सम्पादकीय
नेपाली समाज र देशमा चुस्त योजनामै समस्या छ । दीर्घकालिन हिसावले योजना निर्माण गर्ने अभ्यास र प्रचलन हामीकहाँ त्यतिधेरै प्रभावकारी देखिदैन । सरकार र यसका निकायबाट योजना कार्यक्रम अनुसार बजेट बिनियोजन भए पछि हतार हतारमा काम चलाउ हिसाबले योजना कामको खाका कोरिन्छ । र तत्कालका लागि बजेट निकासा र फछ्यौट गर्नमा सिमित हुने तबरले काम गर्ने प्रवृत्ति व्याप्त छ । चुस्त र योजनावद्ध विकासमा पनि तीनै तहमा प्रष्ट भिजनको अभाव छ । जसले गर्दा योजना र कामहरुको दीगोपनामा व्यापक समस्या देखिन्छ । अर्को तर्फ योजना आयोजना आवश्यकता मागका आधारमा नभई पहुँचका आधारमा दिइने व्यथिति छ । हाम्रा विकास योजना दीर्घकालिन हिसाबले उपलब्धिमुलक नदेखिनुमा यी प्रमुख कारण हुन् ।
बागलुङमा पनि यस्तो समस्या र प्रवृत्ति हाबी छ । दुई वर्षअघि नै डीपीआर बनाइएको बागलुङ रंगशालाको काम अलपत्र छ । सदरमुकामको बाङ्गेचौर खेल मैदान र आसपासको जमिनमा रंगाशाला बनाउने योजना अघि सारिएको थियो । जिल्ला खेलकुद विकास समितिको अगुवाइमा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सँगको सहकार्यमा २० लाख खर्चेर डीपीआर बनाइएको थियो । जसमा सुविधासम्पन्न रंगशाला, प्यारापिट, एथलेटिक्स र इन्डोर खेलका लागि बृहत् योजना समेटिएको थियो । डीपीआर अनुसार १५ करोड ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको यो जिल्लाको महत्वपूर्ण योजना तुहिने अवस्थामा पुगेको छ । जिल्ला खेलकुद समिति नयाँ संरचना अनुसार खारेज भए पछि न त यसको पहल गर्ने निकाय छ, न त अरु सम्वद्ध निकायले नै चासो र गम्भीरता देखाएको छ । दुई वर्षअघि ढोरपाटन नगरपालिका–२ र निसीखोला गाउँपालिका–२ को भूभाग समेटिएको अर्नाकोटमा विमानस्थल निर्माणका लागि करिब ५० लाख खर्चेर डीपीआर बनाइयो । तर उक्त डीपीआर अहिले कहाँ छ ? अब के कसरी काम अघि बढ्छ भन्ने विषयमा स्थानीय सरकारहरु स्वयम् बेखबर अवस्थामा छन् ।
यि केबल प्रतिनिधि घटना हुन् । जिल्ला र देशभर यस्ता अलपत्र योजना र चुस्त योजनाको अभावमा बजेट बालुवामा पानी भएका कैयन घटना र उदाहरण छन् । तीन तहको सरकार बनेपछि विगतको तुलनामा उल्लेख्य विकास निर्माणका काम भएका छन् । तर, संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच यथोचित समन्वयको अभाव छ । यो तीन वर्षको अवधिमा चुस्त योजनाको अभाव खड्किएको छ । यसको ज्वलन्त उदाहरण यस अवधिको देखिने ठोस उपलब्धिहरु खोज्दा या हेर्दा पनि काफी हुन्छ । यसको पछाडि कारणको सोधखोज गर्ने हो भने योजनावद्ध विकासको सोच, सँस्कार र अभ्यास नै हो । पहिलो कुरा त चुस्त योजना तयार गर्नेमा गम्भीरतापूर्वक गृहकार्य गर्नुपर्ने देखिएको छ भने योजना आयोजना सत्ता शक्तिको पहुँचको आधारमा गर्ने परिपाटी पनि अन्त्य गर्नुपर्छ । यसमा सरकार, स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्र र स्थानीय नागरिक पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ ।