सम्पादकीय
नेपालमा राजनीतिक व्यथिति वर्षौदेखी व्याप्त छ । राजनीतिक दलबीचको अश्वस्थ प्रतिस्पर्धा उस्तै छ । राजनीतिक सँस्कारको अभाव चरम रुपमा देखिन्छ । मुलुकमा पुराना व्यवस्था परिवर्तन भएको छ,र अहिले लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यो परिवर्तनमा राजनीतिक दल, नेता, कार्यकर्ताको भुमिका स्मरणीय छ । तर,व्यवस्था परिवर्तन गरेका तीनै नेता कार्यकर्ताहरुको परम्परागत प्रवृत्ति बदलिएको छैन । राजनीतिक सँस्कार, इमान्दारिता र नैतिकको खडेरी छ । र त लाज समेत लजाउने गरी पटक पटक राजनीतिक पार्टी र नेताहरु नांगो नाँचको भुमिका देखिने गर्छन् ।
यसको पछिल्लो उदाहरण तनहुँको ब्यास नगरपालिकाको बुल्दीखोलामा दुई वर्ष अघि निर्माण सम्पन्न भएको पुल उद्घाटनको घटनालाई हेरे पुग्छ । बुल्दीखोलामा पुल हाल्न स्थानीय जनताले सरकारको ध्यानाकर्षण गराए । तत्कालीन जिल्ला विकास समितिको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटिपी) अन्तर्गत बुल्दीखोलामा पुल बन्ने पक्का भयो । त्यो बेला प्रकाशमान सिंह स्थानीय विकास मन्त्री थिए । २०७३ वैशाखमा पुल निर्माणको काम सुरु भई दुई करोड ५४ लाख रुपैयाँको लागतमा २०७५ कात्तिकमा पुल बनेपछि स्थानीयलाई आउ–जाउ गर्न सहज भयो । तर, पुल बनेको दुई वर्षपछि एकाएक राजनीतिक विवादको विषय बन्यो । ¥याली, प्रदर्शन गर्दै दमौली बजारमा टायर बल्यो । अश्रुग्यास नै प्रहार भयो । ब्यास नगरपालिकामा निषेधाज्ञा समेत जारी भयो । र, बुधबार पुल उद्घाटन गर्नका लागि आएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समेत पक्राउ पर्ने अवस्था बन्यो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत निर्माण भएको सुँडेको पुलको मर्मत सम्भार चलिरहेको र मन्त्रालयको उद्घाटन गर्ने कार्यक्रम पनि बनाएको भन्दै जिल्ला प्रशासन कार्यालयले तत्काल कार्यक्रम नगर्न व्यास नगरपालिकालाई पत्रचार पनि गरेको थियो । पूर्वाधार विकास कार्यालय र संघीय मन्त्रालयसँग समन्वय नगरी व्यास नगरपालिका र उपभोक्ता समितिले कार्यक्रम तय गरेको भन्दै नेकपा निकट युवा संघ सडकमै उत्रियो । दुबै पक्षबीच झडपकै अवस्था सिर्जना भयो । अन्ततः नेपाली कांग्रेस आफ्ना नेता माथि अभद्र व्यवहार भएको भन्दै देशव्यापी सडक प्रदर्शनमा उत्रियो ।
यो त केबल प्रतिनिधि घटना मात्र हो । पुल निर्माण सम्पन्न भएर जनता ओहोर दोहोर गरेको दुई वर्ष भइसक्यो । यो बेलामा उद्घाटनकै लागि रामचन्द्र पौडेल या सांसद किसान श्रेष्ठ यति मरिहत्य गर्न जरुरी थियो की थिएन ? उद्घाटननै गर्ने अवस्थामा जसले गरे पनि प्रयाप्त समन्वय गरेर गर्दा के बित्दो थियो होला र ? आजको दिनमा पनि जनताका कैयन माग, आवश्यकता, चाहना अलपत्र छन् । राष्ट्रिय गौरवका आयोजनादेखि कैयन योजनाहरु अन्यौलग्रस्त छन् । यसमा नेताहरुको गम्भीरता र भुमिका देखिन्न । तर, उद्घाटन या जस लिने बिषयमा भने निकै होडबाजी चल्ने गरेको छ । यस्ता पात्र र प्रवृत्ति देशका अधिक ठाउँमा देखिएको छ । यो नेपाली समाजको बिडम्बना हो ।