युवाको अनुसरणीय सत्प्रयास

सम्पादकीय
गाउँघरमा पछिल्लो समय पशुपालनमा धेरै कमी आइसकेको छ । कति ठाउँमा गाई भैसी देख्न समेत मुश्किल भएको छ । मानिसहरु सुखसयल र बिलासितामा रमाउन थालेका छन् । जसका लागि चाहे युरोप अमेरिका होस् या अरु खाडी मुलुकहरुमा होस् । परदेशिएका अधिकांश परिवार शहर बजारमा आएर बस्ने प्रवृत्ति बढ्दो छ । अहिले गाउँघर बुढापाकाहरुको जस्तो भएको छ । तन्नेरी, तरुणीहरु पनि देख्नै कठिन अवस्था छ । यसले के देखाउँछ भने पछिल्लो पुस्ता गाउँमा आफ्ना पुर्खज, अग्रज र अभिभावकहरुले गर्दै आएको कृषि, पशुपालन जस्ता कर्मबाट बिमुख बनेर भौतिक विलासिता तर्फ उन्मुख छन् ।

समाजमा भौतिक सुख सयल र बिलासिताको पछि ठुलो जमात लागिरहे पनि कतिपय युवाहरु भने अझै पनि गाउँ ठाउँमा आफु आइडल बनेर केही नवीन कर्म गर्ने प्रयास गरेका छन् । बागलुङ नगरपालिका–१३ पैयुपाटाका २४ वर्षिय युवा रमेश शर्मा लामिछानले भैसीका पाडापाडी पाल्न थालेका छन् । जब कि हाम्रा गाउँ घरमा अहिले भैसी ब्याउँदा साथ पाडापाडी कटाउने चलन बढेको छ । यसमा दुई कारण छन् । एक भैसी व्याएँ पछि दूध थोरै दिने र अर्को भैसीको संख्या बढ्दै गए पाल्न धेरै दुःख झञ्झट हुने सोच र भयले मानिसहरु भैसी ब्याउँन साथ पाडापाडी काटिखानेलाई दिने गरिन्छ । जसबाट स्थानीय जातका भैसी अहिले निकै कम संख्यामा सिमित भएको छ । यद्यपी भैसी पालन कम हुँदै गए पनि पाल्नेहरुले भने निकै महंगोमा किनबेच गर्ने गरेका छन् ।

मानिसहरु पैसाको मोहमा परदेश बाहेक अरु विकल्प केही नभएको जस्तो गर्ने परिपाटी विकास भइरहेका बेला रमेशले गरेको सत्प्रयास नेपाली समाजका लागि उदाहरणीय र साहसिक छ । यदि हामीले समाज र देश परिवर्तन भएको देख्न चाहन्छौ भने यस्ता सत्प्रयास गर्ने युवाहरुलाई सबै हिसावले प्रोत्साहित गर्न जरुरी छ । बलेवाका युवाको पाडापाडी पालनको योजना र सोचले उनी र उनको परिवारलाई आत्मनिर्भर र व्यावसायिक बन्न त भुमिका खेल्नेनै छ । यसका अतिरिक्त हाम्रो समाजमा पशुपालनबाट बिमुख हुँदै गरेको अवस्थालाई रोक्न पनि महत्वपूर्ण भुमिका खेल्नेछ । भैसी ब्याउँदा साथ कलिलैमा काटिखाने भयानक प्रचलनमा पनि सुधार आउनेछ । अर्को अझ महत्वपूर्ण कुरा उनी अबम मास्टर डिग्री गर्दैछन् । यसकारण पढे लेखेकाले कृषि पशुपालन गर्नु हुँदैन भन्ने परम्परागत मान्यता बिरुद्धमा पनि उनको कर्मले महत्वपूर्ण सन्देश र पाथ सिकाउनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *