विपतमा चुस्त सूचना प्रणाली र तदारुकता

सम्पादकीय
पत्रकारितामा सूचना शक्ति हो । जुन पत्रकार सँग हरपल नयाँ नयाँ सूचना हुन्छ । त्यही पत्रकारले स्कोप मार्छ । अर्थात प्रगति र आम जनमानसको विश्वास र भरोसा प्राप्त गर्छ । आम मानिसले पनि हेक्का राख्नुपर्छ कि जो सँग सूचना छ, त्यो मानिस कुनै न कुनै हिसावले शक्तिशाली कहलिन्छ । अर्थात यसो पनि भन्न सकिन्छ कि सूचना भएको मानिस धेरै हिसावले अघि हुन्छ । एउटा सूचनाले मानिसको जीवन बाँच्ने कि मर्ने ? सरकार ढल्ने कि जोगिने ? कुनै इमान्दार मानिस फस्ने कि बच्ने ? यस्ता अनगिन्ती सवाल आउँछन् । जुन सही समयमा सही सूचना प्राप्त गर्दाको बखतमा देखिन्छ । तर, पनि अहिले सरकारी संयन्त्रमा विपतको यस जोखिमपूर्ण अवस्थामा सूचना प्रणालीको चुस्त व्यवस्थापन र पुर्ववत सचेततामा निकै समस्या देखिन्छ ।

पछिल्लो केहि साता याता निरन्तर वर्षा भइरहेको छ । अविरल वर्षाका कारण सोमवार राति मात्र बागलुङको तमानखोलामा दुई बालकको ज्यान गएको छ भने निसीखोलामा एक बालकको ज्यान गएको छ । अरु धेरै स्थानमा घर भत्किएका छन् । बाढि, पहिरोका कारण अनगिन्ती घर र बस्ती जोखिममा परेका छन् । कयौ परिवार निरन्तरको झरीका कारण घर जोखिममा परे पछि बिस्थापित भएर अरु बैकल्पिक स्थानमा सरेका छन् । कैयन परिवार विकल्प नहुँदा या नदिदाँ जोखिमका बीच पनि रातभर जाग्राम बस्न बिवश छन् । तर, हाम्रो जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकारहरु अहिले सम्म आफ्ना पालिका या जिल्लाका कति घर बाढि पहिरोको उच्च जोखिममा छन् ? कति परिवार बिस्थापित भएका छन् ? कति सडक सञ्जाल अवरुद्व छन् ? कति परिवारको बिचल्ली भएको छ ? कति परिवारको अझै गाँस,बास,कपासको अनिश्चित छ ? तथ्य र तथ्यांक सहित ठोस जवाफ न जिल्ला प्रशासन कार्यालय सँग छ । न त स्थानीय सरकारहरु सँग नै । विपद् पूर्वको तयारीका बारेमा टालटुले बनावटी जवाफ दिएर अहिले पन्छिरहेका छन् । यसले के देखाउँछ भने हामी दुर्घटना पश्चात मात्रै सचेत हुने र पश्चातापमा जल्ने प्रवृत्तिको निरन्तरता उन्मुख हामी छौ ।

अतः स्थानीय प्रशासन र सरकारले आफ्ना क्षेत्रका जोखिमयुक्त वस्तीको पहिचान गर्ने, त्यसको तात्कालिक बिश्लेषण गरेर यथोचित विकल्प या सचेतता अपनाउनका लागि सुझाव दिने, स्थान्तरण हुनुपर्ने अवस्था भए सोही किसिमले आफै या राज्यका निकायले व्यवस्था गरिदिने बिषयमा तदारुकता देखिनुपर्छ । प्रकोपका घटना पूर्वको सूचना र घटना हुँदा साथको सूचना र त्यसलाई तत्काल गम्भीरतापूर्वक लिएर सम्बोधन गर्ने इच्छाशक्ति र दृढताले मानवीय लापरवाहीका कारण हुने ठुला दुर्घटना रोक्न सकिन्छ । या त्यसबाट जोगिन सकिन्छ । तर, प्राकृतिक कारण हुने भवितव्य मानव समुदायका लागि सबै भन्दा महंगो सावित हुँदै आएको छ । अहिले भारी वर्षा हुने क्रम जारी छ । यो क्रम अझै केहि समय लम्बिने अवस्था रहेकाले र त्यस पश्चात पनि बर्खायामको जोखिम कायमै रहने भएकाले यसमा राज्य र यसका निकायबाट सम्भाव्य सबै खालका पहल र प्रयासहरु जरुर हुनुपर्छ । नागरिक स्वयंम् पनि सम्भावित विपद् र यसका जोखिमबाट बच्न यथेष्ट सजगताका उपाय अबलम्बन गर्न प्रतिवद्ध हुनुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *