सम्पादकीय
समय बदलिएको छ । व्यवस्था बदलिएको छ । परिस्थिति पनि बदलिएको छ । तर, हाम्रा मनस्थिति अझै यथास्थितिकै सेरोफेरोमा छ । हिजोको समाजमा जे सोचिन्थ्यो, जे गरिन्थ्यो, जस्तो हिसाबले संकुचनहरुमा परिवारका सदस्य र युवा जनशक्तिलाई राखिन्थ्यो । आजको दिनमा पनि त्यही परिपाटीबाट गुज्रने दैनिकी अब कामयावी नहुन सक्छ । अहिलेको समाज फेरिन त थाल्यो । तर, यसरी फेरिदैछ की जसले समाज र देश अब कता जाला भन्ने संशय पैदा हुन्छ । आजको समाज दुनियाँ भौतिक सुख सयल,सम्पती र बिलासितामा रमाउन थालेको छ । हरेक व्यक्तिको योग्यता, क्षमता, हैसियत उसले कति पैसा कमायो ? कति सम्पति जोड्यो ? कति ठुलो घर बनायो ? यस्ता बिषयले मापन हुन थालेको छ । जसले गर्दा आफ्ना भर्खरका कलकलाउँदा सन्तानलाई जर्बजस्त बिदेश पठाउने लहर बढ्दो छ । जसका कारण नेपाली समाजमा थुप्रै घटना र जटिलताहरु देखिन थालेका छन् ।
नेपालमा बैदेशिक रोजगार या आप्रवासनमा जाने प्रचलन सुरु भएको दुई दशक समय भइसक्यो । १९ औं शताब्दी अर्थात १९१६ को सुगौली सन्धी पछि पञ्जावका राजा रञ्जित सिंहको फौजमा पहिलो पटक नेपाली युवाहरु भर्ती भए यता आप्रवासनमा जान सुरुवात भयो । यो क्रम १९५० को शान्ति मैत्री सन्ध पछि विस्तारित रुपमा परिणत भयो । त्यसयता विश्वका बिभिन्न देशमा रोजगारका लागि जाने क्रम बढ्यो । हाल बिदेशमा ३८ लाख ५८ हजार युवाहरु बिदेशमा रहेको तथ्यांक छ । औसतमा दैनिक १ हजार ५८ जना नागरिक अन्तर्राष्ट्रिय विमानस्थलबाट बैदेशिक रोजगारमा नेपाली युवा जाने गरेका छन् । गत वर्षको तथ्यांक अनुसार जसमध्ये ८ सय बढीको शव बाकसमा फिर्ता आएको छ । यसले के संकेत गर्छ भने बैदेशिक रोजगारको रेमिट्यान्स मोह जुन दरमा बढेको छ, समस्या र जोखिम पनि उस्तै दरमा बढिरहेको छ । बिदेशमा खानपान या प्रयाप्त सूचना जानकारी नहुँदा ज्यान जाने घटनादेखि सीप नहुँदाका दुःख र पीडाका फेहरिस्त हुन्छन् । अर्को तर्फ रेमिट्यान्सले परिवार बिखण्डनदेखि हत्या आत्महत्याका घटना पनि बढ्दो छ ।
यही सन्दर्भमा अन्तर्राष्ट्रिय आप्रवासन दिवस बागलुङमा मनाइएको छ । यो कार्यक्रममा महत्वपूर्ण सवालको रुपमा व्यक्तिगत र पारिवारिक समस्या समाधान गर्ने सोच र सपना सहित परदेशिएकाहरु आफै समस्या बन्ने र बनाउने प्रवृत्तिका बारेमा व्यापक बिषय उठे । यो आजको समय र समाजको गम्भीर बिषय हो । यो बिषय र प्रश्नबाट तीन तहका सरकार, जनप्रतिनिधि, सरोकारवाला कदापी भाग्न मिल्दैन । उनीहरु मात्रै होइन, हर नागरिक यो बिषयमा उत्तिकै जिम्मेवार हुनुपर्छ । बैदेशिक रोजगारमा गएकाहरुको जीवन सुरक्षा मुख्य सवाल हो भने यो सँगै नेपाल भित्रिने रेमिट्यान्स, परदेशिएकाहरुको आत्मसम्मानको बिषय पनि उत्तिकै संवेदनशील छ । मुख्यतः सरकारले रेमिट्यान्स मोहको समाज मनोबिज्ञान तत्काल बदल्न पहल गर्न आवश्यक छ । यसका साथै श्रम सम्झौता अनुसारको यथोचित मूल्य पाउने बातावरण नेपाल सरकारले बनाउनुपछृ । रेमिट्यान्स उत्पादनमूलक कार्यमा लगानी हुन नसकेकाले तीन तहको सरकारले ठोस नीति, कार्यक्रम र योजना ल्याउन अपरिहार्य छ ।