पृथ्वीनारायण, योगदान र अवमूल्यन

सम्पादकीय
कुनै समय यस्तो थियो, जतिबेला राजा भने पछि ठुलै जयजकार हुन्थ्यो । राजाको चौतर्फी गुणगान गाइन्थ्यो । राजाको बोलवाला थियो । राजाले जे बोल्थे, त्यो एक किसिमको कानुन बराबर हुन्थ्यो । मुलुककै सबै भन्दा शक्तिशाली बनेर सयौं वर्ष शासन गरेका राजतन्त्रात्मक व्यवस्था यतिबेला छैन । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको छ । वर्षौ एकछत्र राज गरेका राजाहरुको पतन भएको छ । अन्तिम राजाको रुपमा रहेका ज्ञानेन्द्र शाह अहिले सामान्य नागरिक सरह जीवन व्यतित गरिरहेका छन् । जनआन्दोलन र जनयुद्धको बलमा उनले राजगद्वि त्यागेर अहिले निर्मल निवासमा बस्न बिवश छन् ।

विगतमा उनले राजा भएर जे जस्तो सत्ता र शक्तिको प्रयोग गरे । सुख सुविधा, विलासिता, ऐश आरामको जीवन बिताए । त्यसबाट पुरै मुक्त भएर बाँच्दाको पीडा र छटपटी सायद उनैलाई मात्र थाहा होला । तर, आम रुपमा बुझिएको सत्य एउटै हो कि सत्ता, शक्ति र समय सधैं एकैैको, एकैनासको अवश्यक हुँदैन ।

यद्यपि, यिनै राजाहरुका बीचमा केही राजाहरुको नाम, भूमिका, योगदान र स्मरण पृथक हिसाबले नेपाली समाजमा गर्ने गरिन्छ । चाहे त्यो राष्ट्र निर्माता पृथ्वीनारायण शाहको नाम होस् या पूर्व राजा महेन्द्रको होस् । उनीहरुको गरेको खास खास भूमिकाको बेला बेलामा चर्चा परिचर्चा हुने गरेको छ । सोमवार मात्र पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा मनाइएको छ । यो राज्य स्तरबाट नभई नागरिक स्तरबाट ठाउँ ठाउँमा कार्यक्रम गरेर मनाएका छन् । आजभन्दा लगभग ३ सय वर्ष अघि बाइसे, चौबिसे राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजारजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोरखामा थियो । जहाँको राजपरिवारमा पृथ्वी नारायण शाह थिए । अहिले हामी बाँचेको भूगोल सहितको आधुनिक नेपालको संरचना, सपना, साकारोक्ति अनि गोर्खाली बीर सिद्धान्तका प्रतिपादक उनै पृथ्वीनारायण भएको कुरामा सायदै अत्युक्ति र विवाद होला ।

तीन शताव्दी अघिको समय, समाज, सोच, चेतनाको अवस्था के थियो होला ? आज झट्ट सम्झने प्रयास गर्दा पनि कहाली लाग्दो समाज र समयको तस्बिर र परिदृश्य देखिन्छ । त्यो समयमा एक दुरदर्शी नेतृत्व कौशल, साहस, कुटनीतिक चातुर्यता पृथ्वीनारायण शाहमा भएकै कारणले आज नेपाल र नेपालीका रुपमा हामीले गर्व र गौरव गरेर बाँच्ने, नाँच्ने सुन्दर आँगन पाएका छौ । यद्यपि, नेपाल एकीकरण पछि पृथ्वीनारायण शाह र यसपछिको शाह वंशिय शासन व्यवस्थामा नेपालमा हरेक जातजाती, समुदायले बराबर हक, अधिकार र अवसर नदिएको बारेमा व्यापक गुनासो, आलोचना र बहस पनि जारी छ । यो विषय पनि अन्यथा होइन, यसमा थप खोज, समिक्षा र बहस आवश्यक छ । तर, यही कारणले विभाजित राज्यलाई एक बनाएर सिंगो नेपाल हामीलाई उपहारको रुपमा सुम्पने पृथ्वीनारायण शाहको योगदानको अवमुल्यन गर्न कदापी मिल्दैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *