‘गाइजात्रा’ केही दिन होस्, दैनिक नहोस्

सम्पादकीय
गाइजात्रा, नेपाली समाजमा पृथक परम्परागत सँस्कृतिको रुपमा स्थापित छ । यही गाइजात्राका बेला हुने हाँस्यव्यंग्य जात्राको रोमाञ्चकता छुट्टै हुन्छ । उसो त नेपाली समाज कला, सँस्कृति र परम्पराका हिसावले बिबिधतायुक्त समाज हो । यहाँ दैनिकजसो बिभिन्न चाडपर्व र जात्राहरु हुने गर्दछन् । ती जात्राहरु खास जाति, धर्म, सम्प्रदायसँग सम्बन्धित छन् । तर, निश्चित जाति बिशेषको पर्व भए पनि गाइजात्रा पर्व आम नागरिकका लागि चासो र सरोकारको पर्व बन्ने गरेको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमी सम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ बागलुङमा पनि मनाउने गरिन्छ । मंगलबार गाइजात्रा भए पनि यसपटक कोरोना संकटको सकसका कारण उल्लेख्य उत्साहप्रद रहेन ।

गाइजात्राका क्रममा प्रहसन, सामाजिक विकृति प्रति व्यंग्यात्मक प्रदर्शन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ । गाईजात्राका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा नेवारी समुदायले गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ । यसरी बजार परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक कथन छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यंग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिए अनुरूप हास्यव्यंग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ ।

नेपालमा हरेक दिनजसो गाइजात्रा भइरहेको कटाक्ष हुन्छ । त्यो कुनै जाति समुदाय बिशेषले मात्र होइन,हाँस्यव्यंग्य कलाकारले मनाउने मात्र पनि होइन । त्यो भन्दा बढी नेताहरु र बिभिन्न व्यक्तिले देखाउने अनेक जात्रा र चर्तिकलाको ज्याँदा चर्चा हुन्छ । जुन बिषय सोचनीय पनि छ । समाजमा अनेक घटना र परिदृश्य देखिन्छन् । जुन देख्दा जात्रा या जात्रै जात्रा जस्तो लाग्छ । यसमा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, युट्युव लगायतका माध्यमहरुको तिव्र विकास सँगै क्षणभरमा भाइरल हुने अवस्था छ । त्यसमा पनि दैनिकजसो नयाँ, सकरात्मक, सुखद खबर र परिदृश्य भन्दा पनि खराब, अश्लिल, भयानक भिडियोले टे«ण्डिङमा स्थान पाउछ । यसर्थ गाइजात्रा बिशेषका सन्दर्भमा हामी सबैलाई पाठ र प्रेरणा होस् कि यो देशमा गाइजात्रा भाद्र प्रतिपदा सेरोफेरोको सिमित दिनमा मात्र होस् । हर दिन देशमा गाइजात्रा नहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *