पहिलेको पैदल यात्रा अहिलेको परिवर्तित पर्यटनको भाषामा पदयात्रा । बाह्य तथा आन्तरिक पर्यटकका लागि मात्र होइन, गाउँघरका मानिसहरुका लागि समेत अलि लामो पैदल यात्राको योग दुर्लभ बन्न थालेको छ । गाउँ–गाउँ, बस्ती–बस्ती, र घर–घरमा पु¥याइएको मोटरबाटाले पैदल मार्ग देख्न मुश्किल पर्न थालेको छ । र धेरैका लागि रहर बन्न थालेको छ पदयात्रा । समूह–समूह बनाएर रोमाञ्चक यात्रा गर्ने लहर बढेको छ । पर्यटकीय सिजन अब शुरु हुँदैछ । हामीकहाँ गन्तव्य बनेका अन्नपुर्ण संरक्षण क्षेत्र, धौलागिरी आधार शिविर लगायतका पदमार्ग मोटरबाटोको बिस्तारसँगै धेरै उजाड भएका छन् । धेरै ठाउँमा पदमार्ग भत्काइएका छन् । पर्यटकहरु अहिले नयाँ गन्तव्यका पदमार्गको खोजीमा रुचिकर देखिन्छन् । यस्तो बेलामा बागलुङ जिल्लाको सर्वसिद्धिधाम पञ्चकोटदेखि काठेखोला गाउँपालिका ३ धम्जा र म्याग्दीको बेनी नगरपालिका ३ भकिम्लीको सिमानामा अवस्थित बेलढुंगा सम्मको पदयात्रा गरिएको छ । यसले नयाँ गन्तव्यको पहिचान र सम्भावनालाई उजागर समेत गरेको छ ।
पदयात्राको शुरुवात, विकासक्रम अध्ययन गर्दा विश्वमा पदयात्राको सुरुवात गराउने मुलुक नेपाल देखिन्छ । नेपालको पर्यटनमा सबैभन्दा बढी सम्भावना भएको क्षेत्र भनेको पदयात्रा भएको पर्यटन व्यवसायी स्वीकार्छन् । जहाँ सबैभन्दा बढी खर्च गर्ने पर्यटक नेपाल आउने गर्छन् । अर्का तर्फ नेपालको हिमाल र पहाड अन्य मुलुकको तुलनामा पृथक छन् । तसर्थ विश्वभरका पर्यटकका लागि नेपालका बिभिन्न ठाउँको पदयात्रा धेरै महत्वपूर्ण र रहरको बिषय बन्दछ । पदमार्ग पहिचान र गन्तव्य बनाउने बिषयमा हामीसँग सिकेर अन्य मुलुकले धेरै फड्को मारेका छन्, तर पनि नेपालले अपेक्षित गति लिन नसक्नुमा धेरै कारण छन् । पहिलो कुरा, पूर्वाधारको विकास र दोस्रो पुरानो नीति संशोधन हुन सकेको छैन । अहिले नेपालका थुप्रै स्थापित पदमार्गमा मोटरबाटोको बिस्तार भएको छ । हामीले त्यसको विकल्पमा वैकल्पिक पदमार्गको निर्माण गर्न सकिरहेका छैनौं । नयाँ–नयाँ गन्तव्यहरुको खोजी गरी स्थापित गर्न सकेका छैनौं । मोटरबाटोले गर्दा हिँड्ने हिडाउने कि मोटरबाटोमा जाने लैजाने भन्ने प्रश्न खडा भएको छ । मोटरबाटोमा जाँदा पनि कालापत्रे नभएका कारण दुर्घटनाको जोखिम छ । हिडौं भनेपनि धुलो, धुवाँ र हिलाम्य अवस्था छ । बिश्वका पर्यटक के र कस्तो गन्तव्य चाहन्छन् ? कसरी प्रवद्र्धन गर्ने ? भन्ने सवालमा नयाँ नीति आउनु जरुरी छ । त्यसका लागि सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक छ ।
अब धौलागिरी क्षेत्रका गाउँघरको पर्यटनको आधार भनेको पदयात्रा नै हो । सरकारले अहिले २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा र गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन भ्रमण बर्षका रुपमा मनाउने कार्यक्रम घोषणा गरेको छ । बागलुङ नगरपालिका, ताराखोला गाउँपालिकाले पनि भ्रमण बर्षका रुपमा मनाउने नीति लिएको छ । यस अवस्थामा जिल्लाको नयाँ गन्तव्य बन्ने गरी जुन पहल भएको छ । त्यो आँफैमा सुखद र सकरात्मक छ । अब यसलाई व्यवस्थित पदमार्गको रुपमा स्थापित गर्न पूर्वाधार निर्माण, ठाउँ ठाउँमा आकस्मिक विश्राम स्थल, दिशा निर्देश गर्ने चिन्ह, आवश्यक पर्दाका बखतमा गाइड र समन्वय व्यवस्थापनका लागि सामुहिक भावना र क्रियाशिलता जरुरी छ । प्रारम्भमा पञ्चकोट, संसारकोट, थाप्लेको धुरी, कान्छो धौलागिरि, वेलढुङ्गा पदमार्गको अभ्यास गरिए पनि यसको सम्भावनालाई गाजाको दह, गलकोटको घुम्टे मात्र होइन, नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन पनि गन्तव्य बन्न सक्छ । अब यसका लागि सबैको चासो र नेतृत्वदायक पहल आवश्यक छ ।