लेखक बानियाँलाई बधाई

सम्पादकीय
मदन पुरस्कार नेपाली कला साहित्यमा सर्वाधिक राशी मात्र होइन, अरु सबै हिसावले महत्वपूर्ण मानिन्छ । मदन पुरस्कार बिभिन्न नाममा स्थापित पुरस्कार भन्दा पृथक हिसावले ‘ब्राण्ड’ बनेको छ । यो पुरस्कार पाउनु कृति र सर्जक लेखकका लागि पनि ठुलो प्रतिष्ठा र प्राप्तीको बिषय बन्ने गरेको छ । हरेकजसो पुरस्कारका सन्दर्भमा बिभिन्न कोणबाट आलोचना हुने गरेको छ । मदन पुरस्कार पनि यस्तो आलोचनाबाट मुक्त छैन । तर, यो पुरस्कारको ओझ र गरिमा अझै कायम छ । यसको छनोट बिधि र मापदण्ड जुन तयार गरेर पुस्तक छनोट गरिन्छ । त्यसले पनि यो पुरस्कार प्रति प्रश्न, आलोचना र संशय तुलनात्मक रुपमा कम देखिन्छ ।

यस वर्षको मदन पुरस्कार पनि आइतवार घोषणा गरिएको छ । २०७६ सालको मदन पुरस्कार कोरोना संकटका बीच केही ढिला घोषणा गरियो । तर, यसपटकको मदन पुरस्कार घोषणाले धौलागिरीवासीलाई थप उत्साहित तुल्यायो । म्याग्दीका लेखक तथा पूर्व सांसद चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यासले मदन पुरस्कार जित्न सफल रह्यो । मुस्ताङको थाकखोलामा जन्मिएका चर्चित कवि भूपी शेरचनले स्थापित गरेको मानकले धौलागिरी अझै परिचित छ । यसमा अर्को मानक थप्ने काम गरेका छन् म्याग्दीका चन्द्रप्रकाश बानियाँ र अहिले प्राप्त मदन पुरस्कारले । हुन त मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि ७ पुस्तक सूची सार्वजनिक गरेको थियो । जसमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रब्युह, भुवन ढुंगानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघन्टु, चन्द्रप्रकाश बानियाँको महारानी, ललति विष्टको मोहपथ र शारदा शर्माको यात्रामा थिए । जसमा बानियाँको कृति उत्कृष्ट ठहरियो ।

हुन त लेखकले लेख्ने कृति नै मुख्य कुरा हो । चाहे त्यसले कुनै पुरस्कार प्राप्त गरोस् या नगरोस् । कुनै पुरस्कार नपाएका कृति पनि नेपाली साहित्यमा जिवन्त, पठनीय र संग्रहणीय छन् । कति पुरस्कार पाएका कृति पनि निकै झुर भएको आलोचना पनि भइरहेकै छ । फेरि हामीकहाँ पुरस्कारको व्यथिति पनि पछिल्लो समय अझ बढेको प्रतित हुन्छ । जसले गर्दा पुरस्कारले असली मान्छे या कृति खोज्छ कि मान्छेले पुरस्कार खोज्छ भन्नेमा द्धिविधा र प्रश्न उब्जिरहेको छ । यसर्थ, पुरस्कार दोस्रो पक्ष हो । तर, पुरस्कारले कतिपय चर्चामा नआएर ओझेलमा रहेका कृतिहरुलाई थप पाठकका माझमा पु¥याएर कृतिको आयामलाई फराकिलो दायरामा लैजान पनि भुमिका खेल्ने गरेको छ । अहिले म्याग्दीका बानियाँको महारानी उपन्यास पनि ऐतिहासिक बिषयमा लेखिएको पठनीय र संग्रहणीय कृति थियो । यो अहिले प्रदान गर्ने घोषणा गरिएको मदन पुरस्कारले पनि थप पुष्टि गरेको छ । नेपाली साहित्यमा राष्ट्रिय स्तरमा चर्चा र महत्व राख्ने धौलागिरीका लेखक र कृतिको उपस्थिति कमी आभाष भइरहेको समयमा यो गौरवको कुरा हो । यसबाट धौलागिरीका नयाँ पुस्ताका सर्जकहरुलाई पनि थप प्रेरणा र उत्साह मिल्नेछ । अहिलेलाई मदन पुरस्कारका लागि लेखक बानियाँलाई हार्दिक बधाई !

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *