क्वारेन्टिनमा दीर्घ रोगीलाई बिशेष व्यवस्था होस्

फाइल तस्बिर

सम्पादकीय
कोरोना भाइरसको संक्रमण र भयावह विस्तारै कम हुँदैछ । तर, अझै पनि जोखिम र अप्रिय घटनाको नतिजा आउने क्रम भने जारी छ । कोरोनाकै कारण भन्दा पनि यसको भयले यथेष्ट व्यवस्थापन, सचेततामा ध्यान नदिदाँ र संवेदनशिलताबारे बोध नगर्दा देश भित्र दुखद खबर आइरहेको छ । कोरोनाका कारण विदेशमा जुन मृत्युदर देखियो । त्यो तुलनात्मक रुपमा हामीकहाँ धेरै कम छ । त्यसमा पनि कोरोना भाइरस (कोभिड १९)कै कारण मात्र भन्ने खुलिसकेको छैन । कोरोनाका कारण मृत्यु भयो भनिएका यस्ता अप्रिय घटनामा अरु सहायक दीर्घ रोगी बढि छन् । यो पक्ष स्वभाविक सोचनीय छ ।

शुक्रवार राति मात्र पर्वत जिल्लाको पैयुँ गाउँपालिका ६ को क्वारेन्टाइनमा बसेका एक ५२ वर्षीय पुरुषको मृत्यु भयो । असार पहिलो साता भारतबाट फर्किएका उनको असार २३ गते पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना रोकथाम जिल्ला स्तरीय कमाण्ड फोर्सको निर्णय अनुसार रिपोर्ट नेगेटिभ आएकोले उनलाई दुई साताका लागि पैयुँ–४ स्थित जनसेवा संस्कृत माध्यमिक विद्यालयको क्वारेन्टाइनमा पठाइएको थियो । २४ गते उक्त क्वारेन्टाइनमा पठाइएका उनको बसाइ आइतबार सकिंदै थियो । उच्च रक्तचापको नियमित औषधि सेवन गर्दै आएका ति पुरुषको केही समयदेखि औषधि सकिएको थियो । विदेशमा रहँदा खाएको औषधि यहाँ आएपछि केही समय रोकिएको थियो । तर क्वारेन्टिनमै रहेका बेला सास फेर्न गाह्रो भयो भनेपछि गण्डकी अस्पताल पोखरा पठाइएको थियो । अस्पतालमै चिकित्सकले मृत घोषणा गरेका थिए । कोरोनाको लक्षण नदेखिएको भए पनि उनको दाहसंस्कारमा सहज बनाउन स्वाबको नमुना लिइएको छ ।

क्वारेन्टाइनमै रहेको हुँदा एक पटक स्वाब लिएर रिपोर्ट आएपछि मात्रै दाहसंस्कार गरिनेछ । यो घटना धौलागिरीमा पहिलो होइन । यसअघि बागलुङको ढोरपाटन नगरपालिकाको खुंगा स्थित छोरपाटन क्वारेन्टिनमा रहेका २९ वर्षीय युवकको मृत्यु भयो । भारतबाट आएका मुटुको समस्याबाट प्रताडित रहेका उनको कोरोना परीक्षण रिपोर्ट नआउदै मृत्यु भयो । मृत्यु पश्चात मात्र खोजतलास र बिशेष पहलका बीच अन्ततः पोजेटिभ रिपोर्ट आयो । र सोही अनुसार दाहसँस्कार गरिएको थियो ।
अहिले क्वारेन्टिन या आइसोलेसनमा मृत्यु भएकोमा कोरोना कारण स्वभाविक हुन सक्छ । तर, अहिले मृत्यु भएका तीन दर्जन बढि संख्यामा घटनाको प्रकृति हेर्दा र विश्लेषण गर्दा कोरोना मात्र कारण देखिदैन । या कोरोनाको कारण मात्र मृत्यु भयो भन्ने अवस्था छैन । किनकी कोरोनाका कारण भन्दा कोरोनाकै भय र सन्त्रासका कारणले क्वारेन्टिन, आइसोलेसन या यात्रामा यथोचित व्यवस्था, खानपान, बसाईमा ध्यान नपुग्दा ज्यान गएको प्रतित हुन्छ । खासगरी दीर्घ रोग र अरु स्वास्थ्य समस्याबाट ग्रसित भएकाहरुलाई क्वारेन्टिनमा राख्दा बिशेष व्यवस्था या स्वास्थ्य सुरक्षा र निगरानीमा राखेको देखिएको छैन । दर्जनौको संख्यामा आएका सबैलाई गोलमोटल एकै ठाउँमा राख्दा त्यसले अरु रोगबाट पीडित आगन्तुकले समस्या बेहोरिरहेका छन् । अतः अझै पनि क्वारेन्टिनमा राखिनेहरुमा दीर्घ रोग या अरु स्वास्थ्य समस्या भएकालाई बिशेष व्यवस्था गरेर रेखदेख गर्न सकेमा अप्रिय घटनाको खबर सके रोक्न नत्र धेरै हद सम्म कम गर्न अवश्य सकिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *