विवादले ग्रस्त सरकार र राजावादीको प्रर्दशन

सम्पादकीय
नेपाली राजनीतिलाई लिएर अहिलेको युवा पुस्तामा यो वाक्य अधिक प्रयोगमा छ–‘पोल्टिकल इज डर्टी गेम’ अर्थात् राजनीति फोहोरी खेल हो । यो खेल तीनीहरु खेल्न र सफल हुन सक्छन्, जो दुर्गन्ध या खराब प्रवृत्तिमा पनि रमाउन सक्छन् । नेपाली राजनीति विगतदेखि वर्तमान सम्मको उतार चढाव घटनाक्रम हेर्ने हो भने जो कोहीलाई लाग्छ–राजनीति फोहोरी खेल नै हो । यो सामान्यतः सोझा, निष्ठावान, इमान्दार व्यक्तिहरुले गर्नै सक्दैनन् । यो प्रवृत्ति विगतका पञ्चायत, राजतन्त्रकालिन अवस्थामा त व्यापक थियो नै, व्यवस्था परिवर्तन भएको लामो समय भइसक्दा पनि खराब पात्र र प्रवृत्तिहरुको उस्तै जगजगी छ । जसले जनता र त्यसमा पनि राजनीतिमा कम रुची राख्नेहरु भन्न बाध्य छन् की ‘पोल्टिकल इज डर्टी गेम ।’

देशको मूल नीति भनेकै राजनीति हो । मुलुकको राजनीति ठीक नभए सम्म देशले सही गति लिन सक्दैन । जनताको अपेक्षा पुरा गर्ने दिशामा अघि बढ्न सक्दैन । लामो समय राजनीतिक अस्थिरता भएकाले नयाँ व्यवस्थाका लागि संर्घष, आन्दोलन भएको हो । चाहे त्यो जनयुद्ध होस् या जनआन्दोलन । पुरानो राजनीतिक व्यवस्था ठीक नभएको ठहर सहित ठुला ठुला आन्दोलन मार्फत देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । यो व्यवस्थाको तीन वर्षको अभ्यासमा देशमा उल्लेख्य परिवर्तन र विकास हुने नागरिकको अपेक्षा थियो । सुरुवाती केही पहल, प्रयत्न र कामहरु सकरात्मक दिशा तर्फ उन्मुख पनि थियो । तर, पछिल्ला दिनका सरकार र यसको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको गतिविधिले नागरिकमा चरम निराशा पैदा ग¥यो । जसका कारण अहिले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस मात्र होइन, राजावादीहरु पनि ब्युझिएका छन् । संघीयता बिरुद्धको अभियान र आन्दोलनमा देखिएको राष्ट्रिय जनमोर्चा पनि सडकमै प्रर्दशनमा आइरहेको छ ।

बुधबार मात्र बागलुङमा पनि राजावादीहरुले सडकमै बृहत बिरोध प्रर्दशन गरे । देशभक्त युवा समूहको नामबाट आयोजना गरिएको बिरोध प्रर्दशनमा मानिसहरुको व्यापक उपस्थिति त देखियो । तर प्रर्दशनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेसमा सम्वद्ध भनिए का युवाहरुको संख्या पनि बाक्लै देखियो । यसले के संकेत गर्छ भने सत्तारुढ दल नेकपा या प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस । उनीहरुको केन्द्रीय स्तरका शीर्ष नेतृत्वबीच जे जस्ता गतिविधि भइरहेको छ, त्यसबाट उनीहरु असन्तुष्ट छन् । उनीहरुसँग आक्रोश र बिद्रोह भाव जन्मिएको छ । उसो त यसमा एउटा यस्तो प्रवृत्ति पनि हावी छ की कति मानिसहरु सानो सानो स्वार्थका कारण सबै तिर देखिन्छन् । यद्यपी, यही कारण र परिदृश्य देखाएर सरकार र हाम्रा राजनीतिक दल पन्छिन कदापी मिल्दैन । अहिले राजाबादीहरु संघीयता या गणतन्त्रको व्यवस्था माथि नै प्रश्न उठाइरहेका छन् । प्रश्न उठाए भन्दै राजाबादीलाई गाली गरेर केही हुँदैन । संघीय अभ्यासको केही वर्षकै अन्तरालमा यसो हुनमा सरकार र राजनीतिक दलकै भूमिका र गतिविधि जिम्मेवार छन् । दुई तिहाई बहुमत नजिक रहेको सरकार र नेकपा आपसी विवाद र झमेलामा रुमलिएर आफै बदनामी बन्नु नेपाली राजनीतिका लागि दुखद र बिडम्बना हो । अतः सरकार, नेकपा र अरु राजनीतिक दलले पनि राष्ट्रिय स्वार्थ बिर्सेर आफ्ना कुण्ठाहरुलाई देशसँग कदापी सौदाबाजी गर्नुहुँदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *