सडकले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
निरयघाटलाई ‘इको टुरिजम’का रुपमा विकास गर्न सकिने उहाँको भनाई छ । पर्वतको खनियाघाट, बागलुङको निरयघाट र माझीबस्तीलाई बागलुङ बजारसँग सिधा जोड्नका लागि पक्की सडक बनाउन थालेको उहाँको भनाइ छ । कृषि उत्पादनका हिसाबले निरयघाट उर्वर रहेकाले किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्न बढी सघाउ पुग्ने उहाँ बताउनुहुन्छ ।
प्रमुख श्रेष्ठले भन्नुभयो – “नदि छेउमा रहेको हुँदा निरयघाटमा मत्स्यपालनको सम्भावना छ, तरकारी खेती, एग्रो टुरिजम पनि राम्रो हुने सम्भावना देखेका छौँ, धार्मिक पार्क पनि बनाउने योजना छ, भविष्यमा यो ठाउँ पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने देखेका छौँ, यो सडकले सबै भन्दा त दैनिक सयौंको संख्यामा घाट पुग्ने मलामीलाई बढी सहज हुनेछ ।”