बदलौं असारे विकासको मनोवृत्ति

सम्पादकीय
असारमा नेपाली किसानलाई मात्रै चटारो हुँदैन । मानो रोपेर मुरी फलाउने किसानहरुको व्यस्तता र यसको उपलब्धिको स्वाद फरक हुन्छ । तर, असारे विकासले उपभोक्ता समितिदेखि निर्माण व्यवसायी हुँदै सरकारका बिभिन्न निकाय, कर्मचारी सम्मलाई पनि असार महिना उस्तै हतारो हुन्छ । नेपाली समाजमा असारे विकासको खराब प्रवृत्तिजन्य हिसावले वर्षौदेखि निरन्तरता छ । यो माथिदेखि तल सम्म उही पुरानो मनोवृत्तिबाट ग्रसित छ । जुन अभ्यास र प्रवृत्ति गलत हो भनेर त सबैले भन्छौ, सरकार र यसका सरोकारवाला पनि यो तर्कमा सहमत हुन्छन् । हाम्रा खराब अभ्यास र प्रवृत्ति बदल्नुपर्ने तथ्य स्वीकार गर्दछन् । तर, अन्ततः हामी नेपाली समाजमा निकै प्रचलित उखान जस्तै तातोपानीले नुहाउनेमा जोडदार अडान लिए पनि अन्तिममा चिसो पानीले नुहाउने खालको प्रवृत्ति छ ।

वर्षाैदेखिको असारे विकासमा यसपाली त कोरोनाले थप बल र बाहना दियो । चैत्र महिनाको पहिलो सातादेखि नै कोरोना भाइरसको आतंकले देश बन्दाबन्दी –लकडाउन) गरिए पछि विकास निर्माणदेखि सबै काम ठप्प भयो । यसर्थमा अहिलेको असारे विकासलाई स्वभाविक मान्न सकिन्छ । तर, विकास योजना,कार्यान्वयनको सवालमा असार अन्तिममै कुर्ने परिपाटी दीगो विकासको मुख्य समस्या र चुनौति बनेको छ । मुलुकको विकास किन अपेक्षाकृत र तिव्र विकास हुन सकिरहेको छैन ? यस प्रश्नको जवाफ व्यक्ति र नेता अनुसार फरक फरक हुन सक्छ । तर, एउटा जरुर स्वीकार गर्नैपर्ने तथ्य हाम्रो विकास योजना, अभ्यास र प्रवृत्ति कस्तो छ ? यो कति व्यवहारिक र दीगो छ ? यसमा गम्भीर बहस, चिन्तन मनन जरुरी छ । बर्षासँगै भेल बाढी शुरु हुँदा बल्ल विकासे योजना सम्झौता र काम थाल्छौ । अनि जनताको थोपा थोपा पसिनाबाट आर्जित करबाट प्राप्त बजेट, विकास योजना त्यही आर्थिक वर्षको अन्त्य सम्म पनि नटिक्ने दुखान्त परिदृश्य हाम्रै अघि देखिने विवशता छ । अब यस्तो असारे विकास पद्धतिले हामीले साँचिरहेको समृद्ध नेपाल, सुखी नेपालीको महत्वकांक्षी सपना पुरा हुनेमा संशय पैदा भएको छ ।

असारे विकास प्रवृत्ति सुधार गर्न प्रयास नथालिएका पनि होइनन् । अघिल्लो वर्षबाटै बागलुङका केहि स्थानीय तहले यस्तो प्रयास पनि थाले । तर, त्यसको चुस्त कार्यान्वयन, व्यवस्थापनमा समस्या देखियो । कार्य सम्पादनका हिसावले हेर्दा पनि १ अर्व बढि बजेट फ्रिज भएको छ । यसले हाम्रो योजना, कार्यसम्पादनको शैली, तौरतरिकामा पनि सोचनीय बनाएको छ । अहिले फेरी नयाँ आर्थिक वर्ष शुरु भएको छ । यो नयाँ आर्थिक वर्षमा सबै स्थानीयले वर्षा शुरु नहुँदै समयमै योजना सम्झौता गरेर ढिलो भने बैशाख, जेठ सम्ममा योजना सम्पन्न गरेर फरफारक गराउने अभ्यासका लागि प्रतिवद्ध भएरु काम गर्न जरुरी छ । जनप्रतिनिधिहरुले सोही किसिमले विकासमा दुरदृष्टि राखेर कुशलतापूर्वक नेतृत्वदायक भुमिका निर्वाह गर्न आवश्यक छ । असार अन्तिममा वर्षा जारी हुने, काम पनि जारी हुने तर त्यसको बजेट निकासा हुँदा सम्म योजनाको उपलब्धि नै नदेखिने या बगिसक्ने नियति अब दोहोरिनु हुँदैन । यसले वित्तिय अनुशासनमा पनि गम्भीर प्रश्न र आंशका देखिएकाले असारे विकासको अभ्यास र मनोवृत्ति बदलौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *