बागलुङ बसपार्क र अबको कार्य

सम्पादकीय
बागलुङ बसपार्क, यो नामले केबल बागलुङ मात्र चिनिन्न । गण्डकी प्रदेशकै राजधानी पोखराको व्यस्त स्थान मध्येमा पनि स्थापित छ बागलुङ बसपार्क । यो बसपार्क धेरै हिसाबले व्यवस्थित पनि छ । तर, बागलुङ जिल्ला सदरमुकाकै बसपार्क वर्षौदेखि अस्तव्यस्त भइरह्यो । लामो समय ट्राफिक चोकमा रहेको बसपार्क व्यवस्थित बनाउने भन्दै चिप्लेटी क्षेत्रमा स्थान्तरण त गरियो । त्यहाँ पनि चुस्त र व्यवस्थित रुपमा बसपार्क सञ्चालनमा थुप्रै जटिलता र कठिनाइहरु देखिए । जसका कारण २०५९ सालमा चिप्लेटीबाट पनि बागलुङ नगरपालिकाको वडा नम्बर ४ उपल्लाचौरको छेउमा आधुनिक बसपार्क निर्माण गर्ने योजना बनाइयो । र खेत रहेको उक्त स्थानका जग्गाधनीहरुबाट जग्गा एकीकृत गरी बागलुङ नगरपालिकाले व्यवस्थित बसपार्क निर्माण गर्ने जिल्लाबासीको सपना र योजनालाई अगाडी बढाउने प्रयत्न ग¥यो । यो सपना र योजना पुरा हुने तिब्र अपेक्षाका बीच १८ वर्ष बितिसकेको छ ।

दुई दशक लामो अवधीको निराशाजनक कार्यका बाबजुद अहिले बसपार्क निर्माण अन्तिम चरणमा पुगेको छ । बसपार्क निर्माणका लागि १८ वर्ष अघि उपल्लाचौरको दावगराको जग्गा ५२ जना स्थानीयले निःशुल्क रुपमा बागलुङ नगरपालिकालाई हस्तान्तरण गरेका थिए । तर, लामो समय सरकारी र सरोकारवालाको उदासिनताका कारण अलपत्र परिरह्यो । लामो समय अलपत्र अवस्थामा रहेको बसपार्कको काम देशमा तीन तहको निर्वाचन भएर नयाँ संघीय अभ्याससँगै जनप्रतिनिधि आए पछि २०७५ सालमा बागलुङ नगरपालिकाको पहलमा केहि गति लियो । यद्यपि, यसबीचमा पनि अनेकन समस्या र चूनौतीहरु देखिए । नागरिक र मिडियाले यस अवधीमा पनि ढिलासुस्ती र गुणस्तरियका सवालमा खबरदारी गरे । र बागलुङ बसपार्क निर्माणको काम लगभग सकिएको छ । ठेकेदार कम्पनीका अनुसार बसपार्कको ८५ प्रतिशत भौतिक प्रगती र ७० प्रतिशत आर्थिक प्रगती भएको छ । अब रंगरोगन, बिद्युत जडान र पार्किङ स्थलको कालोपत्रे गर्न बाँकी छ । अहिले टर्मिनल र व्यावसायिक भवन निर्माण सम्पन्न भएको र पार्किङ स्थलको कालोपत्रेको तयारी छ । अबको दुई महिना भित्रै बसपार्क हस्तान्तरण गर्ने निर्माण कम्पनीले बताइरहेको छ ।

बागलुङ बजारमा व्यवस्थित बसपार्कको जरुरी थियो । त्यो सपना र आवश्यकता सार्थकताको नजिक छ । यसमा बागलुङ नगरपालिकाको पछिल्लो पहल कदमी र तदारुकता प्रशंसनीय छ । अब बसपार्क निर्माण सम्पन्न भएर हस्तान्तरको पर्खाइमा जिल्लाबासी छन् । पर्खाइ यतिको मात्र होइन, अब निर्माण हुने बसपार्क आधुनिक र व्यवस्थित रुपमा सञ्चालन भएको पनि हेर्न आतुर छन् । वर्षौदेखि अलपत्र बसपार्कले गति लिनु र सफलता उन्मुख अवस्थामा आउनु सुखद बिषय हो । यो जनप्रतिनिधि बिहिन हुँदाको रिक्ततालाई पुरा गर्ने बिषयले नयाँ संघीय अभ्यास र जनप्रतिनिधि आगमनको उपलब्धिको बिषय पनि हो । अब यसलाई बागलुङ नगरपालिकाले चुस्त कार्ययोजना बनाउन सरोकारवालाबीच छलफल गर्नुपर्छ । र व्यवस्थित योजना बनाएर गुनासो रहित यातायात सेवा पाउने बातावरण सिर्जना गरिनुपर्छ । अहिले बसपार्कमा पुग्दा देखिने अनेकन व्यथिति रोकिनुपर्छ । टिकट प्रणालीहरुलाई पनि थप चुस्त र व्यवस्थित बनाउनु पर्नेछ । यातायात व्यवसायीबीचको अश्वस्थ प्रतिस्पर्धा पनि हटाउनका लागि नगरपालिका र स्थानीय प्रशासनले पहल गर्न आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *