लोडसेडिङको चर्चा र चलखेल

सम्पादकीय
यतिबेला देश फेरि अस्थिरता उन्मुख छ । अब मुलुकको अवस्था के हुन्छ ? राजनीतिले कुन मोड लिन्छ ? ठुलो भय र संशयका बीचमा नेपाली नागरिक छन् । मुलुकको बागडोर सम्हाल्ने जिम्मा पाएका नेताहरु आरोप प्रत्यारोपमा छन् । पाँच वर्षका लागि निर्वाचित संघीय सांसदहरुको पदावधी तीन वर्षमै सकिने गरि संसद विघटन गरिएको छ । यद्यपी, यसका बारेमा सर्वोच्च अदालतले फैसला गर्न बाँकी छ । यो राजनीतिक अस्थिरताको संकेत सँगै नेपालमा केही वर्ष यता अन्त्य भएको घोषणा गरिएको लोडसेडिङ फेरि अघोषित रुपमा हुन थालेको चर्चाले बजार तातेको छ । सामाजिक सञ्जालहरुमा नागरिकका तिव्र आक्रोशपूर्ण अभिव्यक्ति प्रकट भइरहेका छन् ।

देशमा वर्षौदेखि व्याप्त लोडसेडिङ अन्त्य गरेर तत्कालिन नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले वाहवाही प्राप्त गरे । चार वर्षअघि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ नियुक्त भएसँग सोही वर्षको लक्ष्मीपूजाको दिनदेखि मुलुकमा लोडसेडिङ अन्त्य गर्ने काम सुरु भएको थियो । सुरुमा काठमाडौं उपत्यकामा लोडसेडिङ हटाइएकोमा बिस्तारै घिसिङले मुलुकलाई नै लोडसेडिङमुक्त बनाउन सफल भए । यसमा तत्कालिन सरकार, उर्जा मन्त्री, कर्मचारीको पनि भूमिका महत्वपूर्ण थियो । यसलाई पनि नकार्न मिल्दैन । तर, गत भाद्र महिनामा आफ्नो कार्यअवधि समाप्तीसँगै घिसिङ बाहिरिए । यद्यपी, कुलमानको निरन्तरताका लागि नागरिक स्तरबाट चौतर्फी दबाब, आग्रह र अपेक्षा थियो । तर, नेपाल सरकारले उनको निरन्तरतालाई अस्वीकार गर्दै उनलाई विदाइ ग¥यो । त्यस यता उर्जामन्त्री रहेका वर्षमान पुन पनि संसद विघटनको निर्णय पश्चात विकसित घटनाक्रमसँगै राजीनामा दिएर सरकारबाट बाहिरिए । र टोपबहादुर रायमाझी उर्जा मन्त्री बनेका छन् । रायमाझी यसअघि पनि उर्जामन्त्री बनेका थिए । त्यसबखत लोडसेडिङ कायम थियो । अहिले फेरि राजनीतिक उतारचढाव सँगै विगत केही महिनादेखि विद्युत् आपूर्ति अकारण अवरुद्ध हुने थालेको छ । चार वर्षअघि मुलुकमा लोडसेडिङ अन्त्य भएपछि पहिलोपटक जनताले फेरि लोडसेडिङको अनुभव गर्न थालेका छन् ।

प्राधिकरणको अहिलेको व्यवस्थापनले चुहावट नियन्त्रणमा ध्यान नदिएको, प्राविधिक समस्या आएको अवस्थामा तत्कालै समाधानमा तदारुकता नदेखाउँदा लोडसेडिङको सम्भावना देखिएको छ । तर, अहिले बिद्युत प्राधिकरणले लोड व्यवस्थापनका लागि छोटो समयका लागि विद्युत् कटौती हुने गरेको (फोर्स लोडसेडिङ) अनौपचारिक रूपमा बताइरहेको छ । कहिलेकाहीँ समस्या भएको विषयलाई लोडसेडिङ भएको भनेर हल्ला गरिएको प्राधिकरणको दाबी छ । अहिले भइरहेको विद्युत् अवरोध प्राविधिक समस्या भएको, लोडसेडिङ नभएको दाबी साँचो हो भने त्यो अन्यथा नहोला । तर, विगतमा पनि मुलुकलाई अन्धकारमा राखिराख्न अनेकन दुश्प्रयास र षड्यन्त्र भएका हिसावले यदी कुनै चलखेल भइरहेको छ, त्यसमा उर्जा सम्बद्ध अधिकारीहरुनै प्रत्यक्ष परोक्ष सम्लग्न छन् भने त्यो देशका लागि दुर्भाग्य हो । यसमा सबैको खबरदारी आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *