घरेलु मदिरा नष्टले जन्माएको बहस

सम्पादकिय
मोफसलका जिल्ला र गाउँघरमा मदिरा अर्थात जाँडरक्सी उत्पादन, प्रयोग तथा बिक्री बितरणको इतिहास लामो छ । यो पुर्खजदेखी चल्दै आएको प्रचलनको रुपमा विकसित छ । आदीबासी जनजाति समुदाय भित्र त मदिरा पुजाअर्चनामा समेत अनिवार्य मानिन्छ । यद्यपी, अन्य समुदाय र समाजमा यसको प्रयोग बज्रित छ । बागलुङमा अहिले त्यही घरेलु मदिरा बरामद र नष्ट गर्ने कार्यले बहस पैदा गरेको छ । उसो त घरेलु मदिरा बरामद, नष्ट गर्ने अभियान यो नयाँ होइन । विगत लामो समयदेखी चल्दै आएको छ । बिशेषतः जिल्लामा नयाँ प्रहरी प्रमुखको आगमन हुँदा साथ यस्ता अभियानले केही समय चर्चा हुन्छ । तर, दुई चार महिना पछिबाट अभियान तदारुकता आफै सुस्ताउँछ ।

नेपालको कानुन अनुसार घरेलु मदिरा अवैध मानिन्छ । तर, अहिले जिल्ला प्रहरी कार्यालय बागलुङले जे जसरी बरामद गरेर नष्ट गर्दैछ । यसको नागरिक स्तरबाट आलोचना भइरहेको छ । विदेशी मदिरालाई प्रर्वद्धन गर्ने, स्थानीय स्तरमा तयार गरिएको मदिरा नष्ट गर्ने कार्य अहिलेको समयमा उपर्युक्त नभएको तर्कमा अधिक समहत देखिन्छन् । उनीहरु अब अहिले सम्म अवैध भनिएको घरेलु मदिरालाई बन्देज होइन, ब्राण्ड बनाउनुपर्नेमा जोड दिइरहेका छन् । सर्वोच्च अदालतले यसका बिषयमा केही आदेश सहित उत्पादन र प्रयोगमा केही सिमितता सहित प्रष्ट गरेको छ । सर्वोच्च अदालतको यसै साता सार्वजनिक फैसलाको पूर्णपाठमा सरकारबाट अनुमतिमति पत्र नलिइकन वर्षमा ६ पटकसम्म पाँच लिटरसम्म रक्सी र १० लिटरसम्म जाँड बनाउन पाइने कानुनी व्यवस्था छ । यसरी व्यक्तिगत प्रयोजनको लागि उत्पादन गरेको रक्सीबारे अन्तशूल्क अधिकारीलाई सूचना दिनुपर्ने पनि कानुनमा उल्लेख छ । यो व्यवस्थाको परिपालनाका लागि प्रभावकारी अनुगमनको व्यवस्था गरी सूचना नदिइ रक्सी वा जाँड उत्पादन कार्यलाई निरूत्साहित गर्नु,’ सर्वोच्चको फैसलामा भनिएको छ ।

हुन त मदिरा स्वास्थ्यका हिसावले प्रयोग गर्नु हानिकारक मानिन्छ । यसमा मजा, चप्पलहरु हालेर गुणस्तरहिन रक्सी उत्पादन गर्ने गरेको घटना र समाचार पनि बेला बेलामा आइरहेकै छन् । यस्तो रक्सीले मानिसहरूको जिउज्यान, स्वास्थ्य, सम्पत्ती र सम्बन्धहरुमा पनि गम्भीर असर गरिरहेको छ । यसर्थ यसको प्रयोगमा पनि सचेतता अपाउन जरुरी छ नै । तर, विदेशी कम्पनीका बिभिन्न नामका रक्सी सर्वत्र भित्राउने, स्थानीय उत्पादनलाई बन्देज लगाउने बिषय कुनै पनि हिसावले बैज्ञानिक छैन । विदेशी कम्पनीका महंगा मदिरा सम्पन्न व्यक्तिहरुका लागि निर्वाध बिक्री बितरण हुने तर धेरै हद सम्म गरिब विपन्न समुदायले प्रयोग गर्ने घरेलु उत्पादनमा बन्देज लगाउने बिषयमा पुर्नविचार र बहसको जरुरी छ । अहिले प्रहरीले बरामद गरेर नष्ट गरेसँगै उठेको आलोचना पनि यसकै एउटा रुप हो । अब स्थानीय मदिरा उत्पादनलाई बन्देज होइन, ब्राण्ड बनाएर अघि बढ्नुपर्छ । यसका लागि मदिराको गुणस्तर कायम गर्ने, करको दायरामा ल्याउने गरी खुल्ला गर्न नेपाल सरकार, प्रदेश र स्थानीय सरकारले भुमिका खेल्नुपर्छ । यसमा नागरिक स्तरबाट पनि यथोचित पहल र दबाब आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *