निजी क्षेत्रको नयाँ नेतृत्वलाई बधाई

सम्पादकीय
निर्वाचन, अधिवेशन या साधारणसभामा अधिक संस्थामा मुख्य नेतृत्व सहित अरु नयाँ पदाधिकारी र सदस्य चयनका लागि गरिन्छ । तर, नेपाल उद्योग वाणिज्य महासंघ मात्र यस्तो संस्था हो । जसको मुख्य नेतृत्व अर्थात अध्यक्षका लागि चुनाव हुँदैन । अघिल्लो कार्यकालमै वरिष्ठ उपाध्यक्ष पदका लागि निर्वाचित हुनुपर्ने बैधानिक व्यवस्था छ । जुन व्यवस्थाले अध्यक्ष बनेर नेतृत्वको बागडोर सम्हाल्न इच्छुक र दाबेदारले वरिष्ठ उपाध्यक्ष बन्नमै ठुलो रस्साकस्सी र कसरत गर्नुपर्ने हुन्छ । जो वरिष्ठ उपाध्यक्ष बन्छ, त्यो नै स्वतः भावी नेतृत्व हो । यस्तो व्यवस्था गर्नुको पछाडी उद्योग बाणिज्य महासंघका लामो अभ्यास र अनुभव होला । तर, यसका फाइदा र बेफाइदा दुवै देखिन थालेका छन् ।

महासंघको यही नयाँ बिधान व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्षमा बागलुङ बलेवाका चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न महासंघको निर्वाचनबाट मोरङका व्यवसायी किशोर प्रधानलाई पराजित गर्दै भावी नेतृत्वका लागि आफ्नो सिट सुनिश्चित गरेका छन् । छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएकोमा ढकालले ५४ प्रतिशत भन्दा बढी मत प्राप्त गर्दै विजयी भएका हुन् । व्यवसायी ढकालसँग यसअघि दुई पटक महासंघको कार्यकारिणी समिति सदस्य र एक पटक उपाध्यक्ष भइसकेको अनुभव छ । महासंघको ५४ औं साधारणसभाले आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष सहित नयाँ कार्यकारिणी समिति निर्वाचित गरेको हो । महासंघको विधान अनुसार अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा स्वतः अध्यक्ष बनेका छन् । सोही अनुसार नै अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका ढकाल अर्को कार्यकालमा स्वतः अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्षका लागि भोटिङ हुँदा विभिन्न समूहका लागि फरक फरक मतभार निर्धारण गरिएको हुन्छ । सबै मतभारलाई १०० प्रतिशत मानेर ५० प्रतिशत बढी मत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्षमा विजयी हुन्छन् । विधान अनुसार जिल्ला नगर वाणिज्य संघको ५० प्रतिशत मतभार हुन्छ । वस्तुगतको २० प्रतिशत हुन्छ भने एशोसिएट्सको ३० प्रतिशत भार हुन्छ ।

नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन अहिले यस्तो बेला भएको छ, जुन बेला विश्वव्यापी रुपमा कोरोना संक्रमणको भयावह कायमै छ । अझै पनि नेपाल सरकारले ठुलो संख्या र समूहमा भीडभाड गरेर जम्मा हुन कार्यक्रम गर्न रोक लगाएको छ । यद्यपी, बाणिज्य महासंघको निर्वाचन गर्नै पर्ने बाध्यताका कारण सरकारले स्वीकृत दियो र सफलतापूर्वक साधारणसभा सम्पन्न पनि भएको छ । संकटका बीच निजी क्षेत्रले नयाँ नेतृत्व प्राप्त गरेको छ । यस बेला उद्योग व्यवसायका क्षेत्रमा गम्भीर समस्या र संकट छन् । ठुलो लगानीमा उद्योग व्यवसाय सञ्चालन गरेकाहरु कोरोना संकटको ८,९ महिनाको अवधिमै डुब्ने अवस्थामा पुगेका छन् । सानादेखि ठुला उद्यम व्यवसाय र उद्योगहरुलाई उठाउन र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने बिषय र दायित्व नेपाल उद्योग बाणिज्य महासंघको मुख्य चूनौती र प्राथमिकतामा पर्नुपर्छ । तीन तहको सरकारलाई कोरोनाकालिन अवधिमा उद्योग व्यवसायमैत्री नीति निर्माण गर्नु पहल, दबाब र समन्वय गर्नुपर्नेछ । अहिलेको समग्र संकटलाई अवसरमा रुपान्तरित गर्न उद्योग बाणिज्य महासंघको नयाँ नेतृत्व र टीमलाई सफलता मिलोस् । भावी नेतृत्वको बागडोर सम्हाल्ने अवसर प्राप्त गरेका चन्द्र ढकाल सहित सम्पूर्ण निर्वाचित पदाधिकारी, सदस्यलाई हार्दिक बधाई ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *