एकता होस्, बिभाजन नहोस्

सम्पादकीय
एकता सर्वाधिक प्रिय शव्द हो । एकता हुनु या गर्नु भनेको बलियो हुनु हो । एकताले आम मानिसको हितमा उपलब्धि, परिणाम दिन्छ । समग्रतामा तत्कालिन र दीर्घकालिन फाइदा मिल्छ । तर, अनेकता या बिभाजनले समस्या निम्त्याउँछ । गम्भीर संकटहरु उत्पन्न गर्छ । क्षणिक फाइदा या लाभ कुनै व्यक्ति या समुदायलाई मिल्न त सक्छ । दीर्घकालिन रुपमा अनेकता या बिभाजनले ठुलो क्षती पु¥याउँदछ । समाज र देशलाई वर्षाै पछि धकेल्छ । कुनै व्यक्ति, संस्था, समूह, समाज र देशले लिइरहेको गतिमा ब्रेक लाग्दछ । जीवनका लयहरु भत्कन्छ । सपनाहरु तुहिन्छ ।

तर पनि समाज र देशमा एकता होइन, बिभाजनको होडबाजी चल्छ । अनेक स्वार्थ समूहको षड्यन्त्र, योजना या चाहना या प्रभावमा बिभाजन हुन्छ । नेपालका राजनीतिक दल मात्र होइन, सानातिना पार्टनरसीपमा गरेका लगानी,योजना, आयोजनाको काममा पनि विवाद र बैमनस्यता हुन्छ र बिभाजन देखिन्छ । यस्तो बिभाजनको चंगुलमा अहिलेको सत्ता बागडोर सम्हालिरहेको नेकपा एकीकरण नहुँदाको तत्कालिन नेकपा एमाले होस् या एकिकृत माओवादी केन्द्र होस् या प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस होस् या संघीय समावादी होस् या मधेस केन्द्रित दल होस् या नयाँ वैकल्पिक पार्टीको दाबी गरेका विवेकशील नेपाली दल र साझा पार्टी होस् । सबैसंग बिभाजनको शिकार बनेको नमिठो विगत छ । कुनै समय बिभाजनको यिनै नमिठो परिघटना भोगेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अहिले फेरी उस्तै फुटको संघारमा भएको आभाष हुन्छ । शीर्ष नेताहरु बीच पानी बाराबारको स्थिति छ । अब एकतावद्ध भएर अघि बढ्छन् या फेरी बिभाजनमा पुग्छन् ? अनिश्चयको भुमरीमा छ । यही अनुक्रममा विवेकशील नेपाली र साँझा पार्टी दोस्रोपटक एक भएका छन् । यसअघि यी दुई दलबीच एकता भएर पनि पछि बिभाजन भएको थियो ।
काठमाडौंबाट भर्चुअल प्रणालीबाट आयोजना गरिएको कार्यक्रममा यी दुवै दलले पार्टी एक भएको घोषणा गरेका हुन् । नयाँ दलको नाम विवेकशील साझा पार्टी राखिएको छ ।

पवित्र सोच र असल नियतले पार्टी एक हुनु भनेको समाज र देशका लागि सुखद कुरा हो । नेपालमा यति धेरै पार्टी छन्, जुन जरुरी नै छैन । त्यसैले पार्टीहरुबीच एकीकरण जरुरी छ । शक्तिशाली देश अमेरिकामा डेमोक्रेटिक र रिपब्लिकनबीच प्रतिस्पर्धा हुन्छ । हामीकहाँ दर्जनौ पार्टी छन् । अब धेरै पार्टी होइन, दुई पार्टी होस् । यिनीहरुले दुई फरक–फरक धारका उस्तै मिल्दोजुल्दो सिद्धान्त, दर्शन र आस्था भएकाहरुलाई समेट्न सक्ने बिशाल हृदय र क्षमता प्रर्दशन गर्न सकुन् । विगतका अनगिन्ती बिभाजनका दुखद पीडा र अनुभवबाट पाठ सिकुन् । अहिले कोरोना महामारीको यो संकटमा फेरी नेकपा बिभाजन उन्मुख छ । विवाद, कुण्ठा, आरोप प्रत्यारोपले ग्रस्त छ । अतः बिभाजन समाज र देशका लागि दुखद हुनेछ । नेकपा सहित सबै पार्टीबीच एकता नै अबको बाटो र विकल्प बनोस् । त्यो एकता कुनै निश्चित व्यक्तिको स्वार्थ, क्षणिक लाभमा होइन,सामुहिक र देशको हितका खातिर हुन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *