बाँझा खेतबारीको उपयोगमा ध्यान

सम्पादकीय
गाउँघरमा पछिल्लो समय एउटा भनाई चर्चित छ, अहिलेका युवा १० पास गरे हलो छोड्छन्,१२ पास गरे थलो छोड्छन् । यो भनाई चर्चित मात्र होइन, मननीय पनि उत्तिकै छ । यही भनाईले गाउँघरको पछिल्ला वर्षको दुर्दान्त कथा र दृश्यबारे प्रष्ट हुन्छ । आजकाल गाउँघरमा कक्षा १० अर्थात् एसइई उतिर्ण गरे गाउँ नै छोड्छन् । पढ्नका लागि गाउँमै प्लस टु र क्याम्पसहरु खुले पनि उच्च शिक्षा अध्ययनका लागि शहर बजार जान्छन् । पहिले उच्च शिक्षाका लागि शहर जाने बाध्यता थियो । अहिलेका युवाको रहर बनेको छ । अनि १२ पास गरे भने थप अध्ययन तर्फ होइन, विदेशको चक्कर सुरु हुन्छ । सके सम्म अमेरिका जाने सपना बुन्छन्, अमेरिका जान नसक्नेहरु अष्टेलिया, जापान, कोरिया लगायतका देशमा जाने साँेच र सपना व्याप्त देखिन्छ । देशमै पढेर केही गर्छु भन्ने अठोट भएका युवाहरु सायदै भेटिन्छन् ।

पछिल्लो केही वर्ष यता गाउँ घरमा युवाहरु निकै कम देखिन्छन् । तन्नेरीहरु मात्र कम होइन, छोरी बुहारीहरु पनि गाउँघरमा भेटिन्नन् । बरु बाँझो खेतबारीहरु प्रशस्त देखिन थालेका छन् । परदेशको रेमिट्यान्सले शहरको बिलासितामा रमाउनेहरुको संख्या उल्लेख्य छ । जसले गाउँ बसाइ सराईले पनि रित्तिदैछ भने शहरहरु भरिदैछन् । यद्यपी, यस्तो प्रवृत्तिका बीच गाउँघरमा केही युवाहरुले व्यावसायिक रुपमा कृषि, पशुपालन, बिभिन्न खेतिपाति गरेर उदाहरण बनेका पनि छन् । ठुलो साहस र संघर्षबाट परिवारसँगै बसेर वार्षिक लाखौ आम्दानी गर्न सफल भएका पनि छन् । यस्ता पहल, प्रयास र सत्कर्मलाई तीन तहको सरकार र सरोकारवालाले बिशेष रुपमा प्रोत्साहित गर्नुपर्छ । अहिले बाँझो रहेका जग्गाको उपयोगका बिषयमा समयमै ध्यान जानुपर्दछ । अहिले के कति कारणले जग्गाहरु बाँझो रहेका छन् ? यी जग्गाको उपयोगमा कहाँ कहाँ खास के समस्या छ ? बाँझो जग्गाको उपयोगमा संघीय सरकारदेखि स्थानीय सरकार सम्मको नीति के कस्तो छ ? यी यावत बिषयले ठुलो अर्थ र महत्व यसबेला राख्दछ ।

बाँझो जग्गाका बिषयमा सरकारले केही नगरेको होइन । पहल र निर्णयका हिसावले भूमी बैंक स्थापना गर्ने लगायतका सकरात्मक कदम देखिन्छ । तर, यसको प्रभावकारी कार्यान्वयनका हिसावले हेर्दा त्यति धेरै उत्साहप्रद देखिदैन । केही स्थानीय तहले बाँझो जग्गा राख्नेलाई जरिवाना गर्ने सम्मको नीतिगत निर्णय पनि गरेका छन् । बाँझो जग्गाहरुलाई एकिकृत गरेर उत्पादनशिल कार्यमा दिने योजनाहरु पनि भइरहेका छन् । बाँझो जग्गाको बढ्दो क्रम रोक्न मुख्यतः गाउँको बसाई सराईलाई सके सम्म छिटो रोक्ने योजना कार्यक्रम आवश्यक छ । गाउँघरमा सडक सुविधादेखि अन्य अवसरहरु विगतको तुलनामा धेरै हिसावले विस्तार भएको छ । तर, ग्रामिण क्षेत्रका नागरिकको शहर बजार प्रतिको आशक्ति चरम छ । यसलाई परिस्थितिजन्य हिसावले मात्र नभई, मनस्थितिका हिसावले पनि बुझाउनु जरुरी छ । गाउँघरमै स्वरोजगारदेखि अरु अवसर र आयआर्जनका विकल्प र आधार तयार गर्ने तर्फ पनि योजनावद्ध हिसावले लाग्नुपर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *