औद्योगिक ग्रामले बोकेको सम्भावना

सम्पादकीय
अहिले बागलुङ जिल्लामा दुई औद्योगिक ग्राम स्थापनाको तयारी छ । बागलुङ नगरपालिका र ताराखोला गाउँपालिका औद्योगिक ग्राम निर्माणको सूचिमा छ । संघीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्य र समन्वयमा ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’को नीति अख्त्यिार गरेको छ । अहिले दुवै पालिकामा जग्गाको व्यवस्थापन सहित निर्माणको काम सुरु गर्न लागिएको छ । यसरी स्थापना हुने ग्राममा १० वटा फरक फरक उद्योगहरु हुनेछन् । जसले पालिकामा स्थानीय स्रोत साधनको उपयोगिताका साथै रोजगार सिर्जनामा पनि ठुलो उभार ल्याउने अपेक्षा गरिएको छ । एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहसँग समन्वय गरेर बिक्री गर्न सहज हुनेछ ।

नेपालमा उद्योगको विकास उल्लेखनीय छैन । बरु राजनीतिक अस्थिरता, अस्वश्थ प्रतिस्पर्धा, दीर्घकालिन सोच,नीति र योजनाको अभावमा सञ्चालन भएका उद्योगहरु पनि बन्द भएका उदाहरणका थुप्रै फेहरिस्त छन् । यसलाई कुल ग्राहस्थ उत्पादनमा उद्योगको योगदान हेरे पनि प्रष्ट हुन्छ । हाल देशमा उद्योगको योगदान १५ प्रतिशत पनि पुगेको छैन । सरकारले पुरानो व्यवस्था परिवर्तन गरेर नयाँ संघीय अभ्यास सँगै देशमा औद्योगिक वातावरण निर्माण गरेको दाबी गरे पनि अझै उद्योगमैत्री अर्थतन्त्र निर्माण हुन नसकेको उद्योगी व्यवसायीको गुनासो छ । यद्यपी, तीन तहका सरकारले पछिल्लो समयमा औद्योगिक वातावरण निर्माण गर्नका लागि उद्योग र लगानी सम्बन्धी दर्जनौ ऐन नियम संशोधन र निर्माण गरेका छन् । नीति नियम र ऐन निर्माण गरेर मात्र सरकारको दायित्व पुरा भने हुँदैन । यसका लागि उद्योगमैत्री काम गर्ने बातावरण निर्माण गर्न अझ बढी भूमिका तीन तहका सरकारले खेल्नुपर्छ । यसमा सबै भन्दा महत्वपूर्ण भूमिका स्थानीय सरकारको हुन्छ ।

अहिले जुन सोच र योजनाका साथ स्थानीय तहमा औद्योगिक ग्राम स्थापना हुँदैछ । यसले कुल ग्राहस्थ उत्पादनमा उद्योगको योगदान बढाउन भूमिका खेल्ने निश्चित छ । गाउँ–गाउँमा औद्योगिक विकास र उद्यमशीलता विकास गर्न सरकारको यो कदम सकरात्मक हो । सुखी नेपाली समृद्व नेपालको नारा सरकारले जुन उद्घोष गरेको छ । यसका लागि पनि यो काम र कदम अपरिहार्य छ । आर्थिक समृद्धिको महत्वपूर्ण आधार उद्योग हो । उद्योग स्थापना र संरक्षण सरकारको बिशेष प्राथमिकता हुनुपर्छ । तर, औद्योगिक ग्राम घोषणा गर्दैमा सबै चिज हुने होइन । आज पनि उद्योगका नीति र प्रक्रियामै थुप्रै जटिलता छ । औद्योगिक ग्राममा स्थापना हुन सक्ने सम्भावित उद्योगका बारेमा गहिरो अध्ययन हुनुपर्छ । यसमा लगानी, बजार व्यवस्था र रोजगारीको संख्या र सम्भावनालाई पनि समयमै ध्यान दिनुपर्छ । अन्यथा औद्योगिक ग्रामको योजना अपरिहार्य र लोकप्रिय भए पनि त्यसको ठोस उपलब्धि र निरन्तरतामा समस्या हुन सक्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *