कोरोना, सम्भावित भयावह र अधुरो तयारी

सम्पादकीय
समय, प्रकृति, विपत्ति र महामारीहरुले देश विदेशमा बेला बेला ठुलो जनधनको क्षति पु¥याएका छन् । क्षति र भयावह मात्र होइन, त्यस्ता विपतका हुण्डरीहरुले मानव समुदायलाई महत्वपूर्ण मानवता र सेवाको पाठ समेत सिकाएका छन् । सांसारिक लोभ, क्रोध, धन सम्पतिको मोह क्षणिक भएको सन्देश पनि प्रवाह गरेका छन् । २०७२ सालमा महाभुकम्पले पनि झुपडीदेखि महल सम्मका सारा मानिसलाई सडकमा ल्याइदिएकै हो । अहिले पनि हामीलाई कोरोनाले भयभित बनाइरहेकै छ । अझ भोलीका दिनमा कोरोना भाइरसले कति भयावह अवस्था सिर्जना गर्ने हो ? त्यसको कुनै ठेगान छैन । तर, विश्वभर कोरोनाका कारण सिर्जित भयावह अवस्था र परिदृश्यले हामी सबैलाई संसारमा जतिसुकै ठुला, महान आदर्शका कुरा गरे पनि कठिन घडीमा आफ्नो ज्यान नै प्रिय हुँदोरहेछ भन्ने ठाउँमा पु¥याएको छ ।

आइतवारसम्ममा विश्वभरमा कोरोनाका कारण १३ हजार भन्दा बढि मानिसको मृत्यु भएको छ । ३ लाख ८ हजार ५ सय ९२ जना कोरोनाबाट संक्रमित भएका छन् । कोरोनाको संक्रमण देखिएका ९५ हजार ८ सय २९ जना भने उपचार पछि निको भएका छन् । संक्रमण फैलिने क्रम बढ्दो छ । इटाली जस्तो देशमा दैनिक ४ सय बढिको ज्यान जान थालेको छ । कोरोना भाइरस शुरुवातमा देखिएको चीन बिस्तारै नियन्त्रण उन्मुख हुँदै गएको छ भने अमेरिका जस्तो देश कोरोनाले आक्रान्त बनिरहेको छ । नेपाल आजको दिन सम्म संक्रमणले अछुतो छ, अर्थात आजको दिन सम्म जोगिएको छ । तर, हाम्रो देश यति संगीन संवेदनशिल घडीमा उभिएको छ कि अहिले सम्म कोरोना संक्रमण नदेखिएकाले सबै ठिकठाक देखिन्छ । जब जुन दिन संक्रमण भएको पुष्टि हुनेछ । त्यसले भयावह रुप लिने संकेतहरु देखा पर्न थालेको छ । अहिले सामान्य ज्वरो, रुघाखोकी भएको बिरामी अस्पताल जाँदा स्वयम् डाक्टर र अस्पताल आतंकित बन्ने अवस्था विद्यमान छ । यो पछिल्लो परासीको घटनाले पनि पुष्टि गरेको छ । चौतर्फी आलोचना बीच रुघाखोकी लागेका ट्याक्टर चालकको अहिले जिल्ला अस्पतालमा परीक्षण र उपचार भइरहेको छ ।

सरकारले विश्वभर भयावह बनिरहेको कोरोना भाइरस संक्रमण रोकथामका लागि एकपछि अर्को निर्णय गरिरहेको छ । आवात जावतमा रोक लगाउनेदेखि क्वारेन्टाइन स्थल, आईसीयू बेडहरु बनाउने कार्यलाई तिव्रता दिएको छ । तर, कल्पना गरौ, भोली दुई चार जना मानिसलाई कोरोना संक्रमण देखियो । उनीहरुलाई अस्पताल लगियो भने त्यो अस्पताल, डाक्टर, अरु स्वास्थ्यकर्मी, परिवारका सदस्यहरुको अवस्था र सुरक्षा सुनिश्चितता कति सहज होला ? डाक्टर या संक्रमण भएका बिरामी बोक्ने गाडी चालक, सुरक्षाकर्मी यावत पात्रको सुरक्षाको ग्यारेण्टी नगरे कसरी जोखिम मोल्लान् ? यो बिषय अहिले सामान्य लागिरहेको छ । तर, कोरोना भाइरसको भयावह भए अस्पतालमै भागाभागको अवस्थाको बिदु्रप दृश्य देख्ने दिन पनि नआउला भन्न सकिन्न । यसका लागि तत्काल सबै किसिमको सुरक्षा, सचेतता र स्रोत साधनको प्रवन्ध तीनै तहको सरकारले गर्नुपर्छ । यसमा नागरिकले असल नागरिकको हैसियतमा भुमिका निर्वाह गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *