बुद्ध, बिवाद र तथ्य

सम्पादकीय
महात्मा गौतम बुद्ध । जसको जन्म भएको पवित्र भुमी नेपाल । हामीले वर्षौदेखी पढ्दै र सुन्दै आएको एउटा ऐतिहासिक, जिवन्त र पौराणिक तथ्य । तर, अहिले फेरी तीनै महात्मा गौतम बुद्ध नेपालमा नभई भारतमा जन्मिएको दावी आइरहेको छ । त्यो सामान्य स्तरबाट होइन । भारतका उच्च पदस्थ मन्त्री, नेताहरुबाटै यस्तो जिकिर आइरहेको छ । भारतीय विदेशमन्त्री जयशंकरले शनिबार दिल्लीमा भारतीय उद्योग परिसंघ (सिआइआई)द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्धलाई महात्मा गान्धीसँग जोडेर महान् भारतीय भनेका थिए । ‘गौतम बुद्ध र महात्मा गान्धी भारतीयहरूले मात्र नभएर विश्वले नै मान्ने दुई महान् भारतीय हुन्’ भनेका थिए । उनको यो भनाइले नेपाल भारत दुवै देश सहित विश्व समुदायमा समेत ठुलो तरंग पैदा भएको छ । फेरी एक पटक विश्व समुदायलाई बुद्ध नेपालमा जन्मिएका हुन् या भारतमा भन्न द्धिविधा सिर्जना गरिदिएको छ । यसकारण नेपाल सरकारले अब यसका बारेमा प्रष्ट तथ्य र प्रमाणहरु सहित आफ्ना कुरा राख्नु अनिवार्य भएको छ ।

हुन त नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राम अयोध्या भारतको होइन, नेपालमा थियो र छ भनेर बोले पछि भारत तरंगित भइरहेको छ । यस हिसावले भारतीय विदेश मन्त्रीले जवाफी फाइरिङ खोलेका हुन सक्छन् । तर, भारतीय विदेश मन्त्रालयले आइतबार साँझ जारी गरेको प्रेस नोटमा बुद्धको जन्म नेपालको लुम्बिनीमा भएकोमा कुनै शंका नरहेको स्पष्ट पारेको छ । नेपालको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको ६ वर्षअघि गौतम बुद्धको जन्म नेपालमा भएको अभिव्यक्ति स्मरण गराउँदै प्रेस नोट जारी गरेको थियो । लगत्तै भारतले विदेशमन्त्रीको भनाइ बुद्ध दुई देशका साझा सम्पदा भएको अर्थमा आएको प्रस्टीकरण दिएको छ । जयशंकरले बौद्ध सम्पदा साझा भनेका थिएनन् । जयशंकरको अभिव्यक्ति प्रति सत्तारुढ नेकपा र प्रतिपक्षी कांग्रेसका शीर्ष नेता तथा कूटनीतिक समुदायले पनि चर्को विरोध गरे पछि परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण गराएको थियो । २०७१ सालमा नेपाल भ्रमणका क्रममा संसदमा सम्बोधनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफैँले नेपाल एक यस्तो देश हो जहाँ विश्वमा शान्तिका प्रतीक बुद्धको जन्म भएको भनेर भनेका थिए ।

गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको विषय ऐतिहासिक छ । त्यो पुरातात्विक तथ्यहरूले समेत प्रमाणित गरेको एक स्थापित र निर्विवाद तथ्य हो । बुद्धको जन्मस्थान र बौद्धधर्मको जग लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका स्थानहरू मध्येको एक हो । नेपालले बौद्ध धर्म नेपाल पछि विश्वका विभिन्न भागमा फैलिएको सत्य पनि हामी माझ छ । यो विषय कुनै विवाद वा शंका भन्दा बाहिर छ र यो बहसको विषय पनि हुन सक्दैन । तर पटक पटक बुद्ध नेपालमै जन्मिएका हुन् भनेर प्रस्ट्याउनु पर्ने बाध्यता नेपाललाई आइरहेको छ । यसमा भारतले बिभिन्न ढंगले आफ्ना भ्रमात्मक दाबीहरु पेश गर्ने गरेको छ । यसले अन्तर्राष्ट्रि«य समुदायमा निश्चय पनि केही भ्रम र आशंका स्वभाविक उब्जिरहेको छ । यसकारण ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भनेर विश्वव्यापी अभियानहरु पनि चलाउनु पर्ने भएको छ । सरकारले अब फेरी एक पटक ऐतिहासिक, पुरातान्विक तथ्यबाट यसलाई थप पुष्टि गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *