वैकल्पिक शिक्षाको अभ्यास र सतर्कता

सम्पादकीय
कोरोना भाइरस (कोभिड १९) ले विश्व समुदाय आक्रान्त छ । जुनसुकै भुगोलमा रहेका मानिसहरु यसको संक्रमण र थप सम्भावित जोखिमको भयावहबाट ग्रस्त छन् । सबैजसो क्षेत्र प्रभावित छन् । र अबको भविष्य के हुने भन्नेमा पनि थुप्रै अन्यौल र द्धिविधा छ । कोरोनाका कारण सबै भन्दा बढी असर परेको क्षेत्र मध्ये शैक्षिक क्षेत्र पनि एक हो । नेपालमा बिना कुनै व्यवधान या कोरोना आतंक र भयावहको अवस्था नभएको भए शैक्षिक सत्र शुरु भएको अहिले ६ महिना पुग्थ्यो । र अर्धवार्षिक परीक्षा चालु हुने अवस्था हुन्थ्यो । तर, कोरोनाका कारण परिस्थिति प्रतिकुल रह्यो । र हाल सम्म पनि विद्यालय, कलेजका पठन पाठन के कसरी सञ्चालन गर्ने भन्नेमा अझै पनि अनगिन्ती समस्या र चूनौतीहरु कायमै छन् ।

अहिले बागलुङमा वैकल्पिक शिक्षाको अभ्यासका बारेमा अभ्यास र छलफल शुरु भएको छ । नेपाल सरकारले तय गरेको बिभिन्न ६ वटा वैकल्पिक माध्यम र विकल्प प्रयोग गरेर पठन पाठन सञ्चालनका लागि मार्गप्रशस्त गरेको छ । यस सँगै जिल्लाको बरेङ, गलकोट लगायतका पालिकामा वैकल्पिक शिक्षा सुरु गरिसकिएको छ भने अन्य पालिकामा पनि स्थानीय सरकारले वैकल्पिक कक्षा सञ्चालनका लागि पहल,समन्वय र मार्ग प्रशस्त गर्न थालिसकेको छ । कोरोना भयावह सिर्जना भएको ६ महिना पुरा भइसकेको छ । र यो कहिले सम्म रहन्छ भन्ने पनि एकिन छैन । कोरोनाको आजसम्मको कहर हेर्दा अब यो सँग सधै भयग्रस्त बनेर भाग्ने की ? कोरोना प्रति सचेत र सुरक्षित हुँदै दैनिक कर्ममा समर्पित भएर यसको नयाँ ढंगले सामना गर्ने ? अब गम्भीरतापूर्वक सोच्नुपर्ने, छलफल मन्थन गरेर थप योजना तय गर्नुपर्ने भएको छ । विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमण र भयावहको जोखिम अझै दुई वर्षसम्म रहन सक्ने उल्लेख गरेको छ । यसर्थ पनि अब ठप्प बनाइएको सबै क्षेत्र आवश्यक सुरक्षा सचेतता अपनाउँदै सुचारु गर्नु आवश्यक देखिन्छ ।

शैक्षिक सत्रको आधा समय या वर्ष गइसक्यो । अब यो आधा वर्षको कक्षा र शैक्षिक सत्रको आधा हिस्सा कसरी पुरा गर्ने हो ? यसको जवाफ तत्कालै सरकार सँग पनि देखिदैन । यद्यपी, यस वर्षको शैक्षिक सत्र खेर जान नदिई विद्यार्थीलाई अपेक्षित सिकाइ उपलब्धि हासिल गराउने बिषयमा अहिले जे मोडेल या विकल्प ल्याइएको छ । ढिलै भए पनि अब यसका बारेमा उपर्युक्त विकल्प र सुरक्षा सचेतता सहित अभ्यासमा जानुको विकल्प छैन । यसबीचमा अनलाइन भर्चुअल जुम लगायतका माध्यमबाट पनि पठन पाठनको अभ्यास गरिए । तर, हाम्रा विभिन्न अवस्था र समस्याका कारण प्रभावकारी देखिएन । फेरी अनलाइन कक्षा वैकल्पिक सिकाई माध्यम हो, तर दिगो सिकाई बिधि नभएको शिक्षाविद्हरु बताउँछन् । यसर्थ, अब दीगो सिकाई हुने वैकल्पिक उपायको अभ्यासमा स्थानीय सरकार र विद्यालयहरु केन्द्रित हुन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *