राहतमा एकद्धार प्रणाली राम्रो तर पीडित भोकै नहुन्

सम्पादकीय
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा पहिरो सँगै आएको बाढीले अकल्पनीय क्षति बेहोर्नु प¥याएको छ । बाढीमा परि १९ जनाको दुखद मृत्यु भएको छ भने १९ जना अझै बेपत्ता छन् । ८० घर पुरै बगाएको छ ३० भन्दा बढी घरमा आंशिक क्षति पुगेको छ । बर्षायाम भएकाले बाढी प्रभावितहरु अहिले ठुलो सकसमा छन् । र फेरि अर्को बाढी पहिरोको विपत्ति आउँछ कि भन्ने भय पनि उस्तै छ । अर्को तर्फ बाढी पीडितहरु अहिले कोही आफन्तकहाँ आश्रयमा छन् भने कोही अझै पालमा छन् । बिद्युतको धेरै पावर हाउस बगाए पछि गाउँ पुरै अन्धकारमय बनेको छ । खानेपानीको मुहान, पाइप र धारा पनि बगाएको छ । अहिले खानेपानीका लागि उपल्लो गाउँ लगायतका स्थानमा पुग्नुपर्ने बाध्यता छ । दैनिक जिविकाका लागि तत्काल बाढी पीडित परिवारलाई ढोरपाटन नगरपालिकाले प्रारम्भिक राहत बितरण गरेको छ । केही संस्था, पार्टी र नेताले उक्त स्थानमा पुगेर नगद समेत प्रदान गरेका छन् ।

ढोरपाटन बाढीले अहिले देश बिदेशको ध्यान तानेको छ । बाढी पीडित परिवारको राहतका लागि अहिले सर्वत्र अभियान चलिरहेको छ । यस्ता बाढी, पहिरो जस्ता विपद्मा राहत अभियानहरु स्वतः चल्छ, तर अभियानमा जस लिने होडबाजी व्यापक देखिन्छ । तस्बीर खिचेर फेसबुकमा पोस्ट गर्ने मोह र सस्तो लोकप्रियताको आशत्तिले राहत संकलन र बितरण पनि विकृत बन्ने गरेको छ । अर्को तर्फ यसको पारदर्शिताका बारेमा पनि प्रश्न र संशय देखिने गरेको छ । एकद्धार प्रणाली नहुँदा राहत बितरणमा पनि कुनै जात, पार्टी, क्षेत्र, संस्था या आफ्ना निकटका कसैले पटक पटक ठुलो राहत प्राप्त गर्ने तर कसैले केही नपाउने अवस्था बिद्यमान देखिन्छ । त्यसैले पनि अहिलेको विपद्मा ढोरपाटन नगरपालिकाकाले राहत संकलन र बितरणमा एकद्धार प्रणाली अपनाउने निर्णय सकरात्मक छ । यसले हाम्रा सरकार या राज्यलाई थप बलियो बनाउन मद्धत पुग्छ । तर, चुस्त व्यवस्थापन र बितरण नभए यो निर्णय प्रत्युत्पादक पनि बन्न सक्छ । तिव्र आलोचनाको बिषय पनि बन्न सक्छ ।

अप्ठ्यारा दुःख विपद्मा साथ सहयोग गर्ने नेपाली समाजको सँस्कार हो । यो अहिले देश भित्र मात्र होइन, परदेश पुगेका नेपालीहरुले ढोरपाटनका बाढी प्रभावित परिवारका लागि चलाइरहेको अभियानले पनि यसलाई प्रष्ट गर्छ । अहिले विदेशमा मात्रै १ करोड बढी संकलन भइसकेको छ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङमा अहिले राहतको चाङ छ । बिभिन्न सामाजिक संघ, संस्था, व्यक्तिहरुले सामाजिक उत्तरदायित्व र परोपकारी सोँचले उत्साहप्रद राहत सहयोग गरिरहेका छन् । यद्यपी सडक अवरुद्ध भएका कारण बाढीग्रस्त क्षेत्रमा प्रयाप्त राहत पुग्न सकेको छैन । पहिले कोरोना संकट र सकसका बीचमा वडा कार्यालयले खरिद गरेर राखेका राहत सामग्रीले पनि बाढी पीडितलाई तत्कालका लागि राहत दिन सहज भएको देखिएको छ । सडक खुलाउने प्रयास पनि जारी छ । अब जतिसक्दो छिटो पीडित परिवारलाई प्रयाप्त खाद्य सामग्री प्रदान गर्नेमा ध्यान केन्द्रित गर्नुपर्छ । बुर्तिबाङमा राहत थन्किने र पीडित परिवार भोकै रहने अवस्था ढोरपाटन नगरपालिकाले आउन नदियोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *