अख्तियार,आतंक र असल नियत

सम्पादकीय

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जसको नाम लिँदा साथ या यो सँग जोडिदाँको बखतमा एक किसिमको भय पनि, अर्को तर्फ उत्तिकै भरोसा पनि । दुवैको गठजोडमा नागरिकको भरोसा यस प्रति बढी नै छ । यद्यपी, स्थायी सरकारको उपमा पाएको कर्मचारी तन्त्रमा भने भय बढी देखिन्छ । यसलाई अझ भन्न सकिन्छ की निजामति कर्मचारीतन्त्रमा अख्तियारको भयग्रस्त अवस्था बिद्यमान देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग मुलतः भ्रष्टाचार नियन्त्रण गर्ने मक्सतका साथ गठित आयोग हो । यसले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन, जवाफदेहिता र पारदर्शितालाई संस्थागत गर्न भुमिका खेल्छ । प्राप्त अधिकार दुरुपयोग भएकाहरुको हकमा यसले आवश्यक काम कारवाहीको कदम चाल्छ र चाल्नुपर्छ, यो अख्तियारको दायित्व र जिम्मेवारी हो ।

तर, भ्रष्टाचार विरुद्धको अन्र्तराष्ट्रिय दिवसमा अख्तियारको भुमिकाका बिषयलाई लिएर अख्तियार आतंक देखिएको चर्चा र बहस चलिरहेको छ । सरकारी कर्मचारीहरु जनताको करबाट तलब खाइरहे पनि जनता प्रति उत्तरदायी नदेखिएको गुनासो व्यापक छ । उनीहरु अख्तियारलाई देखाएर कुनै पनि किसिमको जोखिम वहन गर्नै खोज्दैनन् । यो उनीहरुका लागि मिठो बाहना बन्ने गरेको छ । जसको प्रत्यक्ष असर विकास निर्माणदेखि सरकारी काममा समेत परेको छ । यो प्रष्ट छ की राम्रो र असल नियतले काम गर्ने कर्मचारीहरु डराउनै पर्दैन । र डराउन जरुरी छैन । यद्यपी, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले त अख्तियारले कर्मचारीलाई अनावश्यक दुःख दिएका कारण देशव्यापी रुपमा आतंक फैलिएको बताए । जनताको आशा एउटा र अख्तियारको काम अर्को भइरहेको छ । समाज रुपान्तरण र समृद्धि मुलुक निर्माणमा यस्तो कामले बाधा पुग्ने उनको आशय छ । यो सोच पनि अन्यथा होइन । किनकी अरुले अख्तियार दुरुपयोग गरे नगरेको खोज अनुसन्धान र छानविन गरेर कारवाही गर्ने अख्तियारका कर्मचारीदेखी प्रहरी अधिकृत सम्म आँफै रंगे हात पक्राउ परेको घटनाले अख्तियार आंतक धेरथोर प्रष्ट हुन्छ । अख्तियार तथ्य र आधारहिन उजुरीका बारेमा प्रष्ट हुनु आवश्यक छ । कसैले नाम नराखी बेनामी उजुरी जसले जसका नाममा हाले पनि हुनी र अख्तियारले अनुसन्धान गर्न शुरु गर्ना साथ भ्रष्टाचारको कालो दाग लाग्ने जोखिमलाई सामान्य कदापी आँकलन गर्न हुँदैन ।

भ्रष्टाचारमा शून्य सहनशिलता जरुरी बिषय हो । सुशासनयुक्त सभ्य समाज निर्माणका लागि सार्वजनिक पद र निकायमा रहेका व्यक्तिहरुले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने संकल्पलाई व्यवहारमा रुपान्तरण गर्नुपर्ने जरुरता त छ । यद्यपी, यसमा पनि भ्रष्टाचार गर्न नदिने प्रतिवद्धता व्यक्त गरेका र गर्नुपर्ने सार्वजनिक पदमा आसिन व्यक्तिहरुको गलत नियतले खराब पात्र र प्रवृत्तिले बढावा पाइरहेको छ । अख्तियारले फर्जी उजुरीका नाममा कसैलाई पनि फगत दुःख दिएर बदनामी गर्नुहुन्न । अख्तियारले सुक्ष्म हिसावले अध्ययन अनुसन्धानको पाटो अघि बढाउनु पर्छ । दोषि नउम्कोस्, निर्दोष नफसोस् भन्ने सिद्धान्तबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बिचलित हुनु हुँदैन । अख्तियार प्रति भ्रष्टाचारीहरु भयग्रस्त हुने अवस्था सिर्जना गर्नुपर्छ । र आम नागरिकले अख्तियार दुरुपयोग गरेको अवस्थामा अख्तियार प्रति भरोसा गर्ने आधार पनि जिवन्त बनाई राख्नुपर्छ । तब मात्र हामी बिस्तारै भ्रष्टाचारमा शुन्य सहनशिलताको दिशामा अघि बढ्न सक्छौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *