कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउ

सम्पादकीय
कोरोना भाइरसको महामारी शुरु भएको पाँच महिना पुरा हुँदा बागलुङ जिल्लामा पनि समुदाय स्तरमा कोरोना संक्रमण पुगेको छ । तीन तहको सरकार र नागरिकको स्वयम् सचेतताका बाबजुद यसै साता बागलुङ नगरपालिका र बडिगाड गाउँपालिकामा कोरोना फैलिएको पुष्टि भएको छ । बानपा २ अस्पताल रोडकी होटल व्यवसायी र बानपा ३ हाँडेपाखाकी कुखुरा व्यवसायी तथा बडिगाड गाउँपालिका वडा नम्बर ६ का अध्यक्षमा संक्रमण पुष्टि भए पछि राहत महशुस गर्न लागेको बागलुङमा फेरी भयावहको अवस्था सिर्जना भएको छ । यति मात्रै होइन, संक्रमितहरुको सम्पर्कमा आएका बागलुङ नगरपालिकाका थप ६ जना र बडिगाड गाउँपालिकाका वडा अध्यक्षबाट अर्का वडा अध्यक्षमा समेत कोरोना फैलिए पछि यसले अवस्था गम्भीर बन्ने संकेत गरेको छ ।

हुन त बागलुङले जिल्लाको पहिलो र दोस्रो तथा नेपालको पाँचौ र छैठौ संक्रमित पुष्टि हुँदा निकै भयग्रस्त अवस्था बेहोेरेको नमिठो अनुभव छ । संक्रमितलाई उपचार गर्न अस्पताल तयार हुने, बिरामी ल्याउन खोज्दा एम्बुलेन्स चालक फरार हुने, छरछिमेकी भयभित बनेर तथानाम गाली र घृणा गर्ने यावत अवस्था देखे भोगिएकै हो । नयाँ रोग जसको औषधि, उपचार, खोप केही नभएकाले यसको संक्रमण जोखिमले अझ बढी मानिसहरुलाई आततायी बनाएको छ । चीन, अमेरिका, स्पेन, इटाली, भारत जस्ता देशका तुलनामा नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर कम देखिए पनि पछिल्लो समय दैनिक बढ्दो मृत्युको संख्याले झस्काएको छ । यही अनुक्रममा बागलुङमा लामो समय नियन्त्रित अवस्थामा रहेको कोरोना संक्रमण अहिले समुदायमा प्रवेश गरेको छ । यो संख्या एक दर्जन पुग्न थालिसकेको छ । कन्ट्याक्ट ट्रेसिङमा ठुलो संख्या देखिएको छ । जसबाट अझ ठुलो संख्यामा कोरोना संक्रमणको जोखिम बढेको छ ।

अहिले जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिदो छ । कोरोना एकबाट नै दर्जनौलाई फैलिने जोखिम हुन्छ । यसको उदाहरण बागलुङ नगर क्षेत्रको एक महिलाबाट अरु थप ६ जनालाई कोरोना संक्रमण हुनु हो । अझ यो संख्या बढ्न सक्ने स्वास्थ्यकर्मी बताउँछन् । उता, बडिगाडमा पनि जनप्रतिनिधि संक्रमित भए पछि वडा अध्यक्षबाट अर्का वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । यसबीचमा उनीहरु ठुलो संख्यामा सेवाग्राही प्रत्यक्ष सम्पर्कमा आएका छन् । यसले समुदाय स्तरको जोखिमको सम्भावना अझ बढी देखिन्छ । त्यसैले जतिसक्दो समुदाय स्तरको परीक्षणको दायरा बढाउ । यसमा कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउ । अझै पनि कोरोना परीक्षणका लागि सम्पर्कमा आउने र स्वाब दिन हिच्किचाहट प्रवृत्ति व्याप्त देखिन्छ । यदी यसरी सम्भावित जोखिमयुक्त समूहले कन्ट्याक्ट ट्रेसिङमा इमान्दारीपूर्वक नसघाउने हो भने समाजमा कोरोना भुसको आगो जस्तो रुपमा फैलिन सक्छ । अतः भयावहको अवस्था आउन नदिन हामी सबै जिम्मेवार बनौ । यसले कोरोना रोकथाम,उपचार र नियन्त्रणमा भुमिका खेल्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *