कोरोनालाई सामान्य ठान्ने भूल नगरौ

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९)को संक्रमण र जोखिमको भयावहले विश्व समुदाय पछिल्लो ६ महिना यता तरंगित छ । आ–आफ्नै गति, लय र लक्ष्य चुम्ने गरी यात्रामा रहेका सबै देश र त्यहाँ रहेका नागरिकका पाइला अचानक रोकिएका छन्, धर्मराएका छन्, सुस्ताएका छन् । विश्व अर्थतन्त्र अनिश्चयको भुमरीमा परेको छ । कोरोना भाइरसले देशको अर्थतन्त्र अब के कस्तो अवस्थामा पुग्छ ? त्यो कसैले पनि भन्न सक्ने अवस्था छैन । अमेरिका जस्तो विकसित देश होस् या चीन जस्तो शक्तिशाली देश होस् । सबै अर्थतन्त्रको भविष्यलाई लिएर चिन्तित छन् ।

कोरोना भाइरस संक्रमणको दर दैनिक उस्तै गतिमा बढ्दो छ । तर, देश लामो समयको लकडाउन र निषेधाज्ञाको सकस पछि अब विस्तारै खुल्ला हुने चरणमा छ । अहिले सार्वजनिक यातायात, हवाइ उडान, होटल व्यवसाय सबै खुल्ला हुन थालेका छन् । सार्वजनिक सभा, समारोह लगायतका सामाजिक साँस्कृतिक गतिविधि, भिडभाडमा भने अझै रोक लगाइएको छ । हाल सम्म ९ लाख ६० हजार बढीको कोरोनाका कारण ज्यान गइसकेको छ । ३ करोड ३२ लाख बढी नागरिक विश्वभर संक्रमित भएका छन् । बागलुङमा मात्रै ३ सय ४८ जना कोरोना संक्रमति भइसकेका छन् । जसमा २ सय ९५ जना निको भइसकेका छन् भने ३८ जना बिभिन्न स्थानका आइसोलेसनमा उपचार छन् । एक जना युवकको भने मृत्यु भएको छ । तर, अहिले कोरोना संक्रमण र जोखिमका बीच देशका सबै क्षेत्र र गतिविधि क्रमशः खुल्ला गर्न थालिएको छ । यसरी खुल्ला गर्ने क्रममा सरकारले अझै पनि देशमा कोरोना भयावहको अवस्था आउन सक्ने तर्फ संकेत गर्दै कोरोना रोकथाम तथा नियन्त्रणका लागि न्युनतम स्वास्थ्य सुरक्षा मापदण्ड तयार गरेको छ । भिडभाड नगर्ने, भौतिक दुरी कायम गर्ने, माक्सको अनिवार्य प्रयोग, सेनिटाइजरको प्रयोग, साबुन पानीले हात धुने बिषयमा संवेदनशिल बन्नुपर्नेछ ।

पहिले जतिबेला लकडाउन हट्यो हटाइयो, त्यतिबेला धेरै नागरिकले कोरोना नै हटेको जस्तो गरी मानिसहरु नियमित दैनिकीमा फर्किए । कोरोना भाइरस प्रतिको बेवास्ता र लापरवाही त्यस बीचमा ह्वात्तै बढ्यो । जसका कारणले कोरोना संक्रमण समुदाय स्तर सम्म पुग्यो र अहिले पनि संक्रमण दर बढिरहेको छ । र पनि मानिसहरु बजार, पसल, यातायात, हवाइ उडान खुल्ला हुन थाले सँगै कोरोना केही होइन, यो त केबल नागरिकलाई आतंकित बनाउने अस्त्र मात्र रहेछ, यो हाउगुजी मात्र बनाउने काम सरकारले गरेको भनेर हल्का टीका टिप्पणी पनि हुन थालेको छ । यसमा हामी सबैले बुझ्नुपर्छ की आजको दिन सम्म कोरोना भाइरसको भयावह या स्पेन, इटाली जस्तो कहाली लाग्दो अवस्था भोग्न नपरेको कारण नागरिक अनुशासन, लकडाउन, निषेधाज्ञा र स्वास्थ्यकर्मीको अथक प्रयास, मेहेनत हुन् । यसलाई हामीले कदापी मजाकको बिषय बनाउन हुँदैन । कोरोनाका कारण विश्व समुदाय आजित छ भने हामीले केही होइन भनेर सतही रुपमा लिँदा भोली ज्यानै जाने अवस्था आउन सक्छ । तसर्थ, अब नियमित दैनिकी र कर्ममा फर्किदा संयमित बनौ, तर भयभित बन्न जरुरी छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *