झोलुङ्गे पुल, गिनिज बुक र पर्यटन

सम्पादकीय
बागलुङ जिल्ला नेपाल भित्रको नेपालको सुन्दर आकृतिमा मात्रै पहिचान होइन । यसभित्रका अनेक परिचयका आयामहरु छन् । जुन आम रुपमा पहिचान, प्रर्वद्धन गर्न अझै नसकिएको अवस्था बिद्यमान छ । यसै मध्येको एक हो–झोलुंगे पुलको जिल्ला बागलुङ । बागलुङ जिल्लाको बलेवा क्षेत्रसँग जोडिएर नेपालकै लामा, अग्ला पुल बने पनि पर्वत जिल्लाले त्यसको प्रयाप्त जस र फाइदा लिइरहेको छ । बागलुङ गुनासो मात्र गरिरहेको छ । पर्वतले झोलुङ्गे पुलहरुकै कारण मुस्ताङ पुग्ने पर्यटकलाई पर्वतलाई पनि एउटा गन्तव्य सूचीमा राख्ने सामथ्र्य बनाउन थालेको छ । आर्थिक उपार्जनका हिसाबले समेत पर्वत जिल्लाले मुनाफा लिइरहेको छ । तर, बागलुङले आवत जावतमा बाहेक अरु पर्यटकीय प्रवद्वनका हिसाबले कुनै लाभ लिन नसकेको नमिठो विगत र वर्तमान हामी सँग छ । यही बिडम्बनाका बीच बागलुङको बांगेचौर र पर्वतको पाङ अदुवाबारी जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । जुन विश्वकै लामो भएको दावी गरिएको छ ।

कालीगण्डकी नदी माथि निर्माण भएको झोलुङ्गे पुल बागलुङ नगरपालिकाको बिशेष पहलमा निर्माण भएको हो । यसले बागलुङको मुर्झाएको पर्यटन सम्भावना र आशामा नयाँ उत्साह पैदा गरेको छ । अझ यस झोलुङ्गे पुल खुल्ला प्रकृतिमा ५७६ मिटर लामो पुल निर्माण नेपालमै पहिलो पटक निर्माण भएको तथ्य छ । यस्तो प्रकृतिको पुल विश्वकै लामो भएको दावी सहित बागलुङ नगरपालिकाले विश्व रेकर्ड कायम गर्नका लागि समेत सम्बन्धित निकाय मार्फत पहल थालेको छ । सुरुमा एशियाकै लामो रहेको भने पनि सस्पेन्सन बृज डिभिजन कार्यालयको रेकर्डमा खुल्ला प्रकृतिको झोलुङ्गे पुल विश्वभर ४९८ मिटर भन्दा बढी हाल सम्म निर्माण नभएको पाइएको छ । बि.स २०५९ सालदेखि पुल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिए पनि लठ्ठा तान्न नसक्ने असम्भव रहेको निष्कर्ष सहित काम शुरु हुन सकेको थिएन । यही पुल निर्माणका लागि ४० लाखमा लठ्ठा तान्ने औजार चिनबाट खरिद गरेर लिए पछि यसले नयाँ मोड लियो । पुल निर्माणबाट दुई जिल्लाका पुल आसपासका बासिन्दालाई १ घण्टा भन्दा बढी समय पैदल हिँड्नुपर्ने बाध्यता करिब १० मिनेटमा छोटिएको छ ।

अब अहिले यस झोलुङ्गे पुलको गिनिज बुकमा नाम लेखाउने पहल जुन भइरहेको छ । यो जिल्ला र समग्र धौलागिरीको पर्यटन प्रर्वद्धनका लागि सुखद कदम हो । र अहिले बागलुङ नगरपालिकाले दाबी गरे जस्तो सिंगल स्पानमा निर्माण गरिएको विश्वकै लामो झोलुङ्गे पुल वल्ड रेकर्ड कायम गर्ने अवस्था रह्यो भने त्यसले समग्र विश्वकै ध्यानाकर्षण गर्नेछ । आन्तरिक मात्र होइन, बाह्य पर्यटकहरुको आवत जावत पनि बाक्लिनेछ । यदी यस्तो दावीमा कसैले ब्रेक गरिहालेको रहेछ भने पनि अहिलेको पहलकदमीले घाटा गर्दैन । अहिले विश्वकै लामो दाबीको पहल र जिकिर गर्दा मात्रै कसैले टाउको दुखाउनु पर्दैन । किनकी अहिलेको जुन दाबी प्रस्तुत गरिएको छ, यसले पनि बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुलको प्रचार प्रसार र सकरात्मक सन्देश देश बिदेशमा पुगेको छ । जसले यस क्षेत्रमा आउनका लागि कुनै न कुनै हिसावले भुमिका खेल्न सक्छ । अतः यस झोलुङ्गे पुललाई गिनिज बुकमा नाम लेखाउन जति सक्दो छिटो सम्भाव्य पहल सहित कदम चालौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *