खुल्ला हुँदाको खुसी र जोखिम

सम्पादकीय
कोरोना संक्रमण नेपालमा प्रवेश गरे सँगै भयावहको अवस्था पैदा भयो । शुरुवाति समय भएर पनि होला, मानिसहरु निकै भयभित अवस्थामा देखिन्थे । बागलुङ जिल्लामा नेपालका पाचौ र छैठौं संक्रमित देखिदा सिंगो जिल्ला र पुरै धौलागिरी आतंकित थियो । आतंकको फैलावट यति सम्म भयो कि अरु कुनै बाहिरी जिल्लामा जाँदा आउँदा या बस्दा पनि बागलुङे भएकै हिसावले उपेक्षा खेप्नुपर्ने परिस्थिति बन्यो । मानिसहरु सचेत हुने बिषय त सकरात्मक बिषय हो तर आवश्यक भन्दा बढी आंतकित र भयभित बन्ने अवस्था पार गर्दै आजको दिन सम्म आइपुगेका हौ । यस क्रममा कोरोनाको फोबिया धेरै हद सम्म घटेको छ । लामो लकडाउन र त्यसपछिको निषेधाज्ञा पनि पार गर्दै अब खुकुलो नीतिमा नियमित दैनिकीमा फर्किने तयारी छ ।

अहिलेसम्मको लामो सकस र सचेतताका बीच पनि संक्रमण दर भने बढिरहेकै छ । खासगरि लकडाउन खुलाइए पछि कोरोना भाइरसबाट संक्रमित हुने दर उल्लेख्य बढ्यो । समुदाय स्तरमा पनि डरलाग्दो हिसावले फैलियो । मृत्यु हुने संख्या पनि दैनिक १०,१२ जना पुगिरहेको छ । यही बीचमा काठमाण्डौ उपत्यका सहित देशभरका अधिक स्थानमा कोरोनाको प्यारामिटर बढ्दो क्रममा छ । बुधवार एकै दिन १५ सय ३९ जना कोरोना संक्रमित भएको खबर आएको छ । संक्रमण दर बढ्दै गए पनि असोज १ अर्थात बिहिवारदेखि लामो समयदेखि रोक लगाइएको लामो दुरीको सार्वजनिक यातायात पनि सञ्चालनका लागि खुल्ला गरिएको छ । विमानहरु पनि खुल्ला गर्ने खुकुलो नीति लिइएको छ । अब विस्तारै अरु पनि खुल्ला गरेर पुरानै दैनिकी र नियमिततामा फर्काउने निष्कर्षमा सरकार पुगेको देखिन्छ । किनभने यही अवस्था बिद्यमान रहे भोलीका दिनमा रोगले भन्दा भोकले मर्ने अवस्था आउन थालेको छ ।

कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी समस्या त हुँदै हो । यसले सर्वत्र आतंक र भयावहको अवस्था सिर्जना गरेकै छ । तर, के अब हामी सधैभर कोरोना फोबियामै बस्ने हो त ? कदापी होइन । अब भयभित होइन, संयमित र सुरक्षित बनेर नियमित दैनिकीमा फर्किनुको कुनै विकल्प छैन । कोरोनाबाट जोगिए पनि रोगले नभई भोकले मर्ने अवस्था र जोखिम सिर्जना भएको छ । कोरोना संकटले सबै क्षेत्र र व्यक्तिलाई भयग्रस्त बनाएकै छ । यसमा खासगरि दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक मजदुरहरु बढि प्रभावित छन् । अब सबै खुकुलो र खुल्ला हुँदै जाँदा कोरोना संक्रमण दर अब अझ बढ्नेछ । यसमा नेपालीहरुको महान पर्व दशै तिहार, छठ जस्ता पर्वहरु क्रमशः आउँदैछ । यस कारण पनि अब कोरोना भयावहको जोखिम अझ बढ्ने निश्चित छ । तसर्थ, हामै सबै सचेत बनौ, सुरक्षित बनौ अनि जिम्मेवार बनौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *