हतास होइन, सचेत बनौ

सम्पादकीय
विश्व समुदाय कोरोनाले आक्रान्त छ । नेपालमा पनि एक लाख बढी कोरोना (कोभिड १९) संक्रमित पुगिसकेका छन् । यो संख्या दैनिक डरलाग्दो किसिमले बढीरहेको छ । नेपाली समुदायका महान पर्वहरु नजिकिँदो छ । कोरोना भयावहको पछिल्लो ६ महिनादेखि दुर र अझ बढी चिन्ता र भयका बीच बाचिरहेका मानिसहरु अहिले घर गाउँ आउने चटारोमा छन् । शहर बजारमा चाडपर्वको रौनकताले होला किनमेल गर्नेको चहल पहल पनि बढ्दो छ । र कोरोना आतंकका बाबजुद पनि शहर बजार, चोक गल्लीहरुमा पुरानै हिसावको भिड र लहर देखिन थालेको छ ।

कोरोना भयावहबाट सुरुवाति समयदेखिनै ग्रसित जिल्ला हो बागलुङ । नेपालको पाँचौ र छैठौ संक्रमित पुष्टि भए पछि ठुलो संशयका बीच दिनहरु व्यतित गरिए । यद्यपी, त्यो कठिन दिनहरुबाट आज सहजता तर्फ उन्मुख हुँदैछन् । भलै संक्रमित संख्या बढिरहे पनि कोरोनाबाट भयभित हुने क्रम दर धेरै कम भएको छ । यसमा कोरोना लागे पनि स्पेन, इटाली लगायतका देशमा जस्तो कहालीलाग्दो अवस्था र परिदृश्य हामीले भोग्नुपर्ने अवस्था होइन रहेछ भन्ने सायद बोध भएको छ । फेरी हाम्रो जिल्लाको तथ्य र तथ्यांकले पनि कोरोना संक्रमण हुँदैमा आंतकित हुन जरुरी नभएको संकेत गर्दछ । किनकी हाल सम्म जिल्लामा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका ७७ प्रतिशत बिरामी निको भइसकेका छन् । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार बिभिन्न देशबाट आएका र समुदाय स्तरमा समेत संक्रमण भएका ४ सय ७६ जना मध्ये ३ सय ६१ जनाले कोरोना जितेर घर फर्किएका छन् । जिल्लामा हाल सम्म भारत लगायतका देशबाट आएर क्वारेन्टिन बसेका, संक्रमितको सम्पर्कमा भएकाहरु सहित शंकास्पद ८ हजार ५ सय ५१ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा कोरोना संक्रमण भएर उपचार पश्चात संक्रमित मध्येको ७७ दशमलब ६ प्रतिशत बिरामी निको भएका छन् । संक्रमित मध्ये २२ दशमलब २ प्रतिशत नागरिक आइसोलेसनमै छन् । संक्रमित पुष्टि भएका एक युवकको मात्र ज्यान गएको छ ।

कोरोना संक्रमण पश्चात निको हुने दर उल्लेख्य हुनु राम्रो कुरा हो । तर, पछिल्ला केही दिन यता ठुलो संख्यामा कोरोना संक्रमण दर बढिरहेको छ । बागलुङमा मात्रै पनि एकै पटक ३० जना नेपाली सैनिक सहित ३६ जनालाई कोरोना संक्रमण भएको छ । चार दिन अघि मात्रै पनि २८ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । समुदाय स्तरमा पनि कोरोना संक्रमण दर बढ्दो क्रममै छ । दसैं सम्मुखमै रहेकाले अब बाह्य आवत जावत अझ बढ्नेछ । यसकारण अबको केही साता कोरोना संक्रमण दर अझ बढ्ने अनुमान छ । यस्तो बेलामा हामी हतास र भयभित होइन, सचेत र जिम्मेवार बनौ । कोरोना कुन बेला, कुन व्यक्तिबाट सर्छ भन्ने कुनै एकिन नभएकाले हर व्यक्तिलाई शंकाको घेरामा राखौ । निश्चित दुरी कायम गरौ । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्देश गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *