मरेका बिरामी कुखुरा र गम्भीर लापरवाही

सांकेतिक तस्बिर

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९)को तिव्र संक्रमण जोखिम अझै कायमै छ । तीन महिना लामो लकडाउन खुलेको छ । तर, लकडाउन खुलेको बताइए पनि अन्तर जिल्ला सार्वजनिक सवारी साधन अझै खुलेका छैनन् । बरु कोरोना संक्रमणको भयावह बढ्दै जान थाले पछि जिल्ला जिल्ला एक पछि अर्को शिल र लकडाउन गर्न थालिएको छ । यसमा सरकारको कोरोना रोकथाम, उपचार र नियन्त्रणमा कति प्रभावकारी तयारी व्यवस्थापन गरिए ? नागरिक कति सचेत र जिम्मेवार बने ? अरु सरोकारवालाको भुमिका र दायित्व कति कुशलतापूर्वक निर्वाह गरिएको पाइयो ? यि र यस्ता अनगिन्ती प्रश्न आज उठिरहेको छ । यही क्रममा यसै साता बागलुङमा कोरोना संक्रमणको जोखिमका बीच मुख्य नाका मालढुंगामा चेकजाँचमा कडाई भए पनि मरेका, बिरामी कुखुरा भित्राइएको खबरले सबैलाई झस्काएको छ ।

कोरोना संक्रमण फैलन सक्ने भन्दै बागलुङ जिल्लामा पशुपंक्षी भित्राउन रोक लगाइएको छ । तर यस्तो अनुमति विपरित कुखुरा भित्रिए । त्यो पनि कोही मरेका र कोही बिरामी अवस्थाका । गत सोमबार पोखराबाट भित्रिएको ५ सय कुखुरा मध्ये ३० कुखुरा मरेका र ४० कुखुरा बिरामी परेको फेला परेको हो । जिल्ला भित्राएर बागलुङ नगरपालिका–३ गौंडाकोटको गोदाममा काट्दै गर्दा स्थानीयले देखे पछि पत्रकार र प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै प्रहरी र बागलुङ नगरपालिकाको पशु शाखाको टोली गोदाममा पुग्दा गम्भीर लापरवाही गरेको देखिए पछि जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लियो । र स्थानीय उपभोक्ताको तिव्र दबाब पछि मरेका र बिरामी परेका ७० कुखुरा नष्ट गरियो । अरु कुखुरा पनि स्वस्थ भन्ने आधार रहेन । यो कसरी आयो ? कतै बिरामी भएर मर्ने अवस्थामा सस्तोमा पाएर ल्याइएको हो कि ? अरु कारणहरु छन् ? मालढुंगा नाकामा अनुमति विपरितका कुखुरा कसरी छिरे र छिराइयो ? यि बिषय गम्भीर खोज र अनुसन्धानको बिषय बन्नुपर्छ ।

कोरोना संकट र तिव्र जोखिमको अवधिमा व्यवसायीबाट यस्तो कार्य हुनु सामान्य बिषय होइन । यो नागरिकको स्वास्थ्य माथिको गम्भीर खेलवाड हो । यदी गौडाकोटका स्थानीयले सचेततापूर्वक थाहा नपाएको, प्रहरी पत्रकारलाई खबर नगरेको र बजारमा बिक्री बितरण गरेको भए त्यसको असर कति भयानक हुन्थ्यो होला ? यो पक्ष सोचनीय छ । यो घटनाले व्यवसायीको नियत माथि पनि गम्भीर प्रश्न खडा गरेको छ भने कुखुरा व्यवसायमा नै एक किसिमले शंका पैदा गरेको छ । अहिलेको यस घटनामा जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र बागलुङ नगरपालिकाले कुखुरा नष्ट गरेर मात्र यसलाई अन्त्य गर्नुहुन्न । जसले यस्तो कठिन संकटमा अनुमति बिना नागरिको स्वास्थ्यमा गम्भीर खेलवाड गरेका छन्, उनीहरु माथि कारवाही हुनुपर्छ । यो एउटा नजिरको रुपमा स्थापित होस् कि भोलीका दिनमा अरु कुनै व्यवसायीले यस्तो दुश्प्रयास नगरुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *