सम्पादकीय
कोरोना भाइरस (कोभिड १९)को संक्रमण जोखिम यथावत छ । तर, देशमा विगत लामो समयदेखि लकडाउन खुल्ला छ । लकडाउन हटाउनुको अर्थ कोरोना रोकथाम या नियन्त्रण भएर होइन । देशको अर्थतन्त्र चलायमान नहुँदा देशनै नचल्ने अवस्था अर्थाट ढुकुटी रित्तो भयो । व्यापार व्यवसाय सबै ठप्प हुँदा दैनिकी चलाउन पनि कठिन हुने परिस्थिति तयार भयो । गरिब मजदुरहरु घर भित्र उकुस मुकुस भएर भोकै पेट बस्नै नसक्ने अवस्था आयो । समयक्रमसँगै परिस्थिति यस्तो आयो कि जहाँ आम मानिस जनतन लकडाउनको अनुशासन भित्रै बसेर ज्यान त जोगिने भो । कोरोनाबाट बच्न सकिने भयो । तर, रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जना भयो । यसकारण अहिले कोरोना भयावहका बीच लकडाउन खुलाइएको छ । दैनिकीहरु नियमित लय तर्फ उन्मुख छन् । तर, हामीले कोरोना जोखिम कायमै छ भन्ने कुरा बिर्सिन थालेको अनुभूति हुन थालेको छ । यो खतरानक बिषय हो ।
सरकार जिकिर गरिरहेछ–कोरोना संक्रमण दर घटेको छ । तथ्य भन्छ–कोरोना संक्रमण दर होइन, परीक्षणको दर र दायरा घटिरहेको छ । ८ जेठदेखि १५ साउनसम्म १० साताको तथ्यांक विश्लेषण गर्दा परीक्षण बढ्दा संक्रमितको संख्या बढेको छ भने परीक्षण घट्दा संक्रमित पनि घटेका छन् । भारतबाट आउने, क्वारेन्टिन बस्ने क्रम घटे सँगै अहिले परीक्षण गर्ने र संक्रमित संख्या तुलनात्मक रुपमा घटेको छ । तर, पछिल्लो समय संक्रमणबाट दैनिकजसो मृत्यु हुन थालेको छ । सघन उपचार कक्ष आइसियूमा भर्ना हुने गम्भीर संक्रमितको संख्या पनि बढेको छ । देशभर संक्रमितको संख्या १९ हजार बढी पुग्दा ५२ जनाको मृत्यु भएको छ । २६ संक्रमित आइसियूमा उपचाररत छन् । संक्रमितहरू यति धेरै संख्यामा आइसियूमा भर्ना भएको यो पहिलो पटक हो । तराइका बिभिन्न जिल्लाहरुको पछिल्लो तथ्यांक, संक्रमणको प्रकृति हेर्ने हो भने फेरी भयानक अवस्था आउने संकेत मिल्छ । यस साताकै संक्रमण अवस्थाको निरन्तरता हुने हो भने देशमा या निश्चित प्रदेश र क्षेत्रहरुमा फेरी लकडाउन गर्ने अवस्था आउन सक्छ ।
कोरोनाको लामो संकट र सकसका बीच बन्दाबन्दी हटाउनु स्वभाविक थियो । त्यो संवेदनशिल अवस्थाका बीच आवश्यकता बनिरहेको थियो । तर, कोरोनाको त्यो विषम परिस्थितिबाट मुक्त हुने अवस्था अझै तयार भएको छैन भन्ने हामी सबैले हेक्का राख्नुपर्छ । अझै पनि जुनसुकै समय गत वर्षको चैत्र महिनाको पहिलो साताको सेरोफेरोमा जस्तै कोरोना आतंक र भयावहको अवस्था सिर्जना हुन सक्छ । त्यो अवस्था तपाई हाम्रै कारणले सिर्जित हुन सक्छ । किनकी अहिले अन्तर जिल्ला सार्वजनिक सवारी बाहेक अरु स्वास्थ्य सुरक्षा, सचेततामा यथोचित गम्भीरता र ध्यान पुग्न सकेको छैन । चीन लगायता विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणको चर्चा पछि पुनः संक्रमण फैलिएर लकडाउन गरेका धेरै देशका उदाहरण छन् । यसबाट हामीले जरुरी पाठ सिक्नैपर्छ । यात्रामा निस्कदा अनिवार्य मास्क, सेनीटाइजर, अरु स्वास्थ्य, सुरक्षा मापदण्डलाई आत्मसाथ गर्न आवश्यक छ । कुनै एक दुई व्यक्तिको लापरवाहीले सिंगो समाजलाई असुरक्षित बनाउने जोखिम भएकाले सरकारले यसमा आवश्यक सचेतता र कडाई गर्न पनि जरुरी छ ।