सम्पादकीय
पछिल्लो महिना ठुला सडक दुर्घटनाले देश स्तब्ध बनायो । सडक यात्रा कति जोखिमपूर्ण बनिरहेको छ भनेर त्यसले नागरिकलाई थप भयभित बनाइरहेको छ । एक पछि अर्को संशय र शोकाकुल बनाउने दुर्घटना किन यसरी बढ्दो क्रममा छ ? दुर्घटना पछि राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री, शिर्ष नेता, सांसद र सरोकारवालाले शोक बिज्ञप्ती त जारी गर्छन् । तर, त्यस उपर दुर्घटना रोक्नका लागि औपचारिकता बाहेकको पहल र प्रयास चाही किन गरेको देखिन्न ? दुर्घटना के हामी नेपालीको नियति हो ? जो अल्पायुमै, असमयमै जर्बजस्त भोग्नै पर्ने बिवशतामा बाचिरहेका छौ ? अबश्य पछिल्लो भयानक दुर्घटनाको श्रृंखलाले यस्ता अनगिन्ती प्रश्न, चासो र चिन्ता उब्जाएको छ ।
१७ मंसिरमा बागलुङको बडिगाडमा कुल पूजामा हिँडेका यात्रु बोकेको जीप दुर्घटनामा हुँदा १३ जनाले दुखद मृत्युवरण गर्नुप¥यो । मध्यपहाडी लोकमार्ग अन्र्तगत बागलुङको बडिगाड ७ भिमगिठे घोकर्नामा देश स्तब्ध बनाउने घटना भएको १२ दिन पछि आइतवार काभ्रेमा उस्तै दर्दनाक दुर्घटना भयो । जसमा कालिञ्चोक दर्शन गरेर फर्किएका १५ जना यात्रुले ज्यान गुमाएका छन् । यसअघि १२ मंसिरमा अर्घाखाँचीको नरपानीमा भएको दुर्घटनामा १९ जनाले ज्यान गुमाए । १५ मंसिरमा सुनसरीमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भयोे । २१ मंसिरमा फेरि चितवनको राप्ती नगरपालिका ४ मा अटो दुर्घटना हुँदा ५ जनाको ज्यान गयो । यसरी १७ दिनको अन्तरमा पाँच ठूला दुर्घटना भएका छन् र ५८ जनाको ज्यान गएको छ । यसबाहेक हरेक दिनजसो हुने दुर्घटना र त्यसमा मृत्यु हुनेको संख्या पनि उल्लेख्य छ । देशभरमा हुने दुर्घटनामा दैनिक औसत ७ जनाको मृत्यु हुने गरेको सरकारी तथ्यांकले देखाएको छ ।
हो, दुर्घटना भवितव्य हो । यो रोक्न चाहेर मात्र या रोक्छु भनेर संकल्प र प्रतिवद्धता जाहेर गरेर मात्र रोकिन सम्भव छैन । तर, दुर्घटना धेरै कम गर्न सकिन्छ । दुर्घटनाका अनुसन्धानहरुबाट जोखिमपूर्ण सडक, प्राविधिक कारण भन्दा बढी मानवीय कारण बढी हावी देखिन्छ । चाहे त्यो सवारी चालकले तिव्र गति, ओभरलोड या मापसेको लापरवाही होस् या यात्रुहरुले गर्ने जर्बजस्त यात्रा । मानवीय कारणबाटै दुर्घटना हुने गरेको देखिन्छ । अर्को तर्फ जनताको कर र राज्यको सेवा सुविधामा जिविका चलाइरहेका ट्राफिक प्रहरी या सुरक्षा निकाय पनि ट्राफिक नियमको प्रभावकारी कार्यन्वयनमा कतै न कतै चुकिरहेका कारण दुर्घटना बढ्दो छ । देशभर अहिले करिब ७५ हजार किलोमिटर सडक सञ्जाल छ । तीमध्ये अधिकांश हिउँदमा धुलाभ्य र बर्खायामा हिलाम्य सडक छ । अब चालकलाई जिम्मेवार बनाउने, राजमार्गदेखी टोल टोलमा पु¥याइएका सडक पूर्वाधारमा सुधार गर्ने, सवारी साधनको उच्च प्राविधिक अवस्थाको वैज्ञानिक जाँच गर्ने, चालक, यात्रु र नियामकद्वारा कानुनको परिपालना गर्ने गराउनमा प्रभावकारी कदम चाल्न आवश्यक छ । यसका साथै आपतकालीन उद्दार, उपचार र पुर्नस्थापनामा पनि ध्यान दिने गरि नीतिगत व्यवस्था समेत गर्नुपर्ने खाँचो छ ।