आसन्न दशैं र कोरोना सकस

सम्पादकीय
नेपालीहरुको महान पर्व बडादशैं सन्निकट छ । अघिल्ला वर्ष यतिबेला दशैंको रौनकताा सुरु भइसक्थ्यो । तर, यस पटक एकातर्फ मलमासले दशैं तिहार जस्ता महत्वपूर्ण पर्व पछि धकेलिदिएको छ । अर्को तर्फ कोरोना भाइरस (कोभिड १९) का कारण दशैं तिहार, छठ लगायतका पर्व खल्लो हुने निश्चित छ । निरश र खल्लो मात्रै होइन, कोरोना संक्रमणको जोखिम र सन्त्रासमा जानेवाला छ । किनभने पछिल्ला दिनमा देशभर दैनिक कोरोना संक्रमण बढ्दो क्रममा छ । चाडपर्वको आगमन सँगै भारत सहित बाह्य देशहरुबाट पनि नेपालीहरु नेपाल भित्रिने क्रम जारी छ । यो सँगै अब चाडपर्वको मिति नजिकिदै गर्दा देश भित्रैका राजधानी काठमाण्डौं लगायतका शहर बजारमा पेशा, व्यवसाय, रोजगारीको शिलशिलामा भएकाहरु पनि पुख्यौली गाउँ घर फर्किने योजना पनि बन्दैछ ।

तर, कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै सरकारले यो वर्ष आफू रहेकै ठाउँमा दशैँ मनाउन आग्रह गरेको छ । दशैँका बेला गाउँघर तथा आफ्नो पुख्यौली थलोमा दशैँ मनाउन हजारौ मानिस राजधानी काठमाण्डौबाट बाहिरिने गर्दछन् । विदेशबाट आउने संख्या पनि ठुलो छ । कोरोना संक्रमण बढेर अवस्था डरलाग्दो हुन थालेको छ । संघीय राजधानी काठमाण्डौंमा मात्रै दैनिक १ हजार पाँच सय बढीको संख्यामा कोरोना संक्रमित भइरहेका छन् । यो संख्या त केबल संक्रमितको सम्पर्कमा भएका, समुदाय स्तरमा नमुना परीक्षण गरेका, फ्रन्टलाइनमा खटिएका, लक्षण देखिएकाहरुको मात्र परीक्षण गरिएको छ । समुदाय स्तरमा व्यापक परीक्षण गर्ने हो भने त्यो संख्या अझ कति भयानक अवस्थामा देखिएला ? सहजै अनुमान गर्न सकिन्छ ।

अहिले चैत्र ११ देखि जारी लामो लकडाउन खुले पछि मानिसहरुको भिड बढ्दो छ । बजारमा होस् या सवारी साधनहरुमा होस् । यात्रु, उपभोक्ता, ग्राहकहरुबीच कुनै सामाजिक भौतिक दुरी छैन । नागरिक लापरवाही र बेवास्ता बढ्दो छ । सरकार यस्तो अवस्थामा पनि संवेदनशिल देखिन्न । भलै प्रयास नगरेको होइन । तर, सरकारले जे जति गर्नुपथ्र्यो ? जे जति गर्न सकिन्थ्यो, त्यो नगर्दा आलोचना पनि भइरहेको छ । यही बिद्यमान अवस्थाका बीच हाम्रा बीचमा दशै नजिकै आएको छ । यो महिनाको अन्त्य सँगै दशैको सुरुवात हुँदैछ । अब चाडपर्व मान्ने गरेर यात्रा गर्नेको संख्या फेरी बढ्दो क्रममा छ । यसरी यात्रा गर्दा भाइरस फैलने सम्भावना अधिक हुनेछ नै । यसर्थ, सरकारले सके सम्म यो वर्ष यात्रा नगरि अहिले भएकै ठाउँमा दशैँ मनाउन आग्रह गर्न बाध्य भएको छ । स्वास्थ्य मापदण्डलाई कडाइ गर्दै जरिवाना समेत गर्ने प्रस्ताव गरेको छ । यो आग्रहका बीच पनि गाउँ घरमा चाडपर्व मनाउन जानेको संख्या उल्लेख्य रहनेछ । यो बेलामा यात्रादेखि गाउँ सम्मै कोरोना संक्रमण फैलिने जोखिम धेरै बढी हुनेछ । तसर्थ, यात्रा देखि गाउँ सम्मका सबै यस बेला अझ बढी सचेत र सुरक्षित हुन जरुरी देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *