अस्तव्यस्त दल र समस्याको दलदल

सम्पादकीय
जनताको समस्या समाधान सहित समृद्धिको नारा अलापेर दुई तिहाइ सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अहिले आफै ठुलो समस्याको दलदलमा फसेको छ । र प्रतिपक्षी भन्दा एक कदम अघि सरेर पार्टी भित्रैका शिर्षस्थ नेताहरुले राजीनामा मागिरहेका छन् । नेकपाको सचिवालय र स्थायी कमिटी वैठक त कति पटक आव्हान गरियो ? र कति पटक स्थगित भयो ? त्यसको हिसाव किताव छैन । एक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली दुई पद मध्ये एक पद छोड्ने अर्का अध्यक्ष प्रचण्ड सहितका नेताहरुको तिव्र दबाबका बीच पनि चट्टानी अडानमा छन् । पार्टी एकताको भावना, मर्म र भविष्य पनि अनिश्चियको भुमरीमा छ । सत्तारुढ नेकपा मात्रै होइन, प्रतिपक्षी नेपाली काँग्रेस पनि उस्तै प्रवृत्तिले ग्रस्त बनेको छ ।

नेपाली काँग्रेसमा अहिले महाधिवेशनको रौनकता बढ्दो छ । पार्टी केन्द्रदेखि स्थानीय तह सम्म अधिवेशन र नयाँ नेतृत्व चयनको हिसाव किताव, चुनावी रणनीतिका गतिविधि अघि बढाउन शुरु भइसकेको छ । र पार्टी सभापति शेरबहादुर देउबाले आफ्नो कार्यकाल सकिने बेलामा वर्षौंदेखि रिक्त रहेर पनि अभाव नखड्किएको र आवश्यकता बोध पनि नभएका विभागमा अहिले सयौं कार्यकर्तालाई नियुक्त गरिरहेका छन् । यसमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको तिव्र बिरोध रह्यो । हुन पनि सयौंको संख्यामा आफ्नो समूहको व्यवस्थापन हुन सक्ने र आफ्नो गुट अझ शक्तिशाली बन्ने रणनीतिका रुपमा यसलाई उपयोग गर्न खोजेको प्रष्ट हुन्छ । नत्र, देउवालाई मात्रै होइन, विभागमै भर्ती भएकालाई पनि थाहा छ विवादका बीच गठन भएका विभागले अहिले केही काम गर्न सकिने अवस्था र समय छैन । तर, यही कार्यकाल सकिने बेलाको नियुक्तिमा पनि पार्टी, बिधि, पद्धति, प्रणालीका बारेमा चर्को वकालत गर्नेहरु समेत धमाधम फेसबुकमा बधाई दिइरहेका छन् । कारण, यो अब नेताहरुको बाध्यता हो । निकट समयमै चुनाव हुँदैछ ।

यि सत्तारुढ होस् या प्रतिपक्ष । पछिल्लो विवाद र घटनाक्रमका परिदृश्य हेर्दा पार्टी भित्रको बिधि, पद्धति, प्रणाली ध्वस्त देखिन्छ । जहाँ नीति होइन, नेता हावी देखिन्छ । स्वार्थ समूहको बोलवाला छरपष्ट छ । व्यक्तिवादी प्रवृत्तिले गुट, उपगुटका बिभिन्न तह बनिरहेका छन् । जसका कारण आन्तरिक पार्टी संगठन अस्तव्यस्त बनेका छन् । पार्टीलाई गतिशिल बनाउने आन्तरिक संघ संगठननै शिथिल भए पछि कसरी पार्टी जीवन सवल बन्छ ? अहिले देशका दुई ठुला दलले एउटै नियति भोगिरहेका छन् । तर, नागरिकको अपेक्षा र आंकाक्षा सरकार सरकार जस्तो होस्, प्रतिपक्ष प्रतिपक्ष जस्तो होस् भन्ने छ । यो दुवैमा आन्तरिक बिवादमा फसेका नेकपा र नेपाली काँग्रेसको मौलाउदो विवादले धुमिल बनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *