सार्वजनिक सम्पति र सरोकार

सम्पादकीय
देशमा सार्वजनिक सम्पति माथि कति र कुन हद सम्म धावा बोलिएको छ भन्ने उदाहरण पछिल्लो समय क्रमशः देखिएको छ । देशको नाममा रहेका सार्वजनिक जमिन अतिक्रमणको श्रृखंला बढ्दो छ । सार्वजनिक सम्पतिको दुरुपयोगको दृश्य पनि उस्तै उदेक लाग्दो छ । राज्यका मुख्य निकायमा आसिन नेता र कर्मचारीहरुलाई दैननिदिन हुने यस्ता घटनाहरुले गम्भिर बनाउदैन । अर्थात यसको संरक्षणका लागि आवश्यक पहलकदमी लिदैनन् । बरु सुकुम्बासी र अरु अरु नाम बाहनामा बिक्री गर्ने, कमिसन बुझ्ने लालसा राख्छन् । यो नेपाली समाजको बिडम्बना हो ।

तर, यसै साता नेपाल ट्रस्टको जमिन व्यक्तिलाई सुम्पिएको आरोप खेपेको नेपाल सरकारले श्वेत पत्र जारी गरेको छ । केन्द्र सरकारले मंगलबार सार्वजनिक गरेको श्वेतपत्र अनुसार ट्रस्टको गण्डकी प्रदेशको पोखरामा ७४ रोपनी भन्दा बेसी जमिन छ । पोखराको जमिन र सम्पत्ति आफू मातहत ल्याउने प्रयास गण्डकी प्रदेश सरकारले थालिसकेको छ । विवादास्पद यती ग्रुपले हत्याउन लाग्दा स्थानीयको विरोध पछि स्थगित पोखराको रत्नमन्दिर र हिमागृह सहितका जग्गा प्रदेश मातहत हुनुपर्ने गण्डकीको माग हो । तीनै २ दरबारलाई संग्रहालय, बगैंचा र पुस्तकालय सहित पर्यटकीय केन्द्र बनाउने प्रदेश सरकारको अभिप्राय छ । रत्नमन्दिर र हिमागृह यती ग्रुपलाई केन्द्र सरकारले सुम्पने प्रयास २ वर्षअघि नै गरेको थियो । तर, स्थानीयले चर्को विरोध पछि यती र सरकार दुवै पछि हटेका थिए । अब सार्वजनिक सम्पति प्रदेश सरकारको मातहतमा ल्याउने र यसको आवश्यक प्रक्रिया सहित ती सम्पदाहरुको मर्मत सम्भार, संरक्षण, सञ्चालन तथा व्यवस्थापन गर्नका निम्ति विस्तृत योजना बनाउन जरुरी छ ।

सार्वजनिक सम्पति गण्डकी प्रदेशका जिल्ला जिल्लामा पनि जमिन अतिक्रमण गर्ने क्रम बढ्दो छ । अब नयाँ बिधि,प्रविधिको प्रयोग गरेर पुनः रेखांकन नापजाँच गर्न जरुरी छ । यदी नापजाँचका क्रममा मिचिएको पाइए राज्यका तर्फबाट तत्काल कदम चाल्नुपर्छ । सार्वजनिक जग्गा जमिन र सम्पति फिर्ता गराउनु पर्छ । राज्यको सम्पतिमा गिद्धे नजर लगाएर मनपरी निर्णय गरेको अध्ययन अनुसन्धानबाट पुष्टि हुन्छ भने ती पात्रहरुलाई प्रचलित नियम कानुनको कठघरमा उभ्याउनुपर्छ । आवश्यक कारवाही हुनुपर्छ । कुनै अमुक दल, पद, नाम र अनुहार हेरेर छुट दिने प्रवृत्ति अन्त्य गर्नुपर्छ । न कि भोलिका दिनमा राज्यको सम्पति माथि गलत नजर लगाउन नसकोस् । कुनै स्वार्थ समूहको चंगुलमा फसेर कसैलाई खुशी पार्न राज्यको सम्पति दोहन नगरोस् ।
-आजको जागरण दैनिकबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *