सम्पादकीय
नोवेल कोरोना भाइरस (कोभिड(१९) ले विश्वभरका नागरिक समस्या र संकटमा छन् । यसले मानिसहरुको जीवन, दैनिकी र अर्थतन्त्रमा पारेको प्रभाव त प्रत्यक्ष अनुभूत गरिएको छ नै ।
कोरोनाले कैयनको ज्यान लिएको छ, सैयनको रोजीरोटी खोसिदिएको छ । भोलीका दिनमा अझ के हुने हो भन्ने अनिश्चितता र संशय भविष्यकै गर्भमा छ । तर,यस बाहेक कोभिड–१९ को मानसिक असर या प्रभाव नजानिँदो रुपमा मानिसहरुको जीवनमा देखिन थालेको छ । बिभिन्न अध्ययन अनुसन्धानका आधारमा युवा पुस्तामा डिप्रेशनको समस्या देखिएको छ भने महामारीकालमा अधिकांश बालबालिका घरमै अध्याधिक मोवाइल इन्टरनेट प्रयोगमा व्यस्ता हुद्या ‘एनोरेक्सिया’ जस्ता मानसिक समस्या देखिएको पाइएको छ । एनोरेक्सिया भनेको खाना खानै मन नगर्ने रोग हो । पहिला यस्तो लक्षण भएका विरामी एकाध आउने गरेको तर अहिले हप्ता हप्तामै आउने गरेको तथ्य छ ।
विश्व स्वास्थ्य संगठन भन्छ–४० देखि ६० प्रतिशत वयस्क मानिसलाई देखिने मानसिक समस्या १४ वर्षअघि नै सूरू हुन्छ । नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालमा कोरोना भाइरस सुरु भएको चैत महिनादेखि कात्तिकसम्म ८३ जनाले आत्महत्या गरेका छन् । यसमध्ये ३८ जना बालबालिका थिए । किशोर किशोरीको आत्महत्या प्रयासका घटना पनि पछिल्लो ८,९ महिनामा धेरै भएको पाइएको छ । यो अहिले मात्र भएको होइन । २०७२ सालमा आएको महाभूकम्प पश्चात पनि यस्तो समस्याबाट धेरै नेपाली नागरिक ग्रसित बनेका थिए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले जनवरी २०१९ देखि जनवरी २०२० सम्म नेपालका सातै प्रदेशमा गरेको मानसिक स्वास्थ्य सर्वेक्षण अनुसार १६ वर्ष उमेर समूहका ७.७ प्रतिशत र १७ वर्षका ६.६ प्रतिशतमा मानसिक समस्या देखिएको छ । लैंगिक हिसाबले किशोरीहरूमा बढी समस्या देखिएको छ । ५.३ प्रतिशत किशोरीमा र ५ प्रतिशत किशोरमा मानसिक समस्या देखिएको सर्वेक्षणको निष्कर्ष छ । नेपाल प्रहरीको तथ्यांक अनुसार महामारी सूरू हुनुअघि औसतमा दैनिक १३ देखि १५ जनाले आत्महत्या गरेकोमा अहिले बढेर १७ देखि १९ मा पुगेको छ । तर, नेपाल सरकार र सरोकारवालाले मानसिक स्वास्थ्यलाई गम्भीर संवेदनशील समस्याको रुपमा नलिएको आभाष आजको दिनमा पनि हुने गरेको छ । मानसिक समस्याका कारण वर्षेनी ५,६ हजारले आत्महत्या गर्दा पनि यसलाई गम्भीरतापुर्वक नलिइनु दुखद र बिडम्बनापूर्ण विषय हो । सरकार र सरोकारवालाले मात्रै होइन, समाजले पनि यस्तो संवेदनशील विषयलाई नजर अन्दाज गरिरहनु अर्को खतरानक बिषय हो ।
कोरोना भयावह सुरु भएको ९ महिना लामो अवधी बितिसक्दा पनि यसको आतंक सकिएको छैन । मानिसहरुमा कोरोना फोबिया यथावत छ । यही तथ्यांकलाई नजरअन्दाज गर्दा समाजमा भित्रभित्रै मानसिक समस्या भुसको आगोको रुपमा विस्तारित छ । कोरोनाबाट परेको चौतर्फी असरका आयामलाई सरकार र सरोकारवालाले गम्भीर र संवेदनशील रुपमा लिन जरुरी छ । नागरिकले पनि आफु र आफ्नो परिवारमा देखिने असर र लक्षणलाई समयमै पहिचान गरेर आवश्यक सचेतता र उपचारमा ध्यान दिनुपर्दछ ।