बागलुङमा हात्तीपाइले निवारणको सकस र जरुरी कदम

सम्पादकीय
हात्तीपाइले रोग निवारणका लागि बागलुङमा ११ औं चरणको औषधि खुवाउने अभियान शुरु भएको छ । अघिल्लो बर्ष अन्तिम पटक भनिएको हात्तीपाइलेको चाहेर नचाहेर फेरि पनि औषधि खानुपर्ने बाध्यता सिंगो जिल्लाबासीलाई आइलागेको छ । र पूर्व घोषित कार्यक्रम अनुसार शनिवारदेखि जिल्लामा हात्तीपाइले बिरुद्वको औषधि खुवाउने अभियान शुरु भएको छ । धौलागिरी अञ्चल अस्पतालमा एक कार्यक्रमको आयोजना गरि जिल्लाका प्रमुख, डाक्टर, सामाजिक अगुवा, जनप्रतिनिधि लगायतले औषधि खाएर अभियानको शुभारम्भ गरेका छन् । यद्यपी, अनौपचारिक रुपमा बागलुङ नगरपालिकाका नीजि तथा सामुदायिक विद्यालयमा सिमित जनशक्तिका कारण शुक्रबारनै हात्तीपाइलेको औषधि खुवाइएको थियो । यो अभियान केही दिन सम्म जारी रहने स्वास्थ्य कार्यालयले बताएको छ । पहिलो दिन पायक पर्ने स्थानमा नखाएकाहरुलाई घर घरमै पुगेर पनि औषधि खुवाइनेछ । अर्को कुरा सके सम्म कोही पनि नछुटुन् भन्ने अभिप्रायले प्रत्यक्ष स्वास्थ्यकर्मीकै निगरानीमा औषधि खुवाउने कार्यक्रम तय गरिएको छ ।

बागलुङ स्वास्थ्य सचेतना जागरणका हिसावले अघि नै छ । तर, ११ औं पटक पनि अभियान सञ्चालन गर्नुपर्ने बाध्यतामा कसरी पुग्यो ? हामी सबैले यसका केही समस्या, जोखिम र तथ्यबारे बुझ्न जरुरी हुन्छ । हात्तीपाइले रोगबाट बच्न लगातार ६ं पटक हात्तिपाइले रोग बिरुद्धको औषधि खानुपर्छ । यसरी खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिन्छ । बागलुङमा १० औं पटक हात्तिपाइले रोग बिरुद्धको औषधि खुवाइए पनि बागलुङ नगरपालिकाको वडा नम्बर १२ नारायणस्थानमा नमुना सर्वेक्षणका क्रममा संक्रमण भेटिए पछि जिल्लामा फेरी ११ औं पटक अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको हो । देशभरबाट हात्तिपाइले रोग निवारणको अन्तिम तयारी भन्दै गत बर्ष अभियान सञ्चालन गरिए पनि ६ महिना पछि सर्वेक्षण गर्दा पुनः संक्रमण भेटिएको थियो । बिश्व स्वास्थ्य संगठनले एक प्रतिशत कम भएमा मात्र त्यसलाई जनस्वास्थ्य समस्याको रुपमा लिदैन । र हात्तीपाइले निवारणको मान्यता दिने गर्दछ । अहिले ७७ जिल्ला मध्ये १३ जिल्लामा फेरि अभियान सञ्चालन गरिएको छ । गण्डकी प्रदेशमा बागलुङ सहित पर्वत र लमजुङमा ११ औं पटक अभियान चलाइएको हो ।

हात्तीपाइले अहिले जनस्वास्थ्य समस्याको रुपमा बिद्यमान छ । विश्वका धेरै देशहरुमा यो अभियान सफल भएर हात्तीपाइले निवारण भइसके । चीनले आयोडिन नुनमा हात्तीपाइले रोग निवारणको औषधि राखेर आफ्ना नागरिकलाई खुवाउदै हात्तीपाइले निवारण भएको घोषणा गरिसक्यो । अरु देशहरुले पनि उस्तै प्रगति गरिरहेका छन् । नेपाल भित्रै उस्तै नक्सामा रहेको बागलुङले एक दशकदेखि हात्तीपाइलेको सकस बेहोरिरहेको छ । अहिले फेरि अभियान जारी छ । यस अभियानमा कसैले पनि हेलचेक्राइ र लापरवाही नगरौं । गर्भवति, दीर्घ रोग यस्तै खान रोक लगाएको बाहेक अरु नागरिक कुनै पनि बाहनामा औषधि खानबाट बञ्चित नबनौ । लामखुट्टेले तोकेर सर्ने भए पनि औषधि नखाएको या हात्तीपाइले भएको व्यक्तिलाई तोकेर अरु औषधि खाएका दोस्रो,तेस्रो व्यक्तिलाई सर्ने जोखिमयुक्त र संवेदनशिल बिषय भएकाले यसमा हामी सबै गम्भिर र जिम्मेवार बनौ । र यो पटकको अभियानलाई सफल बनाऔं ।
-जागरण दैनिकको सम्पादकीयबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *